टेलिकमका प्रिपेड ग्राहकलाई ‘सब्सक्रिप्सन बेस्ड’ सेवा, हरेक महिना प्याकेज खरिद गर्नु नपर्ने
असार १३, २०८३ ०:२
काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि प्रिपेड सेवाग्राहीका लागि सब्सक्रिप्सनमा आधारित मोडेल अन्तर्गत विभिन्न प्याकेज उपलब्ध गराउने भएको छ । सरकारको १०० दिने कार्यसूची अन्तर्गतको ‘डेलिभरी बेस्ड गभर्नेन्स’ प्रतिबद्धता अनुरूप आइतबारदेखि यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए ।
यो व्यवस्था लागु भएपछि सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सब्सक्राइब गरिरहनु नपर्ने मन्त्री तिमिल्सिनाले बताए । एकपटक सब्सक्रिप्सन गरेपछि प्रणालीले नै प्याकेजलाई निरन्तरता दिने उनको भनाइ छ ।
“सरकारको १०० दिने कार्यसूचीको बुँदा नं. २ अन्तर्गतको डेलिभरी बेस्ड गभर्नेन्स सम्बन्धी प्रतिबद्धताअनुसार नेपाल टेलिकमले भोलि (आइतबार)देखि प्रिपेड सेवाग्राहीसहितका लागि विभिन्न प्याकेजहरू उपलब्ध गराउनेछ,” मन्त्री तिमल्सिनाले फेसबुकमा लेखेका छन् ।
टेलिकमले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै यस मोडेलअन्तर्गत थप प्याकेजहरू समेत ल्याउने तयारी गरेको छ । यस व्यवस्थासम्बन्धी विस्तृत विवरण, शुल्क र सर्तहरूबारे नेपाल टेलिकमले भोलि नै औपचारिक रूपमा सार्वजनिक गर्ने मन्त्रीले जानकारी दिए ।
यो व्यवस्था लागु भएपछि एक पटक मनपर्ने प्याकेज सब्सक्राइब गरेपछि ग्राहकले हरेक महिना वा निश्चित अवधिमा पुनः प्याकेज खरिद गर्नुपर्ने झन्झट हट्नेछ । प्रणालीले स्वतः नवीकरण गर्ने भएकाले ब्यालेन्स पर्याप्त भएमा सेवा निरन्तर रहनेछ ।
पछिल्लो अध्यावधिक: असार १३, २०८३ ०:२
