close

अनलाइनबाटै जग्गाको नक्सा प्रिन्ट र राजस्व तिर्न मिल्ने ‘मेरो कित्ता’ एप सञ्चालनमा

टेकपाना टेकपाना

जेठ २१, २०८३ १७:४२

अनलाइनबाटै जग्गाको नक्सा प्रिन्ट र राजस्व तिर्न मिल्ने ‘मेरो कित्ता’ एप सञ्चालनमा

काठमाडौँ । जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर लिन मिल्ने सुविधासहित ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक भएको छ । भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा बिहीबार नापी विभागले उक्त एप सार्वजनिक गरेको हो । 

विभागका अनुसार यो एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिने छ । आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन् ।

यस्तै, इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ । फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्वसमेत एपबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको नापी विभागले जनाएको छ।

एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। 

‘मेरो कित्ता’ एप वेब संस्करणसहित एन्ड्रोइड डिभाइसमा उपलब्ध रहेको विभागका सूचना अधिकारी दयानन्द जोशीले बताए ।

एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरमा ‘Mero Kitta’ सर्च गरेर वा यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नेछन् । आईओएस डिभाइसमा भने छिट्टै नै उपलब्ध गराउने गरि काम भइरहेको उनले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ १८:२१