close

भेट्टाएको सिम कार्ड दुरुपयोग गरी करिब साढे २४ लाख ठगी गर्ने दुई जना पक्राउ

टेकपाना टेकपाना

जेठ २२, २०८३ १२:५०

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौं । अर्कैको नाममा रहेको सिम कार्ड दुरुपयोग गरी लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली, फिक्कल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने २६ वर्षीय रोशन पहाडी र डडेल्धुरा, अमरगढी नगरपालिका-८ घर भई हाल ललितपुर बस्ने २५ वर्षीय सुभाष ओझा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कान्छी लामाको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले पहाडीलाई भक्तपुरको सल्लाघारी र ओझालाई ललितपुरको एकान्तकुनाबाट बुधबार पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा पीडित कान्छी लामाको नाममा २०७० सालमा जारी भएको मोबाइल नम्बर अन्दाजी ६ वर्षपछि हराएको खुलेको छ । सोही नम्बर लामाले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा मोबाइल बैंकिङका लागि प्रयोग गर्दै आएकी थिइन् ।

हराएको सोही नम्बर आरोपी रोशन पहाडीले १२ चैत २०७८ मा आफ्नो नाममा पुन: निकाल्न सफल भएका थिए । सिम एक्टिभ भएपछि लामाको बैंक खातामा हुने कारोबारको सन्देश पहाडीको मोबाइलमा जान थाल्यो । त्यसपछि पहाडी र ओझा मिलेर मोबाइल बैंकिङ सेवा एक्टिभेट गरी विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पार्दै इसेवा, खल्ती वालेट तथा अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपीहरूले २० असार २०८० देखि ९ असोज २०८२ सम्मको अवधिमा मोबाइल बैंकिङको दुरुपयोग गरी कुल २४ लाख ४७ हजार ५२८ रुपैयाँ हिनामिना गरेका छन् । उक्त रकम विभिन्न बैंक खाता र डिजिटल वालेटहरूमा ट्रान्सफर गरी उनीहरूले निकालिसकेको देखिएको छ ।

पक्राउ परेका दुवै जनालाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १२:५१