close

लोकसेवा, शिक्षक सेवा, बैंकिङ लगायतका परीक्षाको तयारी गर्न सकिने ‘प्रगति’ एप, केके छन् फिचर ?

टेकपाना टेकपाना

असार १०, २०८३ १७:४०

लोकसेवा, शिक्षक सेवा, बैंकिङ लगायतका परीक्षाको तयारी गर्न सकिने ‘प्रगति’ एप, केके छन् फिचर ?

काठमाडौं । आईटी कम्पनी ‘मन्त्रब्रेन’ ले लोकसेवा, शिक्षक सेवा, बैंकिङ, प्रहरी, नेपाली सेना, इन्जिनियरिङ लगायतका प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित प्लेटफर्म ‘प्रगति’ सार्वजनिक गरेको छ । 

वर्डप्रेस थिम र प्लगइन डेभलपमेन्टमा क्रियाशील उमेश घिमिरेको नेतृत्वमा यो एप तयार पारिएको हो । बजारमा रहेका अन्य एपमा प्रश्न संग्रह र अन्तरक्रियात्मक सुविधाको अभाव देखिएपछि विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन सामग्री उपलब्ध गराउन यो प्लेटफर्म ल्याएको कम्पनीका संस्थापक घिमिरेले बताए ।

यस एपमा विगतका परीक्षाका प्रश्नहरू, आधिकारिक सन्दर्भ सामग्री र इन्टरनेटका भरपर्दो स्रोतहरूलाई एआईमार्फत रुजु गरेर समावेश गरिएको घिमिरेको भनाइ छ । 

एपमा हाल ११ हजारभन्दा बढी वस्तुगत प्रश्न र ५०० भन्दा बढी ‘मक टेस्ट’ उपलब्ध छन् । एपको मुख्य विशेषता ‘एआई ट्युटर’ हो । यसअन्तर्गत एन्थ्रोपिक क्लाउड र ओपनएआईको सहायताले विद्यार्थीलाई चाहिएको विषयमा तत्काल प्रश्न र सही उत्तर उपलब्ध गराउँछ । आगामी एक वर्षभित्र प्रश्नहरूको संख्या एक लाख पुर्‍याउने लक्ष्य रहेको घिमिरेले सुनाए ।

 

कस्तो छ एप ?

घिमिरेका अनुसार ‘प्रगति’ एप परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूले एआईको सहायताले सिक्न सक्ने प्लेटफर्म हो । यहाँ प्रयोगकर्ताले हरेक दिन प्रश्न र उत्तरको नयाँ नयाँ क्विज खेल्दै परीक्षाको प्राक्टिस गर्न सक्छन् ।

एपमा परीक्षाको अभ्यासका लागि मक परीक्षा राखिएको छ । जहाँ ४० देखि ५० वटा बहुवैकल्पिक प्रश्न राखिएको हुन्छ । 

एप खोल्ने क्रममा नै आफू लोकसेवा, बैंकिङ, प्रहरी, शिक्षक सेवा, इन्जिनियरिङ आदिमध्ये कुन विषयको परीक्षा तयारी गरिरहेको हो, त्यसको जानकारी उपलब्ध गराउनु पर्छ । 

‘एआई ट्युटर’ नामको फिचर प्रयोग गरेर आफूलाई मन लागेको विषयमा आधारित भएर प्रश्न र त्यसको सही उत्तर जेनेरेट गर्न सकिन्छ । यो फिचरका लागि एन्थ्रोपिक क्लाउड र ओपनएआईको प्रयोग गरिएको उनले बताए ।  

रिल्स फिचर 

फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा स्क्रोल गर्दै भिडिओ, अडिओ लगायतका कन्टेन्ट हेर्ने अधिकांश व्यक्तिको बानी बनेको छ । यही बानीलाई ध्यानमा राख्दै प्रगति  एपमा रिल्स फिचर राखिएको घिमिरे बताउँछन् । 

यहाँ स्क्रोल गर्दै विभिन्न प्रश्नको उत्तर पढ्न सकिन्छ । मन परेमा लाइक, सेभ र शेयरसमेत गर्न सकिन्छ । यस्तै ‘More’ मा गएर आफूलाई उक्त प्रश्नको जवाफ याद भइसकेको भएमा ‘I know this’ मा क्लिक गर्न सकिन्छ ।

