९०० एआई क्यामेरा जडान गरे पनि गुणस्तरमा सुधार नभएपछि भेट्रान इन्जिनियरहरू पुनः नियुक्त गर्दै फोर्ड
असार १७, २०८३ १४:४३
काठमाडौं । अमेरिकी कार निर्माता फोर्डले एआईले अपेक्षित स्तरको सीप र अनुभव प्रदर्शन गर्न नसकेपछि मानव इन्जिनियरलाई पुनः नियुक्त गरेको छ । विकासकर्ताहरूले लागत घटाउने र उत्पादकत्व बढाउने दाबी गर्दै आएको एआई प्रविधिको लाभ उठाउने उद्देश्यले फोर्डले गुणस्तर परीक्षण (क्वालिटी चेक) लगायत आफ्ना केही कार्यप्रक्रियामा एआई अपनाएको थियो ।
तर स्वचालित प्रणालीका कमजोरी पूर्ति गर्न कम्पनीले पछिल्ला केही वर्षमा ३०० भन्दा बढी अनुभवी (भेट्रान) गुणस्तर निरीक्षकलाई पुनः नियुक्त गरेको ब्लुमबर्गले उल्लेख गरेको छ । एआई उत्कृष्ट उपकरण भए पनि यसले गर्ने काम प्रशिक्षण दिन प्रयोग गरिएको जानकारीको गुणस्तरमा निर्भर हुने फोर्डको हार्डवेयर इन्जिनियरिङका उपाध्यक्ष चार्ल्स पुनले बताएका छन् । गत साता सञ्चारकर्मीसँग कुरा गर्दै पुनले कम्पनीको एआई-आधारित गुणस्तर परीक्षण प्रणालीले अपेक्षाअनुसार परिणाम दिन नसकेको स्वीकार गरे ।
पुनले कम्पनीले विगतमा अनुभवी इन्जिनियरलाई महत्त्व नदिएकोमा पछुतो पनि मानेका छन् । उनले भने, विगतका वर्षहरूमा हामीले धेरै उत्पादन चक्रको अनुभव भएका आफ्ना सबैभन्दा अनुभवी इन्जिनियरहरूको ज्ञान र अनुभवलाई जति महत्त्व दिनुपर्थ्यो, त्यति दिन सकेनौँ । एआईले नाफा बढाइदिने आशामा फोर्डले तीब्र गतिमा एआई अपनाएको थियो । विशेषगरी, एआईले कम्पनीको नाफा बढाउने सम्भावनालाई लिएर वाल स्ट्रिटमा उत्साह छाएको बेला फोर्ड पनि सोही लहरमा सामेल भएको थियो ।
गत जुन महिनामा एक अन्तर्वार्तामा फोर्डका प्रमुख जिम फार्लीले भनेका एआईका कारण धेरै ‘ह्वाइट-कलर’ (कार्यालयमा काम गर्ने) कर्मचारीहरू पछि पर्ने बताएका थिए । त्यसपछि अक्टोबरमा भएको आम्दानी सम्बन्धी छलफलका क्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) कुमार गल्होत्राले फोर्डले सम्पूर्ण औद्योगिक प्रणालीमा एआई लागु गरिरहेको बताएका थिए ।
गल्होत्राका अनुसार कम्पनीले उत्पादनकै चरणमा गुणस्तरसम्बन्धी समस्या पहिचान र आपूर्ति श्रृङ्खलामा आउने अवरोध कम गर्ने उद्देश्यले आफ्ना कारखानामा ९०० वटा एआई-सञ्चालित क्यामेरा जडान गरेको थियो । तर पुनले भने डिजाइनसम्बन्धी आवश्यकताहरू एआईमा समावेश गरिदिएपछि त्यसले स्वतः उच्च गुणस्तरको उत्पादन दिन्छ भन्ने सोच्दा फोर्डको भूल भएको बताएका छन् ।
ब्लूमबर्गका अनुसार पुनले स्वचालित उपकरणहरूमा अनुभवी प्राविधिकहरूको सीप र दक्षताको अभाव रहेको बताएका छन् । धेरै अनुभवी प्राविधिक कम्पनीबाट बाहिरिइसकेका कारण उनीहरूको ज्ञानलाई एआई प्रणाली सुधार गर्न प्रभावकारी रूपमा प्रयोग गर्न नसकिएको पनि उनको भनाइ छ । तर अहिले ती अनुभवी कर्मचारीहरूलाई पुनः नियुक्त गरिएको र उनीहरूले कम्पनीको एआई प्रणालीलाई प्रशिक्षण दिनुका साथै नयाँ पुस्ताका कर्मचारीलाई पनि मार्गदर्शन (मेन्टरिङ) गरिरहेको पुनले जनाकारी गराएका छन् ।
फोर्डले सवारीसाधनको गुणस्तर मापनको प्रमुख मापदण्ड मानिने सूचकाङ्कमा पुनः शीर्ष स्थानमा पुगे लगत्तै आफ्ना एआई प्रणालीका विफलता स्वीकार गरेको हो । कम्पनीका अनुसार अमेरिकाको 'जेडी पावर इनिसियल क्वालिटी स्टडी' मा फोर्ड मुलधारका अटो निर्माता कम्पनीहरूमध्ये पहिलो स्थानमा रहेको छ । यो स्थान उसले सन् २०१० यता पहिलोपटक हासिल गरेको हो ।
पछिल्लो अध्यावधिक: असार १७, २०८३ १५:१३
