साझाका ८ ईभी ‘ब्लु बस’ का रूपमा सञ्चालन हुँदै, राज्यलाई कम्तीमा वार्षिक ३ करोड खर्चको भार
असार १९, २०८३ १२:२८
काठमाडौं । सरकारको १०० दिने कार्यसूची अनुसार साझा यातायातले आफ्ना ८ वटा विद्युतीय बसलाई महिलाका लागि निःशुल्क ‘ब्लु बस’ (नीलो बस) का रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित हुनासाथ यो सेवा साउनदेखि नै सञ्चालनमा आउने जानकारी दिएका छन् ।
सीईओ अर्यालका अनुसार, साझाले आफ्ना हाल सञ्चालनमा रहेका ४० वटा विद्युतीय बसमध्ये ८ वटालाई ब्लु बसमा रूपान्तरण गर्न लागेको हो । यो सेवा पूर्ण रूपमा महिलाका लागि निःशुल्क हुने बताइएको छ ।
बस सञ्चालनका लागि रुटहरू तय भइसकेको अर्यालले बताए । उनले भने, “हामीले रुट व्यवस्थापनको तयारी गरिसकेका छौँ । अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता र सरकारसँग औपचारिक सम्झौता भएपछि हामी बसको रङ परिवर्तनको प्रक्रिया सुरु गर्छौं । नाम नै ‘ब्लु बस’ भएकाले यसलाई चिन्न सजिलो हुने गरी निलो रङमा परिणत गरिनेछ ।”
साझाले तय गरेको रुटअनुसार बुढानीलकण्ठदेखि लगनखेल-गोदावरीसम्म दुईवटा, