close

निर्वाचन आयोगको आयुक्तमा प्रहरीका पूर्व डीआईजी एवम् सूचना प्रविधि विज्ञ डा. सुब्बा सिफारिस

टेकपाना टेकपाना

असार २०, २०८३ १४:४३

निर्वाचन आयोगको आयुक्तमा प्रहरीका पूर्व डीआईजी एवम् सूचना प्रविधि विज्ञ डा. सुब्बा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. राजिव सुब्बालाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले सूचना प्रविधि विज्ञ सुब्बालाई आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्की र अर्को एक आयुक्त पदमा पूर्वसहन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेलाई सिफारिस गरेको छ ।

आयुक्तमा सिफारिस भएका डा. सुब्बासँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा तीन दशक लामो अनुभव छ । नेपाल प्रहरीको सञ्चार निर्देशनालयको नेतृत्व गरिसकेका उनले अमेरिकाको युनिभर्सिटी अफ हवाईबाट सञ्चार र सूचना विज्ञानमा विद्यावारिधि गरेका छन् ।

निर्वाचन आयोगले पछिल्लो समय डिजिटल मतदाता नामावली, साइबर सुरक्षा, सामाजिक सञ्जालको निगरानी र विद्युतीय मतदानजस्ता प्राविधिक विषयलाई प्राथमिकता दिइरहेका बेला प्रविधि क्षेत्रका विज्ञलाई नै नेतृत्व तहमा ल्याउन लागिएको हो ।

आयोगले हालै मात्र संविधान संशोधनका लागि सरकारलाई दिएको सुझावमा समेत आयोगको संरचनामा एक जना सूचना प्रविधि विज्ञ अनिवार्य हुनुपर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्तावको भावनालाई समेट्दै परिषद्ले डा. सुब्बालाई आयुक्तमा अघि सारेको बुझिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्त ईश्वरी पौड्यालको कार्यकाल समाप्त भएपछि आयोगमा पदहरू रिक्त थिए । त्यस्तै, कामु निर्वाचन आयुक्त रामप्रसाद भण्डारी पनि उमेरहदका कारण २३ असारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । रिक्त हुन लागेका पदहरूको पदपूर्तिका लागि परिषद्ले नयाँ नामहरू सिफारिस गरेको हो ।

सिफारिस गरिएका डा. सुब्बासहितका पदाधिकारीहरूको अब संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

को हुन् डा. सुब्बा ?

डा. राजिव सुब्बा हाल शिक्षण, अनुसन्धान र युवा सशक्तीकरणको क्षेत्रमा सक्रिय रूपमा लागेका छन् । प्राज्ञिक करियर सुरु गर्नुअघि उनले नेपाल प्रहरीमा डीआईजीसम्म भएर सेवा गरेका थिए । सो क्रममा उनले प्रहरीको सञ्चार निर्देशनालयको नेतृत्व गर्दै सञ्चार प्रविधि, डिजिटल आधुनिकीकरण र रणनीतिक सार्वजनिक संलग्नता जस्ता राष्ट्रिय स्तरका पहलहरूको नेतृत्व गरेका थिए ।

इन्जिनियरिङ र एमबीएमा शैक्षिक योग्यता हासिल गरेका डा. सुब्बाले अमेरिकाको युनिभर्सिटी अफ हवाईबाट विद्यावारिधि गरे । 

कोसोभोमा संयुक्त राष्ट्र संघको मिसन, युनिभर्सिटी अफ हवाई मालोवा र जेनेभास्थित ‘ITC/UNCTAD’ जस्ता प्रतिष्ठित संस्थाहरूमा उनले भूमिका निर्वाह गरिसकेका छन् । साथै, उनले नर्वेको युनिभर्सिटी अफ एगडरमा भिजिटिङ एसोसिएट प्रोफेसरको रूपमा समेत कार्य गरेका छन् ।

उनले संकट नेतृत्व (क्राइसिस लिडरशिप) र प्रविधिमा तालिम प्राप्त गरेका छन् । यसअन्तर्गत जापानको निप्पोन टेलिग्राफ एण्ड टेलिफोन, चीनको फर्स्ट रिसर्च इन्स्टिच्युट, अमेरिकाको सेन्टर फर एक्सिलेन्स इन डिजास्टर म्यानेजमेन्ट, एसिया-प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडीज, यूएस नेभल पोस्ट ग्रेजुएट स्कुल र युरोपको ओएससीई जस्ता संस्था समावेश छन् ।

डा. सुब्बाले ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान पुरस्कार’, ‘जनसेवा श्री पदक’, ‘नेपाल विद्या भूषण’, ‘गोरखा दक्षिण बाहु’ लगायत प्राप्त गरेका छन् । यस्तै, उनले ‘उत्कृष्ट प्राविधिक प्रहरी अधिकृत पुरस्कार’, ‘वेस्टक्लिफ युनिभर्सिटी टिचिङ एक्सिलेन्स अवार्ड’ र ‘APCSS एलुम्नाई एचिभमेन्ट अवार्ड’ समेत जितेका छन् ।

पछिल्लो अध्यावधिक: असार २०, २०८३ १७:७