काठमाडौँ । फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ अबको चार दिनमा सुरु हुँदैछ । अहिलेसम्मकै ठुलो सङ्ख्याका टोली सहभागी हुने यो ३९ दिने प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडा गरी तीन वटा आयोजक राष्ट्रहरूमा सञ्चालन हुँदैछ ।
यीमध्ये अमेरिकालाई नवीनतम प्रविधिको केन्द्र मानिने भएकाले यो फिफा विश्वकपमा विभिन्न किसिमका अत्याधुनिक प्रविधि प्रयोग हुने अपेक्षा आम फुटबल प्रेमीहरूले गरेका छन् । खेल हेर्ने दर्शकको अनुभवलाई परिष्कृत गर्न र खेलाडीका लागि खेललाई अझ आधुनिक बनाउन फिफाले यस संस्करणमा प्रविधिको उच्चतम प्रयोग गर्दैछ । तीमध्ये केही प्रविधिको चर्चा यहाँ गरिएको छ ।
सेन्सर जडान गरिएको आधिकारिक बल ‘ट्रिओन्डा’
यस पटकको विश्वकपमा प्रयोग गरिने आधिकारिक बलको नाम ‘ट्रिओन्डा’ राखिएको छ । जसको स्पेनी अर्थ ‘तीन छालहरू’ हुन्छ र यो नामले आयोजक तीन राष्ट्र क्यानडा, मेक्सिको र अमेरिकालाई प्रतिनिधित्व गर्दछ । खेल सामग्री उत्पादक कम्पनी एडिडासले निर्माण गरेको यस बलमा एउटा विशेष सेन्सर जडान गरिएको छ ।
बलको भित्र आईएमयू (इनर्सियल मेजरमेन्ट युनिट) सेन्सर चिप राखिएको छ । यसले बलको प्रत्येक चालको सूक्ष्म विवरण सङ्कलन गर्छ ।

फिफाका अनुसार यो सेन्सरले प्रतिसेकेन्ड ५०० पटक डेटा सङ्कलन गर्दै बलको गति र यसको मुभमेन्टलाई सही रूपमा ट्रयाक गर्छ । फिफाका अनुसन्धान तथा मापदण्ड प्रमुख निकोलस इभान्सका अनुसार यो प्रविधिले भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) प्रणालीमा रियल टाइममा सही डेटा पठाउनेछ । यसले गर्दा मैदानमा खटिएका अधिकारीलाई अफसाइड जस्ता संवेदनशील निर्णय लिन सहज हुनेछ ।
एआईमा आधारित थ्रिडी प्लेयर अवतार र बडी क्यामेरा
खेलाडीको प्रदर्शन र निर्णय प्रक्रियालाई सहज बनाउन फिफा र लेनोभोबिचको साझेदारीमा एआई प्रविधिको प्रयोग गरिँदैछ । यस अन्तर्गत मैदानमा उत्रने खेलाडीको डिजिटल स्क्यान गरी उनीहरूको सटीक थ्रिडी मोडेल तयार गरिनेछ । यो स्क्यान गर्न करिब एक सेकेन्ड मात्र लाग्नेछ र यसले खेलाडीको शरीरको आकारको विस्तृत विवरण सङ्कलन गर्नेछ ।
Thank you to @FIFAcom President Gianni Infantino for joining me on stage at Lenovo Tech World to explain how Lenovo AI is enabling a smarter, more inclusive, and more immersive football experience for the FIFA World Cup 2026. #CES2026
— Yuanqing Yang (@YuanqingYang) January 8, 2026
🔗: https://t.co/kDCsvLyerL pic.twitter.com/5trlZA7rrX
यसले तीव्र गतिको खेलमा पनि खेलाडीको सटीक स्थान ट्रयाक गर्न मद्दत पुर्याउँछ । यो मोडेल अर्ध-स्वचालित अफसाइड प्रविधिका लागि अत्यन्त उपयोगी हुने फिफाको विश्वास छ । यसका साथै टेलिभिजन प्रसारणमा यी थ्रिडी मोडेल देखाइने छन् । जसले गर्दा दर्शकले पनि अफसाइडको निर्णयलाई स्पष्ट रूपमा बुझ्न सक्नेछन् ।
फिफाले थ्रिडी प्रविधिको उच्चतम प्रयोग गर्ने भएकाे छ । कुनै खेलाडी अफसाइडमा रहेर गोलकिपरको दृश्य छेकेको अवस्थामा भीएआरले गोलकिपरको भ्युबाट त्यो अवस्थाको थ्रिडी दृश्य हेर्न सक्नेछ । थ्रिडी ट्र्याकिङ प्रणालीले टचलाइन निजकै हुने गाेलकाे अवस्थाकाे पनि सटिक जानकारी दिनेछ । यसले बल टचलाइन पार गरेर गोल भएकाे थियो कि थिएन भन्ने निर्धारण गर्न सहयोग गर्नेछ ।
यसैगरी प्रतियोगिताका सबै १०४ वटा खेलमा रेफ्रीले बडी क्यामेरा प्रयोग गर्नेछन् । यसले दर्शकलाई मैदानकै स्तरबाट खेल हेरेको प्रत्यक्ष अनुभव दिने बताइएको छ ।
सुरक्षाका लागि रोबोटिक कुकुरको प्रयोग
मेक्सिकोमा आयोजना हुने खेलका दौरान सुरक्षा व्यवस्था सुदृढ गर्न र अपराध नियन्त्रण गर्न मेक्सिकन पुलिसले रोबोटिक कुकुरको सहयोग लिनेछ । फिफाका अनुसार चार खुट्टा भएका यी विशेष रोबोट जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरी प्रत्यक्ष भिडिओ सुरक्षा बललाई पठाउन सक्षम छन् । मेक्सिकोको मोन्टेरे उपत्यका अन्तर्गत पर्ने गुआडालुपे नगरपालिकाले करिब २५ लाख मेक्सिकन पेसो (अर्थात् १ लाख ४५ हजार अमेरिकी डलर) मा यी रोबोट खरिद गरेको हो ।

