अब विश्वविद्यालयका सबै कलेजमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति अनिवार्य
असार ३०, २०८३ ११:२६
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अब विश्वविद्यालय र त्यसअन्तर्गतका सबै कलेजमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन अनिवार्य व्यवस्था गरिएको बताएका छन् । मन्त्री पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै काठमाडौं महानगरपालिकाको विद्यालय प्रणालीमा लागु गरिएको छात्रवृत्ति व्यवस्थाको प्रभावकारी कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा उक्त व्यवस्था अब विश्वविद्यालय तहमा पनि संस्थागत गरिएको बताएका हुन् ।
मन्त्री पोखरेलका अनुसार नयाँ व्यवस्थाअनुसार विश्वविद्यालय तथा त्यसअन्तर्गत सञ्चालन हुने सम्पूर्ण कलेजले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्नेछ । सोही व्यवस्थाअनुरूप विभिन्न विश्वविद्यालयहरूले छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशन गर्न थालेको पनि उनले उल्लेख गरेका छन् । त्रिभुवन विश्वविद्यालयसहित पूर्वाञ्जल, पोखरा, राजर्शी जनक, सुदूरपश्चिम र कृषि तथा वन विज्ञान विश्वविद्यालयले सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूलाई छात्रवृत्तिको व्यवस्था कार्यान्वयन गर्न निदेर्शन दिएका छन् ।
यसअघि विद्यालय तहमा न्यूनतम १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिएको थियो । मन्त्री पोखरेलले नयाँ व्यवस्थाले उच्च शिक्षामा सबैको पहुँच विस्तार, समान अवसरको सुनिश्चितता तथा सामाजिक न्याय प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा यो अर्को महत्वपूर्ण कदम हो’, उनले फेसबुक पोस्टमा उल्लेख गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार ३०, २०८३ ११:३४
