close

‘ब्लाइन्ड स्पट’ भएका राजमार्गका जङ्गल क्षेत्रमा मोबाइलको नेटवर्क विस्तार गर्दै नेपाल टेलिकम

टेकपाना टेकपाना

असार १८, २०८३ १५:४५

‘ब्लाइन्ड स्पट’ भएका राजमार्गका जङ्गल क्षेत्रमा मोबाइलको नेटवर्क विस्तार गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले राजमार्गका जङ्गल क्षेत्र तथा नेटवर्क नपुगेका स्थानहरूलाई लक्षित गरी कभरेज सुधारको कामलाई निरन्तरता दिएको छ । टेलिकमका सहायक प्रवक्ता प्रक्षेत थापाका अनुसार चितवनको भरतपुर र टाडी बजारको बीचमा पर्ने टिकौली जङ्गलमा हाल नेटवर्क विस्तारको काम भइरहेको हो ।

जुन भोलिसम्ममा सम्पन्न हुनेछ । यसैगरी, आँपटारीमा पनि यस्तै किसिमका उपकरणहरू राख्ने योजना समेत टेलिकमले बनाएको छ । देशका अन्य राजमार्ग क्षेत्रहरूमा समेत यसरी नेटवर्क विस्तार गर्ने काम निरन्तर चलिरहेको सहायक प्रवक्ता थापाले बताए ।

राजमार्ग कभरेजको लागि टेलिकमले छुट्टै नयाँ बीटीएस टावर स्थापना नगरी विद्यमान बीटीएस प्रणालीकै विस्तार (सेक्टर एक्सपान्सन) गरिरहेको छ । यस प्रविधिमा नजिकैको बीटीएस टावरबाट अप्टिकल फाइबर ल्याएर पोलबाट विद्युत् (पावर) उपयोग गरी केही किलोमिटरसम्म कभरेज विस्तार गर्ने गरिन्छ ।

सामान्यतः नेपाल टेलिकमले यस्ता उपकरण-पूर्वाधारहरू सहरी र मानव वस्ती भएका स्थानहरूमा प्रयोग गर्दै आएको थियो । तर, जङ्गल क्षेत्रमा कभरेज उपलब्ध गराउनका लागि तिनै उपकरणहरूलाई विशेष रूपमा रिडिजाइन गरिएको थापाले सुनाए । वस्तीहरूमा पनि प्रयोग गरिने यो साझा (कमन) एन्टेना नै भए तापनि जङ्गल क्षेत्रमा प्रयोग गर्दा यसको प्राविधिक मापदण्ड (टेक्निकल प्यारामिटर) मा केही परिवर्तन गरिएको छ ।

थापाका अनुसार राजमार्गमा मोबाइल नेटवर्क नटिप्ने सम्पूर्ण स्थानहरूमा कभरेज पुर्‍याउनका लागि ठुलो सङ्ख्यामा विशेष खालका एन्टेना उपकरणहरू आवश्यक पर्ने र तिनलाई विभिन्न ठाउँमा जडान गर्नुपर्ने हुन्छ । हाल टेलिकमले सम्पर्कको अन्य कुनै माध्यम नभएका अत्यन्तै जोखिमपूर्ण र संवेदनशील स्थानहरू (क्रिटिकल क्षेत्र) तथा ब्लाइन्ड स्पटहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

यद्यपि, राजमार्गहरूमा हाल कति किलोमिटर क्षेत्रमा कभरेज छैन भन्ने यकिन तथ्याङ्क भने नेपाल टेलिकमसँग उपलब्ध छैन । यद्यपि राजमार्ग कभरेज विस्तार गर्ने कार्य एक निरन्तर प्रक्रिया भएको सह प्रवक्ता थापाले बताए ।

उनका अनुसार प्रविधि, फ्रिक्वेन्सी र भूगोल जस्ता विभिन्न प्राविधिक तथा प्राकृतिक कारणहरूले गर्दा यी उपकरणहरूको कभरेज क्षेत्र फरक-फरक हुन सक्छ । सिधा सडक भएको र टावर राम्रो स्थानमा स्थापना गर्न सकिएको अवस्थामा यसले न्यूनतम १ किलोमिटरदेखि अधिकतम १० किलोमिटरसम्म कभरेज विस्तार गर्न सक्छ भने यसको औसत कभरेज क्षमता ५ किलोमिटर रहेको हुने उनको भनाई छ ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०८० मा आफ्नो कार्यकालको पहिलो निर्णयको रूपमा नेपालका मुख्य राजमार्गहरूमा नेपाल टेलिकमको मोबाइल नेटवर्क र इन्टरनेट सेवा पूर्ण रूपमा विस्तार गर्ने नीति अघि सारेकी थिइन् । तर, नेपाल टेलिकमले अहिलेसम्म देशभरका राजमार्गमा पर्याप्त मात्रामा नेटवर्क कभरेज विस्तार गर्ने कार्य भने गर्न सकेको छैन ।

राजमार्ग क्षेत्रमा नेटवर्क कभरेजलाई थप प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) को उपयोग गर्न सकिने टेलिकमको भनाइ छ । नियामक निकायले यस फन्डको प्रयोग गरी राजमार्ग क्षेत्रमा नेटवर्क विस्तार गर्ने योजना अगाडि बढाएमा यो कार्य अझ सहज रूपमा अघि बढ्न सक्ने सहायक प्रवक्ता थापाले औंल्याए । "त्यो फन्ड (आरटीडीएफ) त्यसैको लागि हो भन्ने लाग्छ," उनले भने ।

 

पछिल्लो अध्यावधिक: असार १८, २०८३ १६:१७