close

'डेटा माइग्रेसन' र 'सिस्टम अपग्रेड' का कारण लाइसेन्स सेवा प्रभावित : विभाग

टेकपाना टेकपाना

असार ३०, २०८३ ७:१७

'डेटा माइग्रेसन' र 'सिस्टम अपग्रेड' का कारण लाइसेन्स सेवा प्रभावित : विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी दर्तासम्बन्धी सेवामा देखिएको अवरोधबारे स्पष्टीकरण दिँदै सेवाग्राहीसँग क्षमायाचना गरेको छ । सिस्टम अपग्रेड, डेटा माइग्रेसन र सेवाग्राहीको अत्यधिक चापका कारण विद्यमान प्रणालीमा आंशिक अवरोध उत्पन्न हुँदा मुलुकका अधिकांश स्थानमा सेवा प्रभावित भएको विभागले जनाएको छ ।

हाल सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र प्रणाली (EDL) तथा सवारी दर्तासम्बन्धी प्रणाली (VRS र EVRS) हरू निरन्तर सुधार र अद्यावधिक गर्ने क्रममा रहेको उल्लेख गरेको छ । त्यससँगै सरकारले सवारी तथा यातायातसम्बन्धी नयाँ प्रणाली कार्यान्वयनको तयारी गरिरहेको र सोही प्रक्रियाअन्तर्गत प्रणाली स्तरोन्नति तथा डेटा माइग्रेसनको काम भइरहेकाले सेवा अवरोध भएको विभागले जनाएको छ ।

सोमबार विभागको सर्भरमा समस्या आएपछि लाइसेन्स, सवारी दर्ता तथा नवीकरणलगायत अधिकांश सेवा अवरुद्ध भएका थिए । त्यसका कारण देशभरका यातायात कार्यालयमा पुगेका सेवाग्राही घण्टौं लाइनमा बसे पनि सेवा लिन नपाएको अवस्था सिर्जना भएको थियो । यातायात कार्यालय इटहरीमा स्थिति तनावपूर्ण भएपछि प्रहरी नै परिचालन गर्नुपरेको थियो ।

यता, प्रदेश सरकारमार्फत नयाँ यातायात कार्यालय विस्तार भइरहेको र आर्थिक वर्षको अन्त्यतिर सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले सीमित क्षमताको प्रणालीमा अतिरिक्त दबाब परेको विभागको भनाइ छ ।

सेवा अवरुद्ध हुनुको मुख्य कारण सेवाग्राहीको बढ्दो चाप, सिस्टम अपग्रेड र डेटा माइग्रेसन रहेको उल्लेख गर्दै विद्यमान प्रणालीका समस्या समाधान तथा सेवा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि जनाएको छ । उक्त अवरोध तथा समस्याहरू यथाशीघ्र सम्बोधन तथा व्यवस्थापन गर्न विभाग प्रयत्नशील रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १०:२५