नयाँ अध्ययनको निष्कर्षः २ वर्षमुनिका बालबालिकालाई मोबाइल दिँदा समग्र विकासमै पर्न सक्छ गम्भीर असर
असार १४, २०८३ ८:२
काठमाडौं । दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मोबाइल, ट्याब्लेट वा अन्य डिजिटल स्क्रिन देखाउँदा उनीहरूको दीर्घकालीन स्वास्थ्य र जीवनस्तरमा गम्भीर नकारात्मक असर पर्न सक्ने देखिएको छ । हालैको एक बृहत् अध्ययनले बालबालिकाहरूका लागि स्क्रिनलाई पूर्ण रूपमा बेवास्ता गर्न सुझाव दिएको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार सानै उमेरमा स्क्रिनको प्रयोग गर्दा बालबालिकाले शारीरिक खेलकुद खेल्ने र आफ्ना अभिभावक वा हेरचाहगर्नेहरूसँग घुलमिल हुने अवसर गुमाउँछन् । यसले उनीहरूको भाषा बोल्ने र बुझ्ने क्षमताको विकासलाई पनि सीमित गरिदिन्छ ।
यसका साथै, स्क्रिनको प्रयोगले बालबालिकामा अत्यधिक उत्तेजना बढाउने, निद्रा नलाग्ने वा सुत्न गाह्रो हुने समस्या निम्त्याउने, आँखाको स्वास्थ्यमा असर पर्ने र बाल्यकालमै मोटोपनाको शिकार हुने जोखिम बढाउँछ । बच्चाहरूले रुँदा वा आत्तिदा अभिभावकको सट्टा डिजिटल डिभाइसबाटै शान्ति खोज्न थाल्ने (कम्फर्ट खोज्ने) चिन्ताजनक अवस्था पनि देखिएको छ ।
बेलायतका लिड्स, लिड्स ट्रिनिटी, लाफबोरो र एस्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरू सम्मिलित 'एक्सन अन डिजिटल डिभाइस इमर्सिभ कन्डिसन्स टिम' ले यो अध्ययन गरेको हो । अध्ययनलाई यस विषयमा विश्वभर उपलब्ध अनुसन्धानहरूको अहिलेसम्मकै सबैभन्दा विस्तृत समीक्षा मानिएको छ । अध्ययनले नीति निर्माताहरू किशोरकिशोरीको डिजिटल बानीमा मात्र केन्द्रित हुँदा शिशुहरूका लागि 'बेबी ब्लाइन्ड स्पट' (अन्धकार क्षेत्र) सिर्जना भएको औंल्याएको छ । अहिलेको समयमा स्क्रिनको प्रयोग प्यारेन्टिङकै एउटा हिस्सा बनिसकेको छ, जसले गर्दा जोखिम झनै बढेको छ ।
अनुसन्धानको सह-नेतृत्व गरेका युनिभर्सिटी अफ लिड्सका वरिष्ठ उपप्राध्यापक राफे क्लेटनका अनुसार, स्पष्ट मार्गदर्शनको अभावमा अभिभावकहरूले अन्जानमै आफ्ना बालबालिकालाई स्क्रिनसँग अस्वस्थ सम्बन्ध विकास गर्न सिकाइरहेका छन् । उनले यस अवस्थालाई तत्काल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
अध्ययनले दुई वर्षमुनिका कुनै पनि बालबालिकालाई नियमित रूपमा जानीबुझी स्क्रिन देखाउन नहुने कुरामा जोड दिएको छ ।
'१००१ क्रिटिकल डेज फाउन्डेसन'की संस्थापक एन्ड्रिया लेडसमले यो अध्ययनलाई एक महत्त्वपूर्ण 'वेक-अप कल' (चेतावनी) को संज्ञा दिएकी छिन् । मानव विकासको सबैभन्दा महत्त्वपूर्ण समय मानिने जीवनको पहिलो एक हजार एक दिनमा स्क्रिनले फाइदाभन्दा गम्भीर जोखिम निम्त्याउने उनले बताएकी छिन् ।
यद्यपि, यस समस्याका लागि अभिभावकलाई मात्र दोष दिन नहुने भन्दै उनले प्रविधि कम्पनीहरूलाई समेत जिम्मेवार बन्न आग्रह गरेकी छिन् । "प्रविधि कम्पनीहरूले शिशुहरूका लागि उपयुक्त भन्दै भ्रामक सामग्रीहरू प्रचार गर्न बन्द गर्नुपर्छ," उनले भनेकी छिन् ।
पछिल्लो अध्यावधिक: असार १४, २०८३ ८:२
