close

डा. चेतना पक्राउको घटनालाई लिएर नेचुरोपेथिक चिकित्सकहरूलाई नक्कली र ठग भन्दै अपमान नगर्न आग्रह

टेकपाना टेकपाना

असार १७, २०८३ ११:५१

डा. चेतना पक्राउको घटनालाई लिएर नेचुरोपेथिक चिकित्सकहरूलाई नक्कली र ठग भन्दै अपमान नगर्न आग्रह

काठमाडौं । योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले डा. चेतना पौडेल पक्राउको घटनालाई लिएर समग्र योग तथा प्राकृतिक चिकित्सकहरूलाई 'नक्कली' र 'ठग' भन्दै अपमान नगर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष डा. जनक बहादुर बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै डा. चेतनाको घटनालाई जोडेर प्राकृतिक चिकित्सकहरूविरुद्ध मिडिया ट्रायल सञ्चालन गर्ने, आधारहीन आरोप लगाउने र चरित्रहत्या गर्ने जस्ता अपमानजनक व्यक्तिगत टिप्पणीहरू नगर्न अपिल गरेका हुन् ।

यस्ता प्रवृत्ति विधिको शासन, निष्पक्ष न्यायिक प्रक्रिया तथा संवैधानिक मर्यादाको प्रतिकूल हुने भएकाले यस्ता गतिविधिबाट संयमित रहन सबै पक्षलाई आग्रह गरिएको छ । पक्राउ परेकी डा. चेतना अदालतबाट साधारण तारेखमा बिना धरौटी रिहा भइसकेकी छन् ।

संघले प्राकृतिक चिकित्सा क्षेत्रसँग सम्बन्धित वर्तमान विवादको मूल कारण कुनै व्यक्तिगत द्वन्द्व वा प्रतिशोध नभई यस क्षेत्रमा आवश्यक स्पष्ट कानुनी व्यवस्था, प्रभावकारी नियमनकारी संयन्त्र तथा समग्र नीतिगत र संस्थागत संरचनाको अभाव रहेको उल्लेख गरेको छ । साथै, आफ्नो वैधानिक अधिकार र कर्तव्यको परिधिभित्र रही कार्यसम्पादन गरिरहेका नियामक निकाय, अनुसन्धान अधिकृत, सरकारी वकिल र प्रहरी अधिकारीहरूमाथि व्यक्तिगत लाञ्छना र गालीगलौज नगर्न पनि संघले ध्यानाकर्षण गराएको छ ।

'एन्टी-क्वाकरी' (नक्कली वा गैरकानुनी चिकित्सक विरोधी) अभियानमा आफ्नो पूर्ण ऐक्यबद्धता रहेको जनाउँदै संघले भनेको छ, "समस्या व्यक्तिको होइन, प्रणालीको हो; समाधान आरोपमा होइन, स्पष्ट कानुन र उचित नियमनमा निहित छ ।"

चन्द्रागिरि नगरपालिका-८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टकी सञ्चालिका डा. चेतना पौडेललाई केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । फेसबुकमा एक लाख २४ हजार र टिकटकमा १२ हजारभन्दा बढी फलोअर बनाएर आफूलाई 'नेपालको पहिलो नेचुरोपेथिक विशेषज्ञ' र 'फङ्सनल मेडिकल विशेषज्ञ' दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य परामर्श दिँदै आएकी थिइन् ।

तर, नेपाल मेडिकल काउन्सिल (NMC) को अनुमतिबिना नै आधुनिक चिकित्सा पद्धति (एलोपेथिक) बाट बिरामी जाँच्ने र औषधि पुर्जी (प्रेस्क्रिप्सन) लेख्ने गरेको प्रमाण नियमित अनुगमनबाट फेला परेपछि काउन्सिलकै उजुरीका आधारमा उनीमाथि 'इलाज सम्बन्धी कसुर' अन्तर्गत अनुसन्धान सुरु भएको थियो ।

यस घटना लगत्तै सामाजिक सञ्जालमा चिकित्सकको अधिकार र क्षेत्राधिकारबारे गहिरो बहस छेडिएको हो । जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती लगायतले प्राकृतिक चिकित्साको समर्थन गर्दै प्रहरी हस्तक्षेपको विरोध गरेका थिए भने चेतनाका समर्थकले यो कारबाहीलाई 'मेडिकल माफियाको चलखेल' को संज्ञा दिएका थिए ।

अर्कोतर्फ, नेपाल चिकित्सक सङ्घ (NMA) ले गैरचिकित्सकहरूले चिकित्सकीय अभ्यास गर्ने र औषधि सिफारिस गर्ने कार्यले आमनागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै कडा आपत्ति जनाएको छ । आधुनिक औषधिसम्बन्धी चिकित्सा काम गर्ने हेतुले आधिकारिक डिग्री, डिप्लोमा, सर्टिफिकेट वा लाइसेन्स नपाएका व्यक्तिले आफ्नो नामको अगाडि 'डाक्टर' लेख्न वा सो उपाधि जोड्न नपाउने कानुनी व्यवस्थालाई सङ्घले स्मरण गराएको छ ।

आफूले पढेको र जानेको विषयभन्दा बाहिर गएर रोगको निदान गर्नु कानुनको उल्लङ्घन भएको धेरैको बुझाइ छ । नेपालमा स्वास्थ्य सेवाको नियमन र विभिन्न चिकित्सा पद्धतिबिचको क्षेत्राधिकारबारे देखिएको यो गम्भीर समस्या समाधानका लागि सङ्घले विभिन्न काउन्सिलहरूबिच सहकार्य गर्न र आपसी समस्या समाधानतर्फ लाग्न अपिल समेत गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार १७, २०८३ ११:५४