माइक्रोसफ्ट वर्डमा यी नेपाली युनिकोड शब्द शुद्ध टाइप भएन ? प्रयोग गर्नुहोस् ‘कोकिला प्लस’
असार २०, २०८३ १३:२२
काठमाडौं । डिजिटल माध्यममा नेपाली भाषाको लेखनलाई थप सहज र शुद्ध बनाउन नेपाली फन्ट डेभलपर जितेशकुमार राउतले ‘कोकिला प्लस’ (Kokila_Plus) फन्ट तयार पारेका छन् । माइक्रोसफ्ट वर्ड लगायतका एप्लिकेसनमा नेपाली युनिकोड टाइप गर्दा देखा पर्ने कतिपय प्राविधिक र व्याकरणगत जटिलतालाई सम्बोधन गर्दै राउतले यो परिमार्जित फन्ट निःशुल्क उपलब्ध गराएका हुन् ।
विशेषगरी मौलिक नेपाली शब्दलाई कम्प्युटर प्रणालीमा सही र स्पष्ट रूपमा प्रस्तुत गर्नका लागि यो नयाँ भर्सन उपयोगी हुने देखिएको छ । मूल रूपमा ‘कोकिला’ फन्ट माइक्रोसफ्ट अफिस अन्तर्गत देवनागरी लिपिका लागि उपलब्ध गराइएको एक ‘ओपन टाइप युनिकोड’ फन्ट हो । मोड्युलर इन्फोटेक (पुणे, भारत) ले डिजाइन गरेर यो फन्ट माइक्रोसफ्टलाई वितरणका लागि अनुमति दिएको थियो । यो फन्ट देवनागरी लिपिमा आधारित नेपाली, हिन्दी, मराठी र संस्कृत जस्ता भाषाका लागि उपयोगी मानिन्छ ।
कोकिला फन्ट फ्यामिलिमा रेगुलर, बोल्ड, इटालिक र बोल्ड इटालिक गरी चार वटा स्वरूपहरू उपलब्ध छन् जसले सामान्य अफसियल डकुमेन्ट र अन्य सामग्री तयार पार्न प्रणाली-स्तरको सहजता प्रदान गर्दै आएका छन् । नेपालका सरकारी कार्यालयमा परम्परागत प्रीति फन्टको विकल्पमा युनिकोड फन्टमा यो प्रयोग हुँदै आएको पनि छ । खासगरी नेपाल प्रहरीका प्रेस विज्ञप्तिमा यो फन्ट प्रयोग भएको देखिन्छ ।
नेपाली युनिकोड लेखनमा कोकिला फन्टको प्रयोग व्यापक भए तापनि यो फन्ट विशेष रूपमा नेपाली भाषाकै व्याकरण र अक्षर संरचनालाई मात्र लक्षित गरेर नबनेकाले कतिपय नेपाली संयुक्त अक्षर कम्प्युटरमा टाइप गर्दा प्राविधिक रूपमा अशुद्ध देखिने समस्या थियो ।
भाषिक रूपमा सही लेख्न खोज्दा पनि प्राविधिक त्रुटिका कारण मौलिक नेपाली अक्षर र संयुक्त रूप डिजिटल माध्यममा सही ढङ्गले प्रस्तुत हुन नसक्दा यसको परिमार्जन आवश्यक देखिएको हो । यही समस्यालाई ध्यानमा राख्दै राउतले यस फन्टमा रहेका प्राविधिक कमजोरीलाई सुधार गर्ने प्रयास गरेका हुन् ।

डेभलपर राउतका अनुसार साविकको कोकिला फन्टमा रहेका केही प्राविधिक त्रुटिका कारण धेरै प्रयोगकर्ताले यसको प्रयोगमा असहजता महसुस गरिरहेका थिए । “विन्डोज सञ्चालन प्रणालीमा सुरक्षित रहने सिस्टम फन्ट भएकाले साविकको ‘कोकिला’ फन्टलाई सिधै परिवर्तन वा प्रतिस्थापन गर्न नमिल्ने प्राविधिक बाध्यता थियो,” उनले टेकपानासँग भने, “यसैकारण मैले ती पुराना प्राविधिक समस्यालाई समाधान गरी यसको नयाँ र परिमार्जित भर्सनलाई ‘कोकिला प्लस’ (Kokila_Plus) नाम दिएर प्रयोगमा ल्याएको छु ।”
यहाँ क्लिक गरेर यो फन्ट डाउनलोड गर्न सकिन्छ । त्यसपछि इन्स्टल गर्नुपर्ने हुन्छ । यति भएपछि नेपाली टाइपिङमा देखिने कतिपय समस्या समाधान हुन्छन् ।
यो फन्टको विकास गर्दा प्रतिलिपि अधिकारको विषयलाई पनि ध्यान दिइएको छ । राउतका अनुसार ‘कोकिला प्लस’ मूल कोकिला फन्टको परिमार्जित रूप मात्र हो र यसको मूल डिजाइनको स्वामित्वमा कुनै दाबी गरिएको छैन । मूल फन्टको सम्पूर्ण अधिकार यसका वास्तविक स्वामित्वकर्तामै सुरक्षित रहेको र केवल नेपाली संयुक्त अक्षर तथा सङ्केतलाई कम्प्युटर प्रणालीले सही रूपमा प्रस्तुत गरोस् भन्ने उद्देश्यले मात्र यो परिमार्जन गरिएको स्पष्ट पारिएको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८३ १३:२२
