सीटीईभीटीको एकेडेमिक काउन्सिलमा आईटी, उद्योग, स्वास्थ्य र स्टेम शिक्षाका विज्ञ समेटिए
असार १८, २०८३ १७:१८
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलमा सरकारले ४ जना विज्ञ सदस्यहरूलाई नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘कारखाना’ का सह-संस्थापक डा. दिपेश्वर मान श्रेष्ठ, सूचना प्रविधि विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे र नर्सिङ-जनस्वास्थ्य विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा मनोनयन गरेको हो ।
अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) शिक्षामा विद्यावारिधि (पीएचडी) गरेका डा. दिपेश्वर मान श्रेष्ठ नेपालमा व्यावहारिक सिकाइका अभियन्ता हुन् । उनले सह-स्थापना गरेको ‘कारखाना’ ले विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता र प्रविधिमैत्री शिक्षाको विस्तारमा काम गर्दै आएको छ । डा. श्रेष्ठको नियुक्तिले सीटीईभीटीको परम्परागत पाठ्यक्रमलाई आधुनिक प्रविधि, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ ।
काउन्सिलमा नियुक्त डा. अमृता शर्मा सूचना प्रविधि र डिजिटल नीति क्षेत्रको विज्ञ हुन् । उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रोजगारी योग्यता विषयमा विद्यावारिधि गरेकी छिन् । सूचना प्रविधि उद्योगको विकास, डिजिटल सीप, सेवा निर्यात तथा नीतिगत सुधारका विषयमा शर्माले विभिन्न अध्ययन तथा अनुसन्धान समेत गरेकी छिन् ।
त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेको उपस्थितिले प्राविधिक शिक्षालाई उद्योगको वास्तविक आवश्यकता र श्रम बजारको मागसँग जोड्न मद्दत पुग्ने विश्वास लिइएको छ । नर्सिङ र जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानाले स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र व्यावहारिक गुणस्तर अभिवृद्धिमा आफ्नो अनुभव योगदान पुर्याउने मन्त्रालयले जनाएको छ ।
सीटीईभीटीको एकेडेमिक काउन्सिल त्यहाँको शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशा निर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८३ १७:१९