गुआडालुपेका मेयर हेक्टर गार्सियाका अनुसार कुनै पनि विवाद वा झडपको स्थितिमा प्रहरी अधिकारीको भौतिक सुरक्षा सुनिश्चित गर्न र प्रारम्भिक हस्तक्षेपका लागि यी रोबोटिक कुकुर परिचालन गरिनेछ । गत फेब्रुअरीमा बीबीभीए स्टेडियममा सञ्चारमाध्यमका अगाडि यसको सफल प्रदर्शन समेत गरिएको थियो ।
परिमार्जित अर्ध-स्वचालित अफसाइड प्रविधि
सहायक रेफ्रीले ढिलो गरी अफसाइडको झण्डा उठाउँदा खेलाडी र दर्शकमा हुने असन्तुष्टिलाई कम गर्न फिफाले यस पटक थप अत्याधुनिक अर्ध-स्वचालित अफसाइड प्रविधि ल्याएको छ । यसअघिको प्रविधिले खेलाडी ५० सेन्टिमिटरभन्दा बढी अफसाइड हुँदा मात्र सङ्केत गर्थ्यो भने नयाँ परिमार्जित संस्करणले खेलाडी १० सेन्टिमिटर मात्र अफसाइड भए पनि तुरुन्त पहिचान गर्नेछ ।

यस प्रविधिले मुख्य रेफ्रीको कानमा रहेको एयरपिसमा सिधै र तुरुन्तै अडियो सिग्नल पठाउनेछ । यद्यपि, यसका केही सीमा पनि छन् । खासगरी यसले केवल स्थानगत अफसाइड मात्र पत्ता लगाउन सक्छ र खेलाडी मैदानमा लडिरहेको वा निकै नजिक रहेको जटिल अवस्थामा निर्णय लिन सक्दैन । तर, यसले ढिलाइ र अनावश्यक खेलका कारण खेलाडी घाइते हुने जोखिम भने कम गर्ने फिफाको अपेक्षा छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ ७:६
