घरजग्गा कारोबारको राजस्व तथा शुल्क भुक्तानीमा मेरो कित्ता अनलाइन प्रणाली अनिवार्य
जेठ २९, २०८३ २०:५२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि घरजग्गासँग सम्बन्धित सेवा र त्यसको शुल्क भुक्तानीमा मेरो कित्ता अनलाइन प्रणालीको प्रयोग अनिवार्य गरेको छ । एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै केन्द्रिय बैंकले जग्गासम्बन्धी सेवा तथा राजस्व भुक्तानीलाई पूर्ण रूपमा डिजिटल माध्यममा लैजाने व्यवस्था लागु गरेको हो ।
यस नयाँ व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले तीनवटा छुट्टाछुट्टै निर्देशनहरू जारी गरेको छ । जसले सबै वर्गका वित्तीय संस्थाहरूलाई समेटेको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ मा बुँदा नं. १६ थप गर्दै 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई नापी कार्यालयबाट प्राप्त हुने जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिस्टर प्रिन्ट लिन तथा सोसँग सम्बन्धित राजस्व अनलाइनमार्फत भुक्तानी गर्न मेरो कित्ता प्रणालीमा संस्थागत प्रयोगकर्ता बन्न निर्देशन दिएको छ ।
त्यस्तै एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. १९ मा बुँदा नं. ४ थप गरी पूर्वाधार विकास बैंकले पनि अनिवार्य रूपमा यही प्रणालीमार्फत कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशन नं. २० मा बुँदा नं. ६ थप गर्दै लघुवित्तहरूलाई पनि जग्गाको नापनक्सा सेवा र राजस्व भुक्तानीका लागि मेरो कित्ता प्रणाली अनिवार्य गरिएको छ ।
मेरो कित्ता प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरूले घरमै बसेर नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि मेरो कित्ता अनलाइन प्रणालीमा संस्थागत प्रयोगकर्ता बन्नुपर्ने हुन्छ ।सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन, नगद वा अनौपचारिक माध्यमबाट हुने भुक्तानी र सम्भावित अनियमिततालाई निरुत्साहित गर्न र सरकारी राजस्व सङ्कलन प्रक्रियालाई थप व्यवस्थित र सुरक्षित बनाउन यो प्रणाली विकास गरिएको हो ।
जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर लिन मिल्ने सुविधासहित नापी विभागले केही दिन अघि मेरो कित्ता मोबाइल एप सार्वजनिक गरेको थियो । यो एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिन्छ । आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्छन् ।
यस्तै, इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ । फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्वसमेत एपबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको नापी विभागले जनाएको छ।
एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । मेरो कित्ता एप वेब संस्करणसहित एन्ड्रोइड डिभाइसमा उपलब्ध छ ।
एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरमा Mero Kitta सर्च गरेर वा यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नेछन् । आईओएस डिभाइसमा भने छिट्टै नै उपलब्ध गराउने गरि काम भइरहेको बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ २०:५३
