अलिबाबाले संस्थापक ज्याक मा सहित वरिष्ठ कर्मचारीहरूलाई धान रोप्न लागेपछि…
असार १०, २०८३ ११:४८
Photo: South China Morning Post
काठमाडौं । चिनियाँ प्रविधि क्षेत्रको अग्रणी कम्पनी ‘अलिबाबा ग्रुप’ ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को कठिन र चुनौतीपूर्ण यात्रामा आफ्ना कर्मचारीहरूलाई एकजुट गराउन र उनीहरूको हौसला बढाउन कृषिको सहारा लिएको छ । अलिबाबाले ‘टिम-बिल्डिङ’ का लागि संस्थापक ज्याक माको नेतृत्वमा कार्यकारी तहका कर्मचारीहरूलाई धान रोप्न लगेको छ । अलिबाबाले हाङ्झाओमा आयोजित धान रोपाइँ कार्यक्रमलाई रूपकको रुपमा लिँदै कर्मचारीहरूलाई मेहनत र धैर्यताको पाठ सिकाउन खोजेको हो ।
अलिबाबाको आन्तरिक नेटवर्क (इन्ट्रानेट) मा प्रकाशित एक लेखमा अलिबाबाका साझेदार एवं म्यापिङ सेवा अम्याप का अध्यक्ष लिउ झेनफेईले भने, “खेतबारीका नियमहरू निकै सरल छन्ः जब मौसम आउँछ, रोप्ने बेलामा रोप्नै पर्छ र धैर्य गर्ने (सहने) बेलामा धैर्य गर्नै पर्छ ।” उनले थपे, “हामी करिब एक दर्जन मानिसहरू मिलेर बिहानभरि काम गर्यौँ, तैपनि आधा एकड धान खेतमा, त्यो पनि बाङ्गोटिङ्गो गरी मात्र रोप्न सक्यौँ ।”
तर उनले सकारात्मक सन्देश दिँदै भने, “जबसम्म तपाईं माटोको हेरचाह गर्नुहुन्छ, सही बेर्ना रोज्नुहुन्छ र हरेक साना कुरालाई सावधानीपूर्वक गर्नुहुन्छ, तब बाँकी कुरा समयमा छोडिदिनुहोस् । जमिनले तपाईंलाई कहिल्यै निराश बनाउने छैन ।” झेनफेईले धान रोपाइँ कार्यक्रमपछि कर्मचारीहरूलाई कडा मिहिनेत र दृढताका लागि आग्रह गरेको साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उल्लेख छ ।
टिम बिल्डिङका लागि धान रोपाइँ कार्यक्रममा अलिबाबाको ई-कमर्स बिजनेस ग्रुपका सीईओ जियाङ फ्यान, प्रमुख मानव संसाधन अधिकारी जेन फाङ जियाङ, एन्ट ग्रुपका अध्यक्ष एरिक सियानडोङ जिङ र सीईओ सिरिल सिनयी हान पनि सहभागी भएका थिए । अलिबाबाले आफ्नो विशाल व्यवसायलाई एआई केन्द्रित गर्न तीव्र प्रयास गरिरहेको समयमा कम्पनीका वरिष्ठ कार्यकारीहरू धान रोपाइँ कार्यक्रममा सहभागी भएका हुन् ।
पछिल्लो अध्यावधिक: असार १०, २०८३ १२:८
