close

अन्धविश्वास फैलाउने माध्यम बन्दै सामाजिक सञ्जाल, मृतात्मासँग कुरा गराइदिने भन्दै विरामीको शोषण

टेकपाना टेकपाना

असार २७, २०८३ १६:१८

अन्धविश्वास फैलाउने माध्यम बन्दै सामाजिक सञ्जाल, मृतात्मासँग कुरा गराइदिने भन्दै विरामीको शोषण

काठमाडौं । सूचना प्रविधिको तीव्र विकासले विश्वलाई साँघुरो बनाउँदै लगेको २१ औँ शताब्दीमा नेपालमा भने डिजिटल प्लेटफर्महरू अन्धविश्वास, कूप्रथा र अवैवैज्ञानिक दाबीहरूको अत्याधुनिक बजारका रूपमा विकास भइरहेका छन् । टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालका एल्गोरिदमहरूले मानिसको संवेग, मानसिक कमजोरी र आघातको फाइदा उठाउँदै डिजिटल युगमा धामीझाँक्री प्रथालाई थप संस्थागत गरिरहेका छन् ।

यसको पछिल्लो र ज्वलन्त उदाहरण हो, पोखरामा सञ्चालित दिव्याश्रम हिलिङ पोखरा (टिकटक ह्यान्डल: @muktahealer)। आफूलाई सम्मोहन चिकित्सक (Hypnotherapist), आध्यात्मिक उपचारक (Spiritual Healer) र पूर्वजन्म थेरापिस्ट (past life regression therapist) दाबी गर्ने मुक्त खवासले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा दशौँ लाख भ्युज र हजारौँ कमेन्टको ओइरो छ । 

यी भिडिओहरूले नेपालको नियमनकारी निकाय कसरी मूकदर्शक बनेका छन् र आम नागरिक कसरी मानसिक तथा भावनात्मक शोषणको सिकार भइरहेका छन् भन्ने प्रश्न खडा गरिदिएका छन् ।

लाखौँ भ्युज बटुल्ने अवैज्ञानिक दाबी 

ती भिडिओहरूमा बिनाकुनै वैज्ञानिक प्रमाण मानिसको दिमाग र भावनालाई नियन्त्रणमा लिएर अत्यन्त संवेदनशील, विचलित पार्ने र सामाजिक-पारिवारिक कलह निम्त्याउने खालका दाबी गरिएका छन् । 

एक भिडिओमा मृतक बालकको 'आत्मा' बोलाएको दाबी गरिएको छ । पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका एक ७-८ वर्षका बालक 'दीपक' को आत्मालाई जीवित मानिसको शरीरमा प्रवेश गराएर कुरा गराएको दाबी गरिएको छ । भिडिओमा ती कथित आत्माले 'बाजेले लाज मान्दै मलाई धानको भकारीमा थुनेर मारिदिएको' जस्तो विचलित पार्ने कुरा बोलेको देखाइएको छ । जसलाई ३४ लाखभन्दा बढी पटक हेरिएको छ ।

अर्को भिडिओमा तेस्रो नेत्र खोलेर ब्रह्माण्ड दर्शन गराएको दाबी गरिएको छ । तेस्रो नेत्रद्वारा वृन्दावनमा राधाकृष्णको दर्शन गराइदिएको दाबी गरिएको उक्त भिडिओ ३६ लाखभन्दा बढी पटक हेरिएको छ ।

यसैगरी दिवंगत आत्मासँग साक्षात्कार गराएका विभिन्न भिडिओहरू उनको टिकटक अकाउन्टमा राखिएका छन् । 'मृत्युपछि आत्माको यात्रा कहाँ हुन्छ?' भन्दै दिवंगत हजुरआमाको आत्मासँग नातिनीको कुराकानी गराएको दाबी गरिएका भिडिओहरू ४० लाखभन्दा बढी पटक हेरिएका छन् ।

त्यसमा भएका भिडिओहरूको विश्लेषण गर्दा औषधि छुटाउने घातक खेल समेत प्रस्ट हुन्छ । वर्षौँदेखि डिप्रेसन र एन्जाइटीको औषधि खाइरहेका बिरामीलाई 'तीन दिनमै पूर्ण रूपमा निको पारेको र औषधि छुटाएको' दाबी सहितका अन्तर्वार्ताहरू पोस्ट गरिएका छन् । जसलाई करिब साढे ६ लाखले हेरेका छन् । यसका साथै पूर्वजन्मको यात्रा (Past Life Regression), कालो जादु (Black Magic), पितृ उद्धार र अनिन्द्रा वा माइग्रेन बिनाऔषधि निको पार्ने जस्ता अनेकौं भ्रामक भिडिओहरू भाइरल बनाइएका छन् ।

