साइबर आक्रमणको निशानामा अर्जेन्टिनी फुटबल संघ, बाहिरियो आफ्नै जितको आलोचना गरिएको ईमेल
असार २७, २०८३ ११:१४
काठमाडौं । अर्जेन्टिनी फुटबल संघ (एएफए) को आधिकारिक ईमेल खाता ह्याक भएको छ । इजिप्टविरुद्धको खेलमा ३-२ को जित निकालेको केही समयमै संघको आधिकारिक ईमेल एड्रेसबाट अनधिकृत ईमेल सेन्ड भएपछि संघले आफ्नो प्रणालीमा साइबर आक्रमण भएको जनाएको हो ।
अर्जेन्टिनी समाचार माध्यम ‘ला काल्ले’ का अनुसार एएफएको आधिकारिक ईमेलबाट पत्रकारलाई पठाइएका ती ईमेलमा ‘अर्जेन्टिनाले जितेको होइन’ र खेलको नतिजा ‘भ्रष्ट रेफ्रीको निर्णय’ को परिणाम भएको उल्लेख थियो ।
ती ईमेलमा विपक्षी टोली इजिप्टको प्रदर्शनको प्रशंसा समेत गरिएको थियो । एएफए स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले यस साइबर घुसपैठ पछाडि इजिप्टीय मूलका ह्याकरको समूह संलग्न रहेको विवरण सार्वजनिक गरेको छ ।
यस सुरक्षा कमजोरीप्रति तुरुन्तै प्रतिक्रिया दिँदै एएफएले आफ्नो प्रणालीमा अनधिकृत पहुँच पुगेको पुष्टि गरेको छ । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो एउटा संस्थागत खाताबाट अनधिकृत रूपमा ईमेल पठाइएको फेला परेको छ, जुन हाम्रो टिमले तयार पारेको वा स्वीकृत गरिएको होइनन् ।”
संघले सुरक्षा त्रुटि सच्याउन र घटनाको वास्तविकता स्पष्ट पार्न प्राविधिक काम भइरहेको जानकारी दिँदै शंकास्पद लिङ्क वा फाइल संलग्न भएका ईमेललाई बेवास्ता गर्न सर्वसाधारण र सञ्चारकर्मीलाई सचेत गराएको छ ।
विवादित खेल र ह्याकको पृष्ठभूमि
यो साइबर आक्रमण अर्जेन्टिना र इजिप्टबिचको खेलपछि उत्पन्न विवादसँग जोडिएको छ । खेलमा २-० ले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता अर्जेन्टिनाले ३-२ को जित निकालेको थियो । इजिप्टले यासेर इब्राहिम र मोस्ताफा जिकोको गोलमार्फत सुरुवाती अग्रता लिएको भए पनि अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, लियोनल मेस्सी र इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरेका थिए । यो जितसँगै अर्जेन्टिनाले आइतबार स्विट्जरल्याण्डसँगको क्वाटरफाइनल भेट पक्का गरेको छ ।
खेलपछि इजिप्टको फुटबल संघले फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सियर र उनको टोलीले अर्जेन्टिनाको पक्षपात गरेको आरोप लगाउँदै उनीहरूलाई प्रतियोगिताबाट निलम्बन गर्न फिफासमक्ष माग गरेको थियो ।
इजिप्टका प्रशिक्षक होसाम हसनले अर्जेन्टिना र लियोनल मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न दबाबपूर्ण वातावरण सिर्जना गरिएको र आफ्नो टोलीमाथि अन्याय भएको दाबी गरेका थिए । खेलमैदानको यही विवादपछि अर्जेन्टिनी फुटबल संघको ईमेल प्रणालीलाई निशाना बनाइएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि फिफामाथि आक्रोश पोख्दै फेसबुकमा एङ्ग्री रियाक्ट वर्षाएका थिए ।
पछिल्लो अध्यावधिक: असार २७, २०८३ १५:२६
