close

ज्ञानेन्द्र शाहीको गृहमन्त्री गुरुङलाई प्रश्न - ‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’

टेकपाना टेकपाना

असार २६, २०८३ १४:२७

ज्ञानेन्द्र शाहीको गृहमन्त्री गुरुङलाई प्रश्न - ‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि शुक्रबार निधन भएका गणेश नेपालीको उपचारमा सरकार गम्भीर नभएको आरोप लगाउँदै गृहमन्त्री सुदन गुरुङको आलोचना गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले गृहमन्त्रीले उपचार व्यवस्थापनमा ध्यान दिनुको सट्टा प्रचारमुखी गतिविधिमा समय बिताएको आरोप लगाउँदै भने, "गृहमन्त्री ज्यूलाई भन्न चाहन्छु, तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?"

शाहीले भने, “गृहमन्त्री हिजो फिल्मको नायकजस्तै कहिले एयरपोर्ट, कहिले यता, कहिले उता क्यामेरा लिएर दौडिरहनुभएको थियो”, उनले थपे, “यदि साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुने थिएन ।”

शाहीले गृहमन्त्रीले युट्युब र सामाजिक सञ्जालका लागि ‘कन्टेन्ट’ बनाउनु महत्त्वपूर्ण नभई जनताको जीवन बचाउनु प्राथमिक दायित्व भएको बताए । “आज गृहमन्त्री कहाँ हिँड्नुभयो, युट्युबमा कति कन्टेन्ट बनाउनुभयो भन्ने कुरा महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण कुरा उहाँको आदेशबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो”, उनले भने ।

शाहीले गणेश नेपालीलाई समयमै सुविधासम्पन्न अस्पतालमा उपचार गराइएको वा एयर एम्बुलेन्स अथवा जहाजमार्फत दिल्ली लगिएको भए उनको ज्यान जोगिन सक्ने दाबी गरे । “एयरपोर्टमा दौडिनुको सट्टा एउटा जहाज पठाएर दिल्ली पुर्‍याएको भए आज उनको जीवन बच्ने थियो”, शाहीले भने ।

शाहीले प्रचारका लागि गरिने गतिविधिले केही समय प्रशंसा पाए पनि अन्ततः त्यसले नतिजा नदिने टिप्पणी गर्दै गृहमन्त्रीलाई जिम्मेवार ढंगले काम गर्न आग्रह गरे । “गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नभई देशको वास्तविक गृहमन्त्री बन्न अनुरोध गर्न चाहन्छु”, उनले भने “मन्त्रीहरूले सडकमा चटक देखाउने होइन, काम गर्न आदेश दिने र त्यसको कार्यान्वयन सुनिश्चित गर्ने हो ।”

पछिल्लो अध्यावधिक: असार २६, २०८३ १४:२७