अनुमति नलिई ‘ए लेभल’, ‘सीबीएसई’ र ‘आईबी डिप्लोमा’ पढाउने विद्यालयको जानकारी माग्दै शिक्षा मन्त्रालय
असार २६, २०८३ ११:१
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अनुमति नलिई बेलायतको ‘ए लेभल’, भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई), आईबी डिप्लोमा कार्यक्रम (आईबीडीपी) लगायत विदेशी बोर्डका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका विद्यालयहरूको विवरण माग गरेको छ ।
विद्यालय शिक्षा शाखाले बिहीबार सूचना जारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने यस्ता कार्यक्रम मन्त्रालयबाट पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ ।
मन्त्रालयका अनुसार केही शैक्षिक संस्थाले आवश्यक अनुमति नलिई प्रचलित कानुनविपरीत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको तथा अनुमति नै नलिई अनुमति प्राप्त गरेको भन्ने प्रचारप्रसार गरी विद्यार्थी र अभिभावकलाई भ्रमित पारिरहेको पाइएको छ । यसैलाई ध्यानमा राख्दै मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका विद्यालय वा शैक्षिक संस्थाबारे लिखित जानकारी उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको हो ।
यस्ता संस्थासम्बन्धी विवरण विद्यालय शिक्षा शाखाको इमेल [email protected] मा तीन दिनभित्र पठाउन मन्त्रालयले अनुरोध गरेको छ । विदेशी बोर्डका शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । सरकारले हालै मात्र विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ ल्याउँदै विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शिक्षण संस्थाहरूको गुणस्तर सुधार र नियमनलाई थप कडाई गरेको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८३ १९:१
