अब ड्राइभिङ लाइसेन्सका लागि अनलाइनबाटै राजस्व तिर्न सकिने, तयारी अन्तिम चरणमा
असार २८, २०८३ १२:५४
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को राजस्व अनलाइनबाटै तिर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले सेवाग्राहीको भिडभाड कम गर्न आगामी शुक्रबार (१ साउन) देखि यो सेवा उपलब्ध गराउने तयारी थालेको हो ।
विभागले हाल यसको प्राविधिक परीक्षण (पाइलटिङ) गरिरहेको र परीक्षण सफल देखिएको जनाएको छ । विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार १ साउनदेखि यो प्रणालीलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याउने गृहकार्य भइरहेको छ ।
“राजस्व तिर्नका लागि सेवाग्राही लामो समय लाइन बस्नुपर्ने बाध्यता हटाउन हामीले यो प्रणाली विकास गरेका हौं,” निर्देशक खतिवडाले टेकपानासँग कुरा गर्दै भने, “केही दिनदेखि भइरहेको प्राविधिक परीक्षण सफल भएको छ । १ साउनदेखि पहिलो चरणमा यो सेवा सुरु गर्ने गरी अगाडि बढेका छौं ।”
विभागले असार मसान्तभित्र सवारी चालक अनुमति पत्र (लाइसेन्स) सँग सम्बन्धित आवश्यक कामलाई प्रणालीमा आबद्ध गरिसक्ने जनाएको छ । त्यस लगत्तै साउनको सुरुदेखि नै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै राजस्व बुझाउन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार २८, २०८३ १७:२
