८१०० एमएएच ब्याट्री भएको स्मार्टफोन ‘भिभो वाई५००’ नेपाली बजारमा, ६ वर्षको हेल्थ ग्यारेन्टी
असार १५, २०८३ १४:८
काठमाडौं । भिभोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘भिभो वाई५००’ सार्वजनिक गरेको छ । ‘नेबुला विन्डो’ क्यामेरा मोड्युल डिजाइनसहित आएको यो स्मार्टफोन पर्ल ह्वाइट र मिडनाइट ब्लु गरी दुई रङ्गमा उपलब्ध छ ।
कम्पनीले यो फोन आधुनिक सौन्दर्यशास्त्र र उत्कृष्ट शिल्पकारिताको संयोजन रहेको दाबी गरेको छ । बोक्न र प्रिमियम अनुभव दिन यसमा स्लिम तथा एर्गोनोमिक डिजाइन प्रयोग गरिएको छ ।
यो फोनको मुख्य विशेषता ब्याट्री क्षमता हो । कम्पनीले ८१०० एमएएच क्षमताको ‘ब्लुभोल्ट’ ब्याट्री दिएको छ, जुन भिभोको अहिलेसम्मकै सबैभन्दा ठुलो ब्याट्री क्षमता हो ।
यो ब्याट्रीलाई ६ वर्षसम्मको ‘हेल्थ ग्यारेन्टी’ र ५० महिनासम्मको ‘स्मुथ एक्सपिरियन्स सर्टिफिकेसन’ पनि दिइएको छ ।
भिभोले आफैँ विकास गरेको ‘स्पेस स्ट्याकिङ टेक्नोलोजी’ तथा ‘म्याजिक क्युब एक्सपान्सन प्याकेजिङ’ को प्रयोगले ठुलो ब्याट्रीलाई पनि पातलो बडीभित्र प्रभावकारी रूपमा समेट्न सम्भव बनाएको कम्पनीले उल्लेख गरेको छ ।
प्रयोगकर्तालाई एक पटकको चार्जमा लगातार १० घण्टासम्म गेमिङ गर्ने सुविधा रहेको कम्पनीको भनाइ छ ।
भिभो वाई५०० मा १.५-के इन्फिनिटी एमोलेड डिस्प्ले उपलब्ध छ । जसमा एचडीआर १०+ भिजुअल अनुभव, १२० हर्ज रिफ्रेस रेट तथा ५००० निट्स पिक ब्राइटनेस पाउन सकिने बताइएको छ ।
यो स्मार्टफोन ६ एनएम अल्ट्रा स्मुथ प्रोसेसरबाट सञ्चालित छ । प्रयोगकर्ताले लामो समयसम्म पनि कुनै प्रकारको ल्याग बिना उत्कृष्ट प्रदर्शन अनुभव गर्न सक्ने कम्पनीको दाबी छ ।
कम्पनीले फोनमा आईपी६८ तथा आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता र ‘अन्डरवाटर फोटोग्राफी’ मोड दिएको छ, जसले प्रयोगकर्तालाई पानीभित्र समेत निर्धक्क रूपमा तस्बिर खिच्ने अवसर दिन्छ ।
फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेल मुख्य क्यामेरा र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ ।
नेपाली बजारमा ८+१२८ जीबी भेरियन्टको ‘भिभो वाई५००’ को मूल्य ५४ हजार ९९९ रुपैयाँ र ८+२५६ जीबी भेरियन्टको मूल्य ६१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो स्मार्टफोन देशभरका आधिकारिक रिटेल स्टोरहरू र दराज अनलाइनमार्फत खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: असार १५, २०८३ १४:८
