close

अब कर तिर्ने उपभोक्तालाई नगद पुरस्कार: दैनिक १ लाख ३३ हजार, पाक्षिक बम्पर १० लाख

टेकपाना टेकपाना

साउन ५, २०८३ १०:५७

अब कर तिर्ने उपभोक्तालाई नगद पुरस्कार: दैनिक १ लाख ३३ हजार, पाक्षिक बम्पर १० लाख

काठमाडौं । अब कर तिर्ने नागरिकहरूले हरेक दिन उपहार पाउने भएका छन् । अर्थमन्त्रालयले करदता प्रोत्साहन उपहार कार्यविधि, २०८३ स्वीकृति गरी उक्त योजना अघि सारेको हो । कार्यविधि अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

कार्यक्रममा सहभागीमध्ये हरेक दिन एक जनालाई १ लाख ३३ हजार ३३४ रूपैयाँ र बम्पर उपहारस्वरुप प्रत्येक १५ दिन (पाक्षिक) मा एक जनालाई १० लाख रूपैयाँ दिइने भएको छ । यद्यपि, विजेताले पाउने उक्त उपहार रकममा आकस्मिक लाभ बापतको २५ प्रतिशत कर कटौती हुने कार्यविधिमा उल्लेख छ ।

उपहार कार्यक्रम आन्तरिक राजस्व विभागले सञ्चालन गर्नेछ । 

उपहार कार्यक्रममा सहभागी हुनका लागि योग्यता

नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुनेछन् । प्रत्येक महिनाको एक गतेदेखि सोही महिनाको मसान्तसम्म भएका विद्युतीय भुक्तानीबाट गरिएको खरिद तथा प्रणालीमा प्रविष्ट भएका बीजक सो महिनाको कार्यक्रममा समावेश गरिनेछ । प्रत्येक खरिद बीजक र विद्युतीय भुक्तानीबाट गरिएको खरिद बापत प्रणालीबाट एउटा उपहार टिकट उपलब्ध हुनेछ । प्रणालीमा प्रविष्ट गरिएको बीजक एक पटकका लागि कार्यक्रममा सहभागी हुन योग्य हुनेछ ।

तर व्यावसायिक प्रयोजनका लागि भएका खरिद बीजक, सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएका बीजक, टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट खरिद बापतका बीजक, र स्थायी लेखा नम्बर (प्यान) नलिएका व्यक्तिबाट खरिद गरिएका बीजकहरू कार्यक्रममा सहभागी हुन पाउने छैनन् ।

यो कार्यक्रममा भुक्तानी सेवा प्रदायकमार्फत भएको विद्युतीय भुक्तानीबाट गरिएको खरिद स्वत समावेश हुने कार्यविधिमा उल्लेख छ । कार्यक्रममा सहभागी हुन बीजक नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर, बीजक जारी मिति, बीजकमा उल्लिखित कुल रकम, भुक्तानीको प्रकार (नगद वा विद्युतीय), खरिदकर्ताको नाम र खरिदकर्ताको मोबाइल नम्बर प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।

विभागले प्रत्येक महिनाको एक गते र सोह्र गते विजेता उपभोक्ताको छनोट गर्नेछ । एक गते विजेता उपभोक्ता छनोट गर्दा अघिल्लो महिनाको सोह्र गतेदेखि सोही महिनाको मसान्तसम्म कारोबार भएको विवरण प्रणालीमा प्रविष्ट गर्ने उपभोक्तामध्येबाट छनोट गर्नेछ । यस्तै, सोह्र गते विजेता उपभोक्ता छनोट गर्दा सोही महिनाको एक गतेदेखि पन्ध्र गतेसम्म कारोबार भएको विवरण प्रणालीमा प्रविष्ट गर्ने उपभोक्तामध्येबाट छनोट गर्नेछ ।

 

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ १४:२०