मानसिक आघात र भ्रमको फाइदा

यी भिडिओहरूमा आएका हजारौँ प्रतिक्रियाहरूले नेपाली इन्टरनेट प्रयोगकर्ताहरूको चेतना र गहिरो मानसिक पीडालाई छर्लङ्ग पारेका छन् । आफ्ना प्रियजन गुमाएका भावुक प्रयोगकर्ताहरू ‘मलाई पनि मेरी स्वर्गीय आमासँग बोल्न मन छ, कुन ठाउँ हो गुरु नम्बर दिनु न’ भन्दै भ्रमको जालमा फसिरहेका छन् । अर्कातर्फ, केही सचेत प्रयोगकर्ताले यसलाई व्यापारको संज्ञा दिँदै चुनौती दिएका छन् । ‘यदि यो साँचो हो भने निर्मला पन्तको आत्मा बोलाएर हत्यारा पत्ता लगाइदिनुस्’, ‘दरबार हत्याकाण्डको वास्तविकता बाहिर ल्याउनुस्’ भन्ने किसिमका कमेन्ट समेत ती भिडिओहरूमा आएका छन् । 

मुक्त खवासले टेकपानासँगको कुराकानीमा आफू मनोचिकित्सक नभएको स्वीकार गर्दै 'नेसनल हिप्नोसिस एकेडेमी' बाट हिप्नोसिसमा मास्टर्स गरेको र झाँक्री विधाअन्तर्गत यो अभ्यास गर्दै आएको प्रस्टिकरण दिए । उनले आफूले बिरामीको 'सपोर्टिभ' उपचार गर्ने दाबी गरेका छन् । तर चिकित्सा विज्ञान र आधुनिक चिकित्साशास्त्रले यस्ता दाबीहरूलाई पूर्ण रूपमा खारेज गर्छन् ।

सम्मोहन (हिप्नोथेरापी) के हो, के होइन ?

सम्मोहन वा हिप्नोथेरापी वास्तवमा एक वैज्ञानिक क्लिनिकल विधि हो । जसलाई प्रमाणित र तालिमप्राप्त मनोचिकित्सक वा मनोवैज्ञानिकहरूले बिरामीको अवचेतन मनमा रहेका डर, फोबिया वा आघात पहिचान गर्न प्रयोग गर्छन् । तर, यसलाई 'आत्मा बोलाउने' वा 'पूर्वजन्म हेर्ने' भन्दै दुरुपयोग गर्नु सरासर अवैधानिक र अनैतिक कार्य हो ।

सम्मोहनको अवस्थामा मानव मस्तिष्क अत्यन्त सुझावशील (suggestible) हुन्छ । उपचारकले जे भन्यो, अवचेतन मनले त्यसलाई साँचो मान्न थाल्छ । बिरामीले आफ्नै कल्पना वा अतृप्त इच्छाहरूलाई 'आत्मा बोलेको' रूपमा महसुस गर्छन्, जसलाई वैज्ञानिक भाषामा 'अल्टर्ड स्टेट अफ कन्सिअसनेस' (Altered State of Consciousness) भनिन्छ ।

सबैभन्दा खतरनाक कुरा, १० वर्षदेखि डिप्रेसन र आत्महत्याको सोच आएर औषधि खाइरहेका बिरामीको औषधि अचानक ३ दिनमै छुटाउनु ज्यानकै जोखिम निम्त्याउनु हो । मानसिक रोगको औषधि एक्कासि छोड्दा बिरामीमा 'विथड्रअल सिन्ड्रोम' (Withdrawal Syndrome) भई कडा मानसिक आघात पुग्ने र आत्महत्याको जोखिम कयौँ गुणा बढेर जाने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

संक्षिप्तमा भन्नुपर्दा हिप्नोसिस नियमनको दायराभित्र रहेर मानव मस्तिष्कको अवचेतन मनसँग काम गर्ने एक प्रमाणित र सुरक्षित क्लिनिकल पद्धति हो । जब कि अन्धविश्वास अलौकिक शक्तिमाथिको अन्ध आस्था, अवैवैज्ञानिक मान्यता र कतिपय अवस्थामा बिरामीलाई शारीरिक तथा मानसिक क्षति पुऱ्याउने हानिकारक सामाजिक कूप्रथा हो ।

