close

ईभी मोटर प्रविधिमा भारतको ब्रेकथ्रुः 'रेयर अर्थ म्याग्नेट' बिनै चल्ने सफ्टवेयर-आधारित मोटर विकास

टेकपाना टेकपाना

साउन ४, २०८३ ७:४०

ईभी मोटर प्रविधिमा भारतको ब्रेकथ्रुः 'रेयर अर्थ म्याग्नेट' बिनै चल्ने सफ्टवेयर-आधारित मोटर विकास

 

काठमाडौं । छिमेकी मुलुक भारतमा विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा एउटा ब्रेकथ्रु प्रविधि विकास भएको छ । भारतको बेंगलुरुस्थित बिमग ल्याब्स (Vimag Labs) नामक स्टार्टअपले ‘रेयर-अर्थ’ (दुर्लभ धातु) का चुम्बकबिनै चल्ने नयाँ प्रविधिको इलेक्ट्रिक मोटर विकास गरी त्यसको पेटेन्ट (पेटेन्ट अधिकार) सुरक्षित गरेको छ । यो प्रविधिको विकाससँगै विश्वव्यापी ईभी बजारमा चीनको दशकौं लामो आपूर्ति श्रृङ्खलाको एकाधिकारलाई ठुलो चुनौती पुग्ने अनुमान गरिएको छ ।

कम्पनीले विकास गरेको ‘भर्चुअल म्याग्नेट सिन्क्रोनस मोटर’ (Virtual Magnet Synchronous Motor-VMSM) ले परम्परागत रेयर अर्थ म्याग्नेटको सट्टा सफ्टवेयर, पावर इलेक्ट्रोनिक्स र नियन्त्रित एल्गोरिदममार्फत वास्तविक समयमा चुम्बकीय क्षेत्र सिर्जना गर्छ । यसले ब्रसलेस र स्लिप-रिङ रहित डिजाइन कायम राख्दै परम्परागत स्थायी चुम्बकीय मोटरसरह प्रदर्शन दिन सक्ने कम्पनीको दाबी छ 

चीनको एकाधिकारमा धक्का

हाल विश्वभर उत्पादन हुने उच्च कार्यक्षमताका इलेक्ट्रिक सवारी साधनका मोटरहरूमा पर्मानेन्ट म्याग्नेट (स्थायी चुम्बक) को प्रयोग अनिवार्य जस्तै मानिन्छ ।  जसमा नियोडिमियम जस्ता दुर्लभ धातुहरू प्रयोग हुन्छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार चीनले विश्वव्यापी दुर्लभ खनिज (रेयर अर्थ) को आपूर्तिमा करिब ९० प्रतिशत र उच्च शक्तिका विद्युतीय मोटरमा प्रयोग हुने स्थायी चुम्बक (पर्मानेन्ट म्याग्नेट) उत्पादनमा करिब ९४ प्रतिशत नियन्त्रण राखेको छ । 

चीनले यसअघि कतिपय भू-राजनीतिक तनावका बेला यी धातुहरूको निर्यातमा प्रतिबन्ध लगाएर ईभी उत्पादकहरूलाई दबाबमा समेत राख्ने गरेको थियो । भारतमा विकास भएको यो नयाँ प्रविधिले चीनमाथिको सोही निर्भरता हटाउने दाबी गरिएको छ ।

सफ्टवेयर नियन्त्रित प्रविधि

हाइ-परफर्मेन्स ईभी मोटरहरू प्रायः पर्मानेन्ट म्याग्नेटमा निर्भर हुन्छन् । बेन्चमार्क मिनिरल इन्टेलिजेन्सको गत वर्षको तथ्यांकअनुसार विश्वभरका ८६ प्रतिशतभन्दा बढी ईभी मोटरमा स्थायी चुम्बक प्रयोग भएको थियो ।

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरलाई चुम्बकीय गुण कायम राख्न कुनै बाह्य विद्युत् स्रोत आवश्यक पर्दैन । यही कारण यी मोटरहरू आकारमा साना, ऊर्जा दक्ष र उच्च कार्यसम्पादनयुक्त हुन्छन् । त्यसैले व्यावसायिक रूपमा उत्पादन हुने अधिकांश विद्युतीय सवारीमा यिनको प्रयोग व्यापक रूपमा गरिन्छ ।

तर स्थायी चुम्बकको प्रयोग नगर्दा मोटर सञ्चालनका लागि आवश्यक चुम्बकीय क्षेत्र कृत्रिम रूपमा उत्पन्न गर्नुपर्ने हुन्छ । बिमग ल्याब्सले रोटरमा प्रयोग हुने रेयर अर्थका स्थायी चुम्बक हटाएर त्यसको सट्टा साधारण तामाको काेइल (Copper Coil) र स्टिल प्रयोग गरेको छ । त्यसपछि मोटरभित्र तारबिनै ऊर्जा प्रवाह गराउन सफ्टवेयरको प्रयोग गरिएको छ, जसले उच्च प्रविधियुक्त ट्रान्सफर्मर जस्तै इलेक्ट्रो-म्याग्नेटिक क्षेत्रलाई नियन्त्रण गरेर मोटर सञ्चालन गर्छ ।

बिमगकले यसलाई भर्चुअल म्याग्नेट सिन्क्रोनस मोटर नाम दिएको छ । हाल बजारमा चुम्बक बिनाका मोटरहरू अस्तित्वमा रहेपनि सफ्टवेयर नियन्त्रित प्रविधिका कारण बिमगको मोटरलाई विशेष मानिएको छ । 

मोबिलिटी ग्लोबलका लाइट भेहिकल प्रोडक्सन फोरकास्टिङका सह निर्देशक गौरव वाङ्गालले इन्डिया टुडेसँग भनेका छन्, “रेयर अर्थका स्थायी चुम्बकबिनै चल्ने मोटर अहिले पनि अस्तित्वमा छन् र सडकमा प्रयोग भइरहेका छन् । तर बिमगको विशेषता के हो भने यसले सामान्यतया स्थायी चुम्बकले गर्ने काम सफ्टवेयरमार्फत गरिरहेको छ । त्यसैले यसको वास्तविक उपलब्धी चुम्बकबिनाको मोटर होइन, बरु सफ्टवेयरको माध्यमबाट स्थायी चुम्बकले दिने जत्तिकै शक्ति र ऊर्जा दक्षता हासिल गर्ने प्रयास हो ।”

मोटरको कार्यक्षमता र व्यावसायिक उत्पादन लक्ष्य

भारतीय सञ्चार माध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा बिमग ल्याब्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष सेठले कम्पनीको सफ्टवेयरमा आधारित प्रविधिले परम्परागत स्थायी चुम्बकयुक्त मोटरसरह वा त्यसभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको बताएका छन् । उनका अनुसार यो प्रविधिले सवारीको एकपटक चार्जमा गुड्ने दूरी (रेन्ज), गति समात्ने क्षमता (एक्सेलेरेसन) वा ऊर्जा दक्षतामा कुनै सम्झौता नगरी समान वा अझ राम्रो कार्यसम्पादन दिन सक्छ । 

आन्तरिक र ग्राहक परीक्षणका क्रममा यो प्रविधिले परम्परागत मोटरहरू भन्दा पनि राम्रो नतिजा देखाएको दाबी सीईओ सेठले गरेका छन् । अर्कातर्फ, दुर्लभ धातुहरूको मूल्यमा हुने उतारचढावबाट मुक्त हुने भएकाले यो प्रविधिको मोटर परम्परागत मोटरको तुलनामा निकै किफायती र प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने बताइएको छ ।

सुरुवाती अनुसन्धान र विकासको चरण पूरा गरी कम्पनी अहिले व्यावसायिक उत्पादनतर्फ अघि बढेको छ । कम्पनीले यसै वर्षको अन्त्यसम्म १ हजारदेखि १० हजार युनिट मोटरको पाइलट उत्पादन गर्ने र आगामी वर्षदेखि व्यावसायिक (मास) उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । प्रारम्भिक चरणमा यो प्रविधि विद्युतीय दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीमा प्रयोग गरिनेछ । त्यसपछि क्रमशः विद्युतीय कार, बस र ट्रकमा पनि विस्तार गर्ने योजना कम्पनीको छ ।

बिमग ल्याब्सले एक मुख्य (कोर) पेटेन्ट प्राप्त गरिसकेको छ भने थप धेरै पेटेन्टका लागि आवेदन दिएको छ । कम्पनीले ५० लाख अमेरिकी डलर लगानी पनि जुटाइसकेको छ । भिम्याग ल्याब्सले चीनको रेयर अर्थ आपूर्ति शृङ्खलामाथिको निर्भरता घटाउँदै भारतलाई विद्युतीय सवारी (ईभी) क्षेत्रमा आत्मनिर्भर बनाउने अभियानमा आफूलाई प्रमुख प्रविधि कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८३ ७:४०