त्यसपछि उक्त प्रश्न कम देखा पर्ने छ । अझै प्रश्नको अभ्यास गर्नुपर्ने भएमा ‘I’m not sure’ मा क्लिक गर्न सकिन्छ । यहाँ क्लिक गरेरमा उक्त प्रश्न बारम्बार फिडमा आउने छ र प्रयोगकर्तालाई जवाफ याद गर्न सहज हुनेछ । 

यो फिचरलाई भविष्यमा प्रश्न उत्तर हेर्ने माध्यममा मात्र सीमित नराखी अन्तर्क्रिया गर्न सक्ने सामाजिक सञ्जाल बनाउने योजना रहेको घिमिरे बताउँछन् । उनी भन्छन्, “प्रयोगकर्ता आफैँले प्रश्न बनाएर अपलोड गर्न पाउने सुविधा थप्ने योजना छ । यसरी थपेको प्रश्नलाई एपको ब्याकइन्ड टोलीले भेरिफाई गरेपछि मात्र सार्वजनिक हुनेछ ।” 

सामाजिक सञ्जालमा जस्तै प्रश्नहरूमा कमेन्ट गर्ने, साथीहरूबिच शेयर गर्ने र धेरैले मन पराएका वा चर्चामा रहेका प्रश्नहरूलाई प्राथमिकतामा राख्ने प्रणाली विकास गरिने योजना उनले सुनाए । रिल्समा छोटो भिडिओबाट पनि सिकाउने खालको प्रणाली बनाउने योजना छ ।

तीन मोडेलमा सब्सक्रिप्सन

यो एपमा नि:शुल्क, ६ महिना र एक वर्षको सब्सक्रिप्सन तोकिएको छ । ६ महिना र एक वर्षको सब्सक्रिप्सनका लागि क्रमश: ४९९ रुपैयाँ र ९९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

नि:शुल्क मोडेलमा प्रयोगकर्ताले रिल्स, एसआरएस रिभ्यु, ‘क्वेसन अफ दि डे’ जस्ता सुविधा पाउनेछन् । दैनिक पाँचवटा क्विज र तीनवटा मात्र मक टेस्ट दिन पाउने सुविधा छन् । विगतका प्रश्नपत्रहरूको सङ्ग्रह, लिडरबोर्ड र दैनिक तीनवटासम्म एआईबाट प्रश्न जेनेरेट गर्न सक्ने सुविधा दिइएको छ । 

६ महिने सब्सक्रिप्सनमा नि:शुल्कमा पाइने सबै सुविधाहरू अनलिमिटेड प्रयोग गर्न सकिन्छ । दैनिक १५ वटा मक टेस्ट र १५ वटा एआई एक्स्प्लानेसनको सुविधा थपिएको छ । यसमा विद्यार्थीले आफ्नो तयारी कस्तो छ भनेर बुझ्नका लागि रिपोर्ट र एक्जाम रेडिनेस स्कोर समेत प्राप्त गर्छन् । साथै, दैनिक १५ वटासम्म एआईबाट प्रश्न बनाउने सुविधा दिइएको छ । 

एक वर्षको सब्स्क्रिप्सनमा अनलिमिटेड मक टेस्ट, एनालिटिक्स र एआई एक्सप्लानेसन समावेश छन् । यसमा मिस्टेक नोटबुक नामको फिचर पनि उपलब्ध गराइन्छ । जसले विद्यार्थीले गलत जवाफ दिएका प्रश्नहरूलाई सङ्कलन गरेर याद नभएसम्म अभ्यास गराउँछ । अभ्यासका क्रममा एआईबाट हिन्ट्स दिने सुविधा र एपमा आउने नयाँ फिचरलाई सबैभन्दा पहिला पहुँच यो सब्सक्रिप्सनमा पाउनेछन् ।

हाल यो एप गुगल प्ले स्टोरवेब भर्सनमा मात्र उपलब्ध छ । कम्पनीले छिट्टै आईओएस प्रयोगकर्ताका लागि पनि एप ल्याउने तयारी गरिरहेको छ । अहिले वस्तुगत प्रश्नमा मात्र केन्द्रित भए तापनि भविष्यमा विभिन्न शिक्षण संस्थाहरूसँग सहकार्य गरी लिखित (विषयगत) परीक्षाको तयारी कक्षा र सामग्रीहरू समेत थपिने घिमिरेले जानकारी दिए । दुईवटा पुस्तक किन्ने मूल्यमै वर्षभरि प्रविधिको प्रयोगमार्फत तयारी गर्न सकिने भएकाले यो एप विद्यार्थीहरूका लागि किफायती र प्रभावकारी हुने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८३ १८:२६