अन्तर्राष्ट्रिय अभ्यास र विश्व स्वास्थ्य सङ्गठनको नीति

अन्तर्राष्ट्रिय रूपमा क्लिनिकल हिप्नोसिस कडा कानुनी दायरामा बाँधिएको छ । अमेरिकाका एरिजोना, अर्कान्सास, मिसिगन र मिनेसोटा जस्ता राज्यहरूमा क्लिनिकल हिप्नोसिसको अभ्यास केवल लाइसेन्सप्राप्त मनोवैज्ञानिक, क्लिनिकल सामाजिक कार्यकर्ता वा विशेषज्ञ चिकित्सकहरूले मात्र गर्न पाउँछन् । बिनालाइसेन्स यस्ता विधिको प्रयोग गरी रोग निको पार्ने दाबी गर्नु त्यहाँ कडा सजाययोग्य अपराध मानिन्छ ।

त्यस्तै, ७८ औँ विश्व स्वास्थ्य महासभा (World Health Assembly) द्वारा पारित 'डब्लूएचओ ग्लोबल ट्रेडिसनल मेडिसिन स्ट्राटेजी २०२५-२०३४' ले परम्परागत, पूरक र एकीकृत चिकित्सा (Traditional, Complementary and Integrative Medicine - TCIM) लाई स्वास्थ्य प्रणालीमा व्यवस्थित गर्ने स्पष्ट मार्गचित्र तोकेको छ ।

डब्लूएचओले आफ्नो रणनीतिमा 'डु नो हार्म' (Do No Harm - क्षति नपुऱ्याउने) सिद्धान्तलाई दृढताका साथ अङ्गीकार गरेको छ । डब्लूएचओले स्पष्ट रूपमा वैज्ञानिक प्रमाणबिना गरिने कुनै पनि स्वास्थ्य दाबी वा उपचार विधिलाई अस्वीकार गर्दछ । यो रणनीति विशेष गरी स्वास्थ्य क्षेत्रमा फैलिने भ्रामक सूचना (Misinformation, Disinformation, and Malinformation) लाई रोक्न र सर्वसाधारणलाई सुरक्षित राख्न निर्देशित छ । यसले स्पष्ट पार्छ कि परम्परागत विधिको नाममा गरिने उपचार पनि पूर्ण रूपमा वैज्ञानिक प्रमाण (Evidence-based) र कडा नियामक नियन्त्रण (Regulatory Mechanisms) भित्र हुनुपर्दछ ।

कानुन भए पनि कार्यान्वयनमा लाचारी

नेपालको कानुनले बिनाइजाजत चिकित्सा अभ्यास गर्ने र अन्धविश्वास फैलाउने कार्यलाई कडा प्रतिबन्ध लगाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २३० र २३१ अनुसार कानुनबमोजिम इलाज गर्ने इजाजतपत्र (लाइसेन्स) नलिई कसैले पनि इलाज गर्न वा औषधि सिफारिस वा बन्द गर्न पाउँदैन । बिनालाइसेन्स बिरामीको मानसिक तथा शारीरिक उपचार गर्ने र औषधि छुटाउने दाबी गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो । 

यसैगरी बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ ले धामी, झाँक्री वा तन्त्रमन्त्रका नाममा कसैलाई यातना दिने वा विभेद गर्ने कार्यलाई कसूर मानेको छ । भिडिओहरूमा परिवारकै सदस्यले मारिदिएको जस्ता दाबीहरू गराउनुले समाजमा हिंसा र कलह बढाउने जोखिम निम्त्याउँछ । 

नेपालमा चिकित्सा क्षेत्रमा संलग्न गैर-चिकित्सक तथा गैर-नर्सिङ स्वास्थ्य व्यवसायीहरूको सेवालाई व्यवस्थित र वैज्ञानिक बनाउन नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ ल्याइएको छ । ऐनको दफा २० बमोजिम परिषद्‌मा नाम दर्ता नभएका कुनै पनि व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वास्थ्य व्यवसाय (निदान, उपचार, रोकथाम) गर्न पाउँदैनन् । दर्ता बिनाको अभ्यास दफा २८ बमोजिम सजाययोग्य छ ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार काउन्सिलको अनुमतिबिना आधुनिक चिकित्सा अभ्यास गर्ने वा डाक्टर लेखेर उपचार गर्नेमाथि कडा कारबाही गरिँदै आएको छ । चिकित्सकले दिएको औषधि नै छुटाउने जस्तो अभ्यासको प्रमाण आएमा काउन्सिलले तुरुन्तै उजुरी लिएर अनुसन्धान अगाडि बढाउने उनले स्पष्ट पारे ।

तथापि, सामाजिक सञ्जालमा खुलेआम अवैधानिक र भ्रामक सेवाको प्रचार हुँदा पनि नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय र स्थानीय प्रशासन मूकदर्शक बन्नु आफैँमा लज्जास्पद छ ।

मानसिक स्वास्थ्यमाथि खेलबाड

नेपालमा अन्धविश्वासको यो डिजिटल बजारलाई चिर्न र वैज्ञानिक मानसिक स्वास्थ्य सेवा प्रवर्द्धन गर्न कम्युनिटी मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (CMC-Nepal) ले विगत दुई दशकभन्दा बढी समयदेखि महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । सन् २००३ मा स्थापित सीएमसी नेपालले सरकारी स्वास्थ्य निकायहरूसँग सहकार्य गरी देशका विभिन्न जिल्लाहरूमा समुदायस्तरमै मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श सेवा पुऱ्याउँदै आएको छ ।

नेपाल सरकारको 'राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७' ले पनि प्राथमिक स्वास्थ्य सेवासँगै मानसिक स्वास्थ्यलाई एकीकृत गर्ने लक्ष्य राखेको छ । यस रणनीतिले नेपाली समाजमा धामीझाँक्रीप्रति रहेको परम्परागत विश्वासलाई आत्मसात् गर्दै, उनीहरूलाई वैज्ञानिक उपचार पद्धतिको प्रस्थानविन्दुका रूपमा उपयोग गर्ने र बिरामीलाई ढिला नगरी वैज्ञानिक उपचारमा रेफरल (Referral) गर्नका लागि उनीहरूको क्षमता अभिवृद्धि र अभिमुखीकरण गर्ने नीति लिएको छ ।

सीएमसी नेपालले विद्यालय मानसिक स्वास्थ्य कार्यक्रममार्फत शिक्षकहरूलाई तालिम दिएर बालमैत्री कक्षाकोठा व्यवस्थापन, सकारात्मक अनुशासन र बालबालिकाको मनोसामाजिक समस्या पहिचान गर्ने कार्य गरिरहेको छ ।

सीएमसी नेपालका अनुसार, मानसिक स्वास्थ्यमा साँचो आत्मसम्मान (Dignity in Mental Health) तब मात्र सम्भव हुन्छ, जब बिरामीले सामाजिक तिरस्कार र अन्धविश्वासको साटो सहज रूपमा वैज्ञानिक उपचार र मनोपरामर्श पाउँछन् । सीएमसी नेपालको अनुभवले देखाउँछ कि डिप्रेसन, एन्जाइटी, छारे रोग वा कडा खालका मानसिक रोग (Psychosis) बाट ग्रसित बिरामीहरू पनि नियमित औषधि सेवन, मनोपरामर्श र परिवारको माया पाएमा पूर्ण रूपमा निको भएर सामान्य वैवाहिक र सामाजिक जीवनमा फर्कन सक्छन् ।

हिप्नोसिसको आधारभूत मान्यता अनुसार समेत मानसिक स्वास्थ्य कुनै 'भूतप्रेतको खेल' वा 'आत्माको आवाज' नभई विशुद्ध वैज्ञानिक उपचार र मानवीय संवेदनाको विषय हो । तर अन्धविश्वासको डिजिटल व्यापारले एकातिर बिरामीलाई सही उपचार पाउनबाट ढिला गराएर ज्यानकै जोखिम निम्त्याइरहेको छ भने अर्कातिर पीडित परिवारको आर्थिक र मानसिक शोषण गरिरहेको छ । सामाजिक सञ्जाल प्लेटफर्महरू यी विषयहरूमा आफ्ना कम्युनिटी गाइडलाइन्स कडाइका साथ लागु असफल देखिएका छन् ।

पछिल्लो अध्यावधिक: असार २७, २०८३ १९:२४