close

अनुसन्धानमा जीडीपीको २.८ प्रतिशत खर्चने चीनको नेपालमा नवप्रवर्तन केन्द्र खोल्ने चासो

टेकपाना टेकपाना

असार ११, २०८३ ७:१८

अनुसन्धानमा जीडीपीको २.८ प्रतिशत खर्चने चीनको नेपालमा नवप्रवर्तन केन्द्र खोल्ने चासो

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा चीनले नेपालको प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लगानी र सहकार्य गर्ने इच्छा राखेको छ ।

भेटमा राजदूत माओमिङले चीनले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २.८ प्रतिशत हिस्सा अनुसन्धान र विकास (आर एन्ड डी) मा लगानी गरिरहेको जानकारी दिए । प्रविधिमा विश्वशक्ति बन्ने लक्ष्यका साथ चीनले गरिरहेको यो ठुलो लगानीको अनुभवलाई नेपालको विकासमा समेत जोड्न चिनियाँ पक्ष इच्छुक देखिएको छ ।

राजदूतले चीनको आगामी १५औँ पञ्चवर्षीय योजना (२०२६-२०३०)को रणनीति समेटिएको दस्ताबेज समेत मन्त्री पुनलाई हस्तान्तरण गर्दै नेपालले यसबाट लाभ लिन सक्ने बताएका थिए ।

भेटको मुख्य एजेन्डा नेपालमा नवप्रवर्तन केन्द्र (इन्नोभेसन सेन्टर) हरूको विकास गर्नु रहेको थियो । मन्त्री पुनका अनुसार सन् २०२३ मा विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता भए पनि ठोस प्रगति हुन सकेको थिएन । सोही प्रक्रियालाई अगाडि बढाउन र द्विपक्षीय सम्झौतालाई मूर्त रूप दिन छिट्टै एउटा कार्यदल (टास्क फोर्स) गठन गर्ने विषयमा दुई पक्षबिच सहमति भएको छ ।

सहकार्यका लागि एआई र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखिएको छ । यसबाहेक जैविक प्रविधि, उच्च हिमाली क्षेत्र र जडीबुटीको अनुसन्धान, जलवायु परिवर्तन तथा वातावरणीय अध्ययनमा समेत सहकार्य हुनेछ ।

विशेषगरी पारिस्थितिकीय अनुगमनका लागि चीनले उपग्रह तथ्याङ्क साझेदारी गर्ने विषयमा समेत छलफल भएको मन्त्री पुनले जानकारी दिएका छन् ।

नेपालका अनुसन्धानकर्ता र वैज्ञानिकहरूको क्षमता अभिवृद्धि गर्न तालिम र आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । चिनियाँ सरकारले अवलम्बन गरेको विज्ञान र प्रविधिको रणनीतिबाट नेपालले धेरै कुरा सिक्न सक्ने विश्वास मन्त्री पुनले व्यक्त गरे ।

 

पछिल्लो अध्यावधिक: असार ११, २०८३ ७:१८