close

एआईसँगै डेटा एनोटेसनको काम गर्ने हजारौं कामदारमा निर्भर छ यस पटकको फिफा विश्वकप

टेकपाना टेकपाना

असार १४, २०८३ १७:२५

एआईसँगै डेटा एनोटेसनको काम गर्ने हजारौं कामदारमा निर्भर छ यस पटकको फिफा विश्वकप

काठमाडौं । फिफा विश्वकपको वर्तमान संस्करणमा सेन्सर जडित बल, रियल-टाइम ट्र्याकिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्देशित अफसाइड प्रविधि र सहभागी ४८ वटै टोलीका लागि छुट्टाछुट्टै एआई असिस्टेन्ट (सहायक) उपलब्ध छन् ।

यी नवीन प्रविधिहरूको पछाडि भारत, कम्बोडिया र फिलिपिन्स जस्ता देशका डेटा कामदारहरू रहेका छन् । जो विभिन्न एआई उपकरणहरू सञ्चालन गर्न अपरिहार्य बनेका छन् ।

फुटबलले दुई दशकअघि नै तथ्याङ्क विश्लेषण (डेटा एनालिटिक्स) लाई आत्मसाथ गरिसकेको हो । अहिले लगभग हरेक राष्ट्रिय टोली र ठुला क्लबहरूले खेलाडी छनोट (रिक्रुटमेन्ट), प्रशिक्षण, खेल रणनीति, चोटपटक रोकथाम र खेलाडी व्यवस्थापनका लागि यसको प्रयोग गर्छन् ।

यी तथ्याङ्कहरूले ब्रोडकास्टरहरू, भिडिओ-गेम र बेटिङ (सट्टेबाजी) उद्योगलाई पनि टेवा पुर्‍याइरहेका छन् । यस क्षेत्रका टोलीहरूसँग अहिले आफ्नै डेटा विश्लेषक र भौतिक विज्ञान वा गणितमा विद्यावारिधि गरेका वैज्ञानिकहरू हुने गर्दछन् ।

युनिभर्सिटी अफ टोरन्टोका मिडिया स्टडिजका सह-प्राध्यापक राफेल ग्रोहम्यानका अनुसार, फुटबल हालको एआई चर्चाभन्दा धेरै अघिदेखि नै यस्तो काममा निर्भर छ । "डेटा भ्यालु चेनका कामदारहरू फुटबलका लागि अत्यावश्यक छन्," उनले भनेका छन् । ग्रोहम्यानका अनुसार उच्च मूल्यको डेटा विश्लेषणात्मक काम मुट्‍ठीभर धनी देशहरूमा हुने गर्छ भने डेटा एनोटेसन (तथ्याङ्क प्रविष्टि र ट्यागिङ) को काम पूर्वी युरोप, अफ्रिका, दक्षिण एसिया र दक्षिण-पूर्वी एसियाका सहरहरूमा केन्द्रित छ ।

खेलाडीहरूका लागि अतिरिक्त कमाइको माध्यम

डेटा एनोटेसन गर्ने कामदारहरू प्रायः फुटबल खेलाडी नै हुन्छन् वा उनीहरूसँग खेलको गहिरो ज्ञान हुन्छ । मनिला, कायरो, चेन्नई र टेर्नोपिल जस्ता सहरहरूमा यस्ता कामदारहरू बढी छन् । यसमा खेलपिच्छे नियुक्त गरिने स्वतन्त्र कन्ट्रय्राक्टरहरू पनि समावेश छन्, जसले एउटा खेलको तथ्याङ्क तयार पार्न ३ देखि ४ घण्टा समय खर्चन्छन् ।

फिलिपिन्सको स्थानीय लिग खेल्ने एक खेलाडीले जर्मन कम्पनी इम्पेक्टको मनिलास्थित एकाइ प्याकिङ स्पोर्ट्समा करिब एक वर्ष डेटा एनोटेटरको रूपमा काम गरे । नाम नखुलाउने सर्तमा उनले रेस्ट अफ वर्ल्डलाई बताए अनुसार युरोपेली लिगका खेलहरू हेर्दै खेलाडीका हरेक पास, शट र ट्याकललाई ट्याग गर्नु उनको काम थियो ।

विश्वकप र युरो कप जस्ता ठुला प्रतियोगिताका बेला टोली, विश्लेषक र सञ्चारमाध्यमबाट तीव्र तथ्याङ्कको माग हुने भएकाले कामको चाप निकै बढी हुने उनले बताए ।

उनका अनुसार यो कामले उनलाई खेलाडीको रूपमा पनि फाइदा पुर्‍याएको छ । "यसले मलाई खेलका रणनीतिक विवरण र खेलाडीको चाल बुझ्न मद्दत गर्छ, जुन धेरैले याद गर्दैनन्," उनले भने ।

