‘पाकेट खर्च जुटाइदिन युट्युबरलाई अन्तर्वार्ता दिन्थेँ, अहिले मेरै खुट्टा तानियो, अब टाटा बाई’
असार २७, २०८३ २०:३६
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले सधैँ युट्युबर र सामाजिक सञ्जालका सञ्चारकर्मीहरूलाई मानवताको नाताले मात्र अन्तर्वार्ता दिने गरेको बताएका छन् । शनिबार फेसबुकमा एक लामो स्पष्टीकरण दिँदै उनले आफूमाथि खुट्टा तान्ने प्रयास भएको भन्दै अबदेखि उनीहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका हुन् ।
मन्त्री पुनले आफूले सधैँ भुक्का र आम्दानीको स्रोत नभएका मिडियाकर्मीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले मात्र अन्तर्वार्ता दिने गरेको दाबी गरेका छन् ।
मन्त्री पुनले आफ्नो कार्यकक्ष, बाटो वा सार्वजनिक स्थल जहाँ भेटे पनि मिडियाकर्मीलाई समय दिनुको मुख्य कारण उनीहरूको जीविकोपार्जन रहेको बताएका छन् । उनले लेखेका छन्, "मैले उनीहरुको लागि पाँच दश मिनेटको अन्तरवार्ता दिँदा उनीहरुले थोरै भए पनि पाकेट खर्च कमाउन सक्छन भने किन नबोलिदिने भनेर अन्तर्वार्ता दिए कै हो । मैले अन्तर्वार्ता दिने प्रमुख कारण नै यही थियो ।"
आफू पनि विगत दुई वर्षदेखि मासिक खर्चका लागि सामाजिक सञ्जालकै आम्दानीमा निर्भर रहेको खुलाउँदै उनले थपे, "फेसबुक, युट्युब, ट्वीटर (एक्स) जस्ता सोसल मिडियाहरू म सहित आम्दानीको श्रोत नभएको गरीब मिडियाकर्मीहरुको सहारा बनेका छन् ।"
आफ्नो सहयोगी भावनाको बदलामा आलोचना खेप्नु परेकोमा मन्त्री पुनले पञ्चतन्त्रको कथासँग तुलना गर्दै आक्रोश पोखेका छन् । “भयो के भने पञ्चतन्त्रको कथा अनुसार एउटा साधुले मर्न लागेको बाघको बच्चालाई पालेछ र पछि बाघ ठुलो भए पछि यसो भनेछ– ‘गुणले गुण खान्छ अब म तँलाई खान्छु’ भनेर खाएछ,” उनले अगाडि भनेका छन्, “मलाई कसैले ढाल्न सक्दैन, तर दुष्ट मिडियाकर्मीहरु बाट मैले जीन्दगीमा ठुलो पाठ सिकेँ ।”
५० हजार जरिवानाको कुरा ‘ठट्टा’ मात्रै
विवादित ५० हजार ट्राफिक जरिवानाको प्रसंगमा मन्त्री पुनले त्यो कुरा आफूले नभई अन्तर्वार्ता लिनेहरूले नै निकालेको दाबी गरेका छन् । "त्यो अन्तर्वार्ताको दिन पनि ट्राफिक दण्ड जरिवानाको बारेमा मलाई केही थाहा छैन भनेर बोल्न इन्कार गरेको हो । ५० हजारको कुरा मैले उनीहरूबाट नै सुनेको हो," उनले प्रष्टीकरण दिएका छन्, "त्यो कुरा सुनेपछि मैले ठट्टा जस्तै गरेर प्रतिक्रिया दिएको हो । दुर्भाग्यवश मैले बोलेको केही दिन पछि नै त्यो दुखद घटना (आत्मदाह) हुन्छ भन्ने के थाहा त ?"
मिडियालाई ‘टाटा, बाई-बाई’
अन्तर्वार्ताका कारण विवादमा तानिएपछि मन्त्री पुनले अब आफू त्यस्ता मिडियाकर्मीहरूबाट टाढा रहने निर्णय गरेका छन् । उनले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, "अब फटाहा र बैगुनी मिडियाकर्मीहरूबाट म धेरै धेरै पर पन्छिएँ । म मिडियामा नबोलिदिँदा मलाई फिटिक्कै घाटा छैन, बरु घाटा मिडियाकर्मीहरूलाई नै हुन्छ । मिडियाकर्मी भाइबहिनीहरू, बाई बाई छ ल ! टाटा!!"
मन्त्री पुनले दिवङ्गत गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जालबाट जुन महिनामा आएको आम्दानीले उनको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार २७, २०८३ २०:३६
