काठमाडौं । एक वर्षयता नेपाल टेलिकमले आफ्नो ग्राहक संख्यामा उल्लेख्य वृद्धि गरेको छ । जेठ २०८२ देखि जेठ २०८३ सम्मको अवधिमा टेलिकमले पाँच लाख ९४ हजार ८४९ नयाँ सिम ग्राहक थप्दा निजी क्षेत्रको एनसेलले भने जम्मा ५५ हजार ४९९ ग्राहक मात्र बढाउन सकेको छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिकमले साउन, भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी बजार विस्तार गरेको देखिन्छ । यी महिनामा टेलिकमले औसतमा मासिक ५० देखि ७० हजारसम्म नयाँ ग्राहक थपेको थियो । त्यसपछिका महिनाहरूमा पनि वृद्धिदर निरन्तर कायम रह्यो ।
अर्कोतर्फ, एनसेलका लागि यो १३ महिनाको अवधि चुनौतीपूर्ण देखियो । धेरैजसो महिनामा एनसेलले ग्राहक गुमाउनु परेको तथ्यांक छ । विशेषगरी असोज, मंसिर र पुस महिनामा एनसेलको ग्राहक संख्यामा ठुलो गिरावट आएको थियो ।
तर, पछिल्ला दुई महिना वैशाख र जेठ २०८३ मा भने एनसेलले ग्राहक संख्यामा राम्रो सुधार गरेको छ । यी दुई महिनामा एनसेलले क्रमशः ९८ हजार र ६९ हजारभन्दा बढी नयाँ ग्राहक थप्दै केही राहत महसुस गरेको छ ।
प्रविधिगत आधारमा हेर्दा दुवै कम्पनीले चौथो पुस्ताको इन्टरनेट फोरजी सेवामा लगानी र विस्तार गरिरहेका छन् । जसका कारण पछिल्लो १३ महिनामा फोरजी प्रयोगकर्ताको संख्या झन्डै १३ लाख ७८ हजारले बढेको छ ।
यस विपरीत, पुराना प्रविधि विस्तारै विस्थापित हुने क्रममा छन् । एक वर्षमा टुजी सेवाका ग्राहक सात लाख ६६ हजारले घटेका छन् भने थ्रीजी प्रयोगकर्ताको संख्या पनि निरन्तर ओरालो लागिरहेको छ ।
पछिल्लो अध्यावधिक: असार २७, २०८३ १९:५७