बढ्दो लगानी र प्रभाव

फुटबल अहिले एउटा विशाल व्यवसाय बनेको छ । इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र स्पेनिस ला लिगाका शीर्ष टोलीहरूले अर्बौँ डलर आम्दानी गर्छन् । पछिल्लो समय यसमा अमेरिकी लगानीकर्ताहरूको रुचि निकै बढेको छ ।

प्रिमियर लिगका आधाभन्दा बढी क्लबहरूमा अमेरिकी व्यक्ति वा कम्पनीको स्वामित्व छ । राइस युनिभर्सिटीका स्पोट्र्स एनालिटिक्सका सह-प्राध्यापक स्कट पावर्सका अनुसार, अमेरिकी लगानीको वृद्धिसँगै डेटा एनालिटिक्समा पनि लगानी बढ्ने निश्चित छ । अमेरिकामा सुरु भएको 'मनिबल क्रान्ति' (तथ्याङ्कको प्रयोग गरी सस्तोमा बलियो टोली बनाउने रणनीति) अहिले फुटबलमा पनि व्यापक प्रयोग भइरहेको छ ।

अहिले केही सीमित कम्पनीहरूले फुटबल क्लबहरूले प्रयोग गर्ने तथ्याङ्कमा नियन्त्रण जमाएका छन् । अत्याधुनिक प्रविधिले मानिस, कम्प्युटर भिजन र एआई मोडलिङको मिश्रणबाट रियल-टाइम डेटा उत्पादन गर्छ । डेटा कामदारहरूले एउटा खेलमा ३,००० सम्म एक्सनहरू रेकर्ड गर्न सक्छन् ।

पावर्सका अनुसार अहिले खेलाडी ट्र्याकिङ डेटाको विश्लेषणमा बढी जोड दिइएको छ । फोर्ब्सको सूचीमा रहेका ३० मध्ये २५ क्लबहरूले स्पोर्ट्स एनालिटिक्स र डेटा इन्जिनियरिङका लागि विज्ञापन खुलाएको उनले बताए । त्यस्तै, स्मार्ट भेस्ट जस्ता वेयरेबल टेक्नोलोजी र कल्सी वा पोलिमार्केट जस्ता भविष्यवाणी गर्ने प्लेटफर्महरूले गर्दा डेटा कामदारहरूको माग अझ बढेको छ ।

बेटिङ र अटोमेसनको चुनौती

रियो दि जेनेरियोका एक फ्रिल्यान्स डेटा एनोटेटर एडम (परिवर्तित नाम) ले विदेशी कम्पनीका लागि स्थानीय खेलहरू ट्याग गर्छन् । उनी भन्छन्, "मैले रेकर्ड गर्ने तथ्याङ्क बेटिङका लागि हो भन्ने स्पष्ट छ ।"

उनले प्रायः प्रसारण नहुने साना खेलहरूको विवरण सङ्कलन गर्छन् । उनी मुख्यतया गोल, कर्नर, कार्ड र पेनाल्टी जस्ता विवरण एउटा एपमा दर्ता गर्छन् । यसका लागि उनले प्रति खेल करिब ६० युरो (१० हजार रुपैयाँभन्दा बढी) र यातायात खर्च पाउँछन् ।

एडमका अनुसार बेटिङ कम्पनीहरूलाई खेलको क्रममा अड्स (दर) परिवर्तन गर्न रियल-टाइम डेटा चाहिन्छ । डेटा ढिलो पठाएमा उनको पारिश्रमिक नै काटिने जोखिम हुन्छ । यद्यपि, युरोमा भुक्तानी हुने भएकाले यो काम आकर्षक रहेको उनले बताए ।

प्रविधि अगाडि बढ्दै जाँदा विश्लेषकहरूले मानिसले गर्ने कामलाई स्वचालित बनाउन कम्प्युटर भिजन एल्गोरिदमहरू प्रयोग गरिरहेका छन् । तर, ती एल्गोरिदमहरूलाई तालिम दिन पनि मानिसले नै तयार पारेको तथ्याङ्क आवश्यक पर्छ ।

यस वर्षको विश्वकपले करिब ९ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ । जसले यसलाई इतिहासकै सबैभन्दा धेरै कमाउने खेल प्रतियोगिता बनाउनेछ । फिफा र लेनोभोले विकास गरेको एआई असिस्टेन्ट जस्ता नवीन प्रविधिहरू यसका मुख्य आकर्षण हुन् ।

तर प्राध्यापक ग्रोहम्यान भन्छन्, "विश्वकपले फुटबलको डेटा र एआईलाई ठुलो मञ्चमा पुर्‍याएको छ । तर हामीले हेर्ने फुटबल खेलाडीहरूको प्रदर्शनमा जति निर्भर छ, त्यति नै यी कामदारहरूको श्रममा पनि टिकेको छ । पर्दा पछाडिका यी कामदारहरू विना यो सम्भव नै थिएन ।"

 

पछिल्लो अध्यावधिक: असार १४, २०८३ १७:२७