close

ट्राफिक प्रहरीले जरिबाना काटेबापत २५% कमिसन लिने रास्वपा सांसदको दाबी भाइरल, के भन्छ प्रहरी ?

टेकपाना टेकपाना

असार ३०, २०८३ १८:७

ट्राफिक प्रहरीले जरिबाना काटेबापत २५% कमिसन लिने रास्वपा सांसदको दाबी भाइरल, के भन्छ प्रहरी ?

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदले ट्राफिक प्रहरीले जरिबाना काटेबापत २५ प्रतिशत कमिसन पाउने दाबी गरेपछि नेपाल प्रहरीले खण्डन गरेको छ । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएको उक्त सूचना भ्रामक र तथ्यहीन रहेको प्रहरीको भनाइ छ ।

मङ्गलवार प्रहरी प्रधान कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले जरिबानाको कुनै पनि हिस्सा भत्ता वा सुविधाका रूपमा नपाउने स्पष्ट पारेको हो । सोमबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै रास्वपाका सांसद मधुकुमार चौलागाईंले ट्राफिक प्रहरीले २५ प्रतिशत कमिसन पाउने गरेकाले सडकमा लुकेर नियम मिच्नेलाई समात्न र जरिबाना गर्न बढी जोड दिने गरेको दाबी गरेका थिए ।

सांसद चौलागाईंले बोलेको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ । विदेशमा नियम उल्लङ्घन गर्नेलाई अदालत पठाउने व्यवस्था भएको उदाहरण दिँदै चौलागाईंले नेपालमा ट्राफिक प्रहरीलाई नै अनुसन्धान र फैसलाको अधिकार दिएर कमिसनको लोभ देखाइएको आरोप लगाएका थिए ।

यता प्रहरीले भने २५ प्रतिशत कमिसन दिने कुनै कानुनी व्यवस्था नभएको जनाएको छ । ट्राफिक प्रहरी कर्मचारीले ट्राफिक नियम उल्लङ्घन गरेबापत असुल्ने जरिबाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला गर्ने व्यवस्था रहेको प्रहरीले जनाएको हो । सो बापत नेपाल सरकारबाट कुनै पनि अतिरिक्त शुल्क वा सुविधा ट्राफिक प्रहरीले प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ ।  

तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा यस्ता समाचार तथा सूचना सम्प्रेषण हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने प्रहरीले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैमा अनुरोध गर्दछ ।” 

साथै, कुनै पनि समाचार वा सूचना प्रकाशन/प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १८:२९