भेनेजुएलामा भूकम्प जाँदा गुगलको एन्ड्रोइड सिस्टमले पठायो १ करोड १४ लाख मानिसलाई पूर्वचेतावनी
असार १३, २०८३ १८:५४
काठमाडौँ । हालै भेनेजुएलामा गएका लगातार दुई शक्तिशाली भूकम्पका क्रममा गुगलको एन्ड्रोइड भूकम्प चेतावनी प्रणालीले करिब एक करोड १४ लाख मानिसहरूलाई भूकम्प आउनुअगावै पूर्वचेतावनी (अलर्ट) पठाएको छ । द न्यु योर्क टाइम्सका अनुसार आफ्नै राष्ट्रिय प्रारम्भिक चेतावनी प्रणाली नभएको भेनेजुएलामा एन्ड्रोइड फोनको प्रविधि प्रयोग गरी भूकम्प आउनुअघि केही सेकेन्डदेखि दुई मिनेटसम्मको समय रहँदै मानिसलाई सचेत गराइएको हो ।
भेनेजुएलामा गएका दुई भूकम्पमध्ये पहिलो ७.२ र दोस्रो ७.५ रेक्टर स्केलका थिए । दोस्रो भूकम्प सन् १९०० यताकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । गुगलको यो प्रणालीले विश्वभरका दुई अर्बभन्दा बढी एन्ड्रोइड फोनमा राखिएको ‘एक्सेलेरोमिटर’ सेन्सरको सहयोगमा भूकम्पीय तरंग पहिचान गरी यो चेतावनी पठाएको हो ।
गुगलको प्रारम्भिक चेतावनी प्रणालीमा कार्यरत प्रमुख इन्जिनियर मार्क स्टोगेटिसका अनुसार भूकम्पको केन्द्रविन्दु बढी जनघनत्व भएको क्षेत्र मुनि थियो । र फोनले ३ सेकेन्डभित्रै प्राथमिक भूकम्पीय तरंग (पी-वेभ्स) पहिचान गरेका थिए । भूकम्पको कम्पन बढ्दै जाँदा प्रणालीले आफ्नो चेतावनी क्षेत्र पनि विस्तार गरेको थियो ।
स्टोगेटिसले न्यु योर्क टाइम्सलाई भने, “दुवै भूकम्पबाट सिर्जित भूकम्पीय तरंग एकआपसमा खप्टिएका कारण प्रणालीले यसलाई एउटै ठुलो घटनाका रूपमा लिएर दुवै कम्पन महसुस गरिरहेका मानिसलाई सचेत गराएको थियो ।”
यो प्रणालीले फोन स्थिर अवस्थामा रहँदा भूकम्पको प्राथमिक तरंग (पी-वेभ्स) पहिचान गर्छ र गुगल सर्भरमा डेटा पठाउँछ । भूकम्प सुरु भएको ६ सेकेन्डमा पहिचान गरी ९ सेकेन्डभित्र पहिलो अलर्ट पठाइएको थियो भने २१ सेकेन्डभित्र अन्य क्षेत्रमा चेतावनी पुगिसकेको थियो । गुगलले यस क्रममा अत्यधिक कम्पन महसुस गरिएका क्षेत्रमा १४ लाख भन्दा बढी सबैभन्दा गम्भीर प्रकृतिका ‘टेक एक्सन’ अलर्ट पठाएको थियो । यसको अर्थ उक्त सिस्टमले मानिसलाई सुरक्षित ठाउँमस जान आग्रह गरेको थियो ।
हाल विश्वका करिब ७० प्रतिशत स्मार्टफोन एन्ड्रोइड प्रणालीमा चल्छन् । जापान, मेक्सिको, क्यानडा र अमेरिकामा सरकारी स्तरकै भूकम्प चेतावनी प्रणाली भए पनि गुगलले सरकारी प्रणाली नभएका देशमा समेत सन् २०२१ देखि यो सेवा प्रदान गर्दै आएको छ र हाल यो सेवा करिब १०० देशमा उपलब्ध छ ।
कसरी काम गर्छ यस प्रणालीले अनि नेपाल जस्तो भूकम्पको जोखिम हुने देशका नागरिकले कसरी गर्न सक्छन् एक्टिभेट ?
जब भूकम्प जान्छ, पी वेभ र एस वेब दुई किसिमको उर्जाशील सेस्मिक वेभहरू केन्द्रविन्दुबाट जान्छन् । पी वेभको तुलनामा एस वेभको गति दुई किलोमिटरले कम हुन्छ, तर यसको एम्प्लिट्युड धरै हुन्छ र पी वेबभन्दा धेरै नै विनाशकारी हुन्छ ।
भूकम्पको अलर्टले पी वेभलाई डिटेक्ट गरेर काम गर्दछ । यसले भूकम्पको केन्द्रविन्दुसँग नजिक रहेको सेस्मोमिटरबाट आएको पी वेबलाई डिटेक्ट गर्दछ ।
त्यसपछि ती सिंग्नल प्रकाशको गतिमा कम्प्युटर सिस्टममा पुग्छन् र त्यसले भूकम्पको लोकेसन र तपाईंको लोकेसनमा पी र एस वेभको यात्रा समयलाई निर्धारण गर्दछ । यसरी नै सिस्टमले तपाईंलाई अलर्ट गर्छ । विनाशक एस वेब तपाईंसम्म आइपुग्न कति समय बचेको छ भनेर यसले चाँडोभन्दा चाँडो अलर्ट गर्छ ।
तर, यदि तपाईं केन्द्रविन्दुको नजिक हुनुहुन्छ भने तपाईं ‘ब्लाइन्ड जोन’मा पर्नुहुन्छ र तपाईंले कुनै अलर्ट नै नपाउन सक्नुहुन्छ ।
यो फिचर एक्टिभेट गर्नका लागि तलको उल्लेख गरिएको तरिका अपनाउनुहोस् ।
-
सबैभन्दा पहिले सेटिङ्समा जानुहोस् ।
-
अनि त्यहाँ रहेको ‘सेफ्टी एन्ड इमर्जेन्सी’ (Safety and Emeryency) (केही डिभासइमा लोकेसनमा जानुहोस् र त्यसपछि एड्भान्सको अप्सन छान्नुहोस्)
-
त्यसपछि ‘Earthquake alerts’ भन्ने अप्सन छान्नुहोस् । र, त्यसलाई अन गर्नुहोस् ।
यदि भूकम्प आउनुअघि यो प्रणालीले कस्तो अलर्ट दिन्छ भन्ने जान्नु छ भने ‘सि अ डेमो’ भन्ने अप्सनमा जानुहोस् । र, डेमो हेर्न सक्नुहुन्छ । याद गर्नुहोस् यस फिचरले काम गर्नका लागि तपाईंको फोनमा लोकेसन फिचर अन भएको हुनुपर्छ । र, तपाईंको डिभाइस इन्टरनेटको एक्सेसमा हुनुपर्छ ।
पछिल्लो अध्यावधिक: असार १३, २०८३ १९:१५
