अन्तर्वार्ता विवादित बनेपछि प्रविधिमन्त्री पुनले भने- अब १ वर्षसम्म युट्युबरसँग कुरा गर्दिनँ
असार २७, २०८३ १०:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने भनी दिएको आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार फेसबुकमा स्टाटस राख्दै उनले आफ्नो भनाइबाट कसैलाई चोट पुगेको भए माफी समेत मागेका छन् ।
केही दिनअघि एक अन्तर्वार्ताका क्रममा मन्त्री पुनले नेपालीहरूलाई नियम पालना गराउन ‘तर्साउनु पर्ने’ र ५० हजारसम्म जरिवाना गर्नुपर्ने धारणा राखेका थिए । उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।
विशेषगरी हालै भएको गणेश नेपालीको आत्मदाह प्रकरण र आर्थिक मन्दीको समयमा यस्तो कठोर जरिवानाको कुरा गरेको भन्दै उनको अभिव्यक्ति भाइरल गराइएको छ ।
आफ्नो बचाउ गर्दै मन्त्री पुनले लेखेका छन्, “केही दिनअघि ट्राफिक जरिवाना सम्बन्धी कुरामा मलाई केही थाहा छैन भन्दाभन्दै पनि पत्रकारहरूले कोट्याई कोट्याई सोधेका थिए । मैले अटेर गर्नेलाई जरिवाना गर्नुपर्छ भनेको हो र ५० हजारको कुरा उनीहरूले नै निकालेका हुन् ।” यद्यपि, उक्त विषयले विवाद मोड लिएपछि उनले सो शब्द फिर्ता लिएको स्पष्ट पारेका छन् ।
आफ्नो अभिव्यक्तिको भिडिओ र समाचारहरू भाइरल भएपछि असन्तुष्ट बनेका मन्त्री पुनले आगामी एक वर्षसम्म कुनै पनि मिडियालाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् । उनले लेखेका छन्, “आजदेखि मैले कुनै पनि ठुला-साना युट्युबरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्त्वका विषय बाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन, छैन, छैन ।”
उनले ट्राफिक नियम अटेर गर्ने र अपराध गर्नेहरूलाई आवश्यक दण्ड सजाय नगरे देश र समाजको अवस्था कस्तो होला भनी प्रश्न समेत गरेका छन् । ट्राफिक नियम पालना नगर्नेहरूलाई मुटुमा हात राखेर सोच्न आग्रह गर्दै अज्ञानवश कसैलाई चोट पुगेको भए क्षमा मागेका छन् ।
पछिल्लो अध्यावधिक: असार २७, २०८३ १०:१३
