ह्वाट्सएप जस्तै नेपाल सरकारको आफ्नै इन्क्रिप्टेड मेसेजिङ एप बनिसक्योः अर्थमन्त्री
जेठ १८, २०८३ २१:२८
काठमाडौँ । नेपाल सरकारले आफ्नै सुरक्षित र इन्क्रिप्टेड मेसेजिङ एप तयार पारिसकेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले सरकारको डिजिटल रूपान्तरण अभियानअन्तर्गत यो एप विकास गरिएको बताए ।
डिजिटल प्रविधिको विकास र सार्वजनिक प्रशासनको सुधारलाई सँगसँगै लैजाने सरकारको तयारी अन्तर्गत एप ल्याएको उनको भनाइ थियो । “हाम्रो आफ्नै मेसेजिङ एप बनिसक्या छ,” उनले भने, “ह्वाट्सएप जस्तो नेपाल सरकारको आफ्नै सिक्रेट, इन्क्रिप्टेड मेसेजिङ एप पनि बनिसक्या छ; यो एउटा सानो उदाहरण मात्रै हो ।”
उक्त एपबारे उनले विस्तृतमा जानकारी भने दिएनन् ।
त्यस्तै सार्वजनिक प्रशासनलाई चुस्त बनाउन दरबन्दी कटौती तथा एकीकरण गर्ने र सूचना प्रविधिमा फड्को मार्ने रणनीति सरकारले लिएको उनले उल्लेख गरे ।
मन्त्री डा. वाग्लेले प्रधानमन्त्री कार्यालय मातहत रहने गरी करिब ८० जना प्राविधिक जनशक्ति सम्मिलित एक कम्पनी गठनको प्रक्रियामा रहेको जानकारी दिए । नेपाल सरकारका सम्पूर्ण सफ्टवेयर र आईटीसँग सम्बन्धित कामलाई सोही कम्पनीबाट एकीकृत ढंगले अघि बढाउन लागिएको उनले जानकारी दिए ।
उनले भने, “नेपालका तमाम सफ्टवेयर, आईटीका काम अब हामी सेन्ट्रलाइज्ड ढङ्गले त्यहीँबाट गर्दैछौँ । यसले गर्दा दशौँ अर्बको बचत, कार्यकुशलता र राष्ट्रिय सुरक्षा मजबुत बनाउन मद्दत पुग्नेछ ।”
पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ २२:१३
