close

डे-केयरमा २३ महिने बालकमाथि कुटपिट भएको भाइरल भिडियो: कहाँको हो घटना ?

टेकपाना टेकपाना

असार १४, २०८३ १९:७

डे-केयरमा २३ महिने बालकमाथि कुटपिट भएको भाइरल भिडियो: कहाँको हो घटना ?

काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा डे-केयरमा भएका बालबालिकाहरूको एउटा सीसीटीभी  भिडिओ भाइरल भइरहेको छ । भिडियोमा तीन जना बालबालिका कुनै पनि शिक्षक वा वयस्कको निगरानी बिना एउटा कोठा देखिन्छन् । एक बालकले अर्को बालकलाई टोक्दै, चिथोर्दै र कुट्दै निरन्तर आक्रमण गरिरहेका छन् भने पीडित बालक निरन्तर रोइरहेकाे सुनिन्छ । 

भिडिओमा देखिएकी अर्की बालिकाले कुटपिट गर्ने बालकबाट पीडितलाई बचाउन खोज्छिन् । तर, ती बालकले आफूलाई पनि पिट्न लागेपछि पछि हट्छिन । बालिका बाहिर निस्किनका लागि ढोका खोल्न खोज्छिन् तर सक्दिनन् । भाइरल भिडिओमा निरन्तर १० मिनेटसम्म बालकलाई कुटिरहेकाे देखिन्छ । सीसीटीभी क्यामेराबाट कैद भएको उक्त भिडिओमा सोमबार बिहान ११:२० देखि ११:३० सम्मको समय देख्न सकिन्छ । 

उक्त भिडिओ शेयर गर्दै फेसबुक प्रयोगकर्ता ‘लक्ष्मी ढुङ्गेल’ ले लेखेकी छिन्, “OMG 😟 विचरा शिक्षक शिक्षिका कहाँ गए होला ?” भिडिओमा प्रतिक्रिया दिँदै अधिकांशले उक्त विद्यालय कहाँको हो भन्दै प्रश्न गरेका छन् । कतिपयले ढोका थुनेर बालबालिकालाई मात्र छाड्नु शिक्षक र विद्यालयको गल्ती भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएसँगै प्रयोगकर्ताहरूले आफ्ना साना बालबालिका विद्यालयमा सुरक्षित हुन्छन् भनेर पठाउने गरिएकोमा झनै असुरक्षित बनेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । कतिपयले त विद्यालयलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीलाई मेन्सन समेत गरिरहेका छन् । 

कहाँको हो भिडिओ?

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओ नेपालको भने होइन । उक्त भिडिओ भारतको महाराष्ट्र प्रदेशको छत्रपति संभाजीनगरको रहेको पाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भिडिओमा देखिएको घटना सिड्को (सीआईडीसीओ) क्षेत्रमा रहेको ‘फर्स्टक्राइ इन्टेलिटट्स प्रि-स्कुल’ को हो । 

भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार २९ वर्षीया वकिलले आफ्नो २३ महिने छोरालाई २२ जुन बिहान १०:३० बजे डे-केयरमा छाडेकी थिइन् । उनलाई दिउँसो दुई बजेपछि स्कुलबाट सामान्य चोट लागेको भनेर खबर गरिएको थियो । त्यसपछि बच्चालाई लिन पुग्दा डे-केयरको प्रिन्सिपलले सामान्य कोतारिएको मात्र बताएकी थिइन् । तर बच्चाको लुगा खोलेर हेर्दा शरीरभरि गम्भीर चोटहरू देखेपछि अभिभावक स्तब्ध बनेका थिए ।  

सामाजिक सञ्जालमा भाइरल अन्य केही भिडिओमा एक महिला कर्मचारीसहित चार जना बालबालिका उक्त कक्षामा रहेको देखिएको छ । त्यहाँबाट एउटा बालकलाई लिएर महिला निस्किन्छिन् र ढोका बन्द गरिदिन्छिन् । त्यसपछि लगत्तै बालकले अर्को बालकमाथी आक्रमण गर्न सुरु गरेको देखिन्छ । पीडित बालक पीडाले छटपटाएपनि उक्त कोठामा लगभग ४५ मिनेटसम्म प्रिन्सिपल, शिक्षक लगायत कोहीले पनि हेर्न नगएको दाबी गरिएको छ ।  

एनएनटीभीका अनुसार घटना बिहान ११ बजेदेखि १२ बजे भित्रको भए पनि बालकका अभिभावकलाई दिउँसो २ बजेपछि मात्र खबर गरिएको थियो । बालकको अनुहार, नाक, ओठ, छाती, पिठ्युँ र खुट्टा लगायत शरीरका अंगहरूमा चोट लागेको छ । बालकलाई नजिकैको एक निजी अस्पतालमा लगेर उपचार गरिएको थियो । अभिभावकले नजिकैको प्रहरी चौकीमा उजुरी दिएपछि सिईओ, प्रिन्सिपल, दुई जना म्यानेजर र कक्षामा देखिएकी महिला कर्मचारीसमेत गरेर ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: असार १४, २०८३ १९:७