अश्लील र द्विअर्थी शब्द प्रयोग भएको भन्दै ‘मास्टर्नी’ चलचित्रको गीत हटाउन महिला शिक्षक समाजको माग
साउन १, २०८३ १६:३३
काठमाडौं । चलचित्र ‘मास्टर्नी’को प्रोमोसनल गीतलाई सामाजिक सञ्जालबाट हटाउन महिला शिक्षक समाजले माग गरेको छ । शुक्रबार एक विज्ञप्ति निकाल्दै समाजले सम्पूर्ण शिक्षक वर्ग र शिक्षण पेसाकै गौरवमाथि आघात पुर्याएको भन्दै उक्त गीत हटाउन माग गरेको हो ।
समाजकी अध्यक्ष डा. जानुका नेपाल र सचिव गीता भट्टराईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा गीतले महिला शिक्षकहरूलाई लक्षित गरी अमर्यादित शब्द, द्विअर्थी ध्वन्यात्मक आवाज र गलत आशय प्रकट गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “...त्यसैले सो गीतलाई तत्काल बन्द गर्ने एवं विभिन्न सामाजिक सञ्जालबाट तथा मिडियामा गरिएको प्रचारप्रसार हटाउनका साथै चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग अनुरोध गर्दछौँ ।”
उक्त गीतलाई निरन्तरता दिएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामको जिम्मेवार चलचित्र निर्माता र कलाकार स्वयम् हुनुपर्ने चेतावनी समेत समाजले दिएको छ । आफ्नो पेसागत मर्यादामा आँच आउने यस्ता कार्यविरुद्ध कुनै पनि कदम चाल्न समाज पछि नपर्ने समेत उल्लेख गरेको छ ।
५ भदौमा प्रदर्शनमा आउने तयारीमा रहेको क्राइम थ्रिलर फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीतलाई १४ जुलाईमा दुर्गेश थापा र प्रियंका कार्कीले संयुक्त रूपमा युट्युबमा सार्वजनिक गरेका थिए । दुर्गेश र गायिका बबिना किरातीको स्वर रहेको यस गीतमा दुर्गेशसँगै अभिनेत्री प्रियंका कार्की, अभिनेता आर्यन सिग्देल, आयुष्मान देशराज जोशी फिचर्ड छन् ।
यो गीत प्रदर्शनमा आएदेखि नै चर्चामा छ । सार्वजनिक भएको तीन दिनमा नै यो गीतलाई १० लाखभन्दा धेरैले हेरिसकेका छन् । तर गीतमा प्रयोग गरिएको शब्दहरू अश्लील र द्विअर्थी भएको भन्दै विवाद भइरहेको छ ।
यो गीतलाई हटाउन माग गर्दै बिहीबार नेपाल शिक्षक महासंघले समेत विज्ञप्ति जारी गरेको थियो । महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि प्रहार गरेको भन्दै उक्त गीत हटाउन माग गरेको हो ।
यता गायक दुर्गेश थापा र प्रियंका कार्कीले भने ‘डर्टी माइन्ड’ भएकाले मात्र गीतलाई अश्लील सुनेको भन्दै प्रतिवाद गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन १, २०८३ २२:२६
