ह्वाट्सएप जस्तै भनिएको सरकारी एप ‘नेपा कनेक्ट’ प्लेस्टोर र वेबसाइटबाट हट्यो, के होला कारण ?
असार ११, २०८३ १४:११
काठमाडौं । नेपाल सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको मेसेजिङ एप ‘नेपा कनेक्ट’ गुगल प्लेस्टोरबाट हटेको छ । सरकारी कामकाजको आन्तरिक प्रयोजनका लागि विकास गरिएको यो एप गुगल प्ले स्टोरसँगै वेबसाइटबाट पनि हटेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो एप परीक्षणकै चरणमा रहेको जानकारी दिएको छ । अहिले गुगल प्लेस्टोरमा यो एप फेला पर्दैन भने यसको आधिकारिक वेबसाइटमा पनि ‘नेपा कनेक्ट सार्वजनिक प्रयोगका लागि तयारीको क्रममा रहेको’ सूचना राखिएको छ ।
वेबसाइटमा यो एप नेपाल सरकारका कर्मचारीका लागि बनेको सम्प्रभु कार्यक्षेत्र भएको र हाल सक्रिय परीक्षणको क्रममा रहेको उल्लेख छ । यसको औपचारिक सार्वजनिकको मिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा घोषणा गरिने समेत त्यहाँ जानकारी दिइएको छ ।
यसअघि टेकपानाले यो एप प्लेस्टोर र वेब एपका रूपमा उपलब्ध भएको समाचार सार्वजनिक गरेको थियो । एप बाहिरिएसँगै यसको डिजाइन, फिचर र सुरक्षा पक्षलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएका थिए ।
सुरुवाती चरणमा सरकारी कर्मचारीका लागि मात्र भनिए पनि जोकोहीले सहजै पहुँच पाउन सक्ने अवस्था देखिएकाले प्रयोगकर्ताले यसको सुरक्षा प्रणालीमाथि प्रश्न उठाएका थिए ।
यस विषयमा प्रधानमन्त्री कार्यालय स्रोतले यो केवल प्रारम्भिक र आकस्मिक परीक्षण (र्यान्डम टेस्ट) मात्र भएको स्पष्ट पारेको छ । एपको लोगो, थिम र अन्य विशेषता आगामी दिनमा कस्तो हुने भन्नेबारे अझै स्पष्ट भइनसकेको स्रोतको भनाइ छ ।

एपमा हुनसक्ने साइबर सुरक्षा कमजोरी पहिचान गरी सुधार गर्नका लागि सरकारले एउटा प्लेटफर्म र नीति समेत तय गरेको छ । यसअन्तर्गत सुरक्षा अनुसन्धानकर्ताले फेला पारेका कमजोरी रिपोर्ट गर्न सक्नेछन् ।
प्राप्त रिपोर्टको जानकारी ४८ घण्टाभित्र पठाइने र त्यसको सत्यता पाँच कार्यदिनभित्र परीक्षण गरिने व्यवस्था मिलाइएको छ । कमजोरी सार्वजनिक गर्ने समय अनुसन्धानकर्तासँगकै समन्वयमा तय गरिने अनुसन्धानकर्ताले चाहेमा उनलाई यसको श्रेय समेत दिइने उल्लेख छ ।
यस सुरक्षा नीतिअन्तर्गत nepaconnect.opmcm.gov.np, apinepaconnect.opmcm.gov.np, आईओएस, एन्ड्रोइड र डेस्कटप एपहरू तथा डाउनलोड सेक्सनभित्रका प्रमाणित फाइल मात्र परीक्षणको दायरामा पर्नेछन् ।
तर, डिनायल अफ सर्भिस आक्रमण, प्रधानमन्त्री कार्यालयका कर्मचारीमाथि गरिने सोसल इन्जिनियरिङ, डेटा सेन्टरको भौतिक सुरक्षा र नेपा कनेक्टले सञ्चालन नगर्ने तेस्रो पक्षका सेवालाई भने यसको दायराभन्दा बाहिर राखिएको छ ।
साथै, तोकिएको नीति पालना गरी असल नियतका साथ अनुसन्धान गर्ने र सरकारी कर्मचारीको डेटामा अनधिकृत पहुँच नपुर्याउने वा नोक्सान नगर्ने अनुसन्धानकर्ता विरुद्ध कुनै पनि कानुनी कारबाही नचलाइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८३ १५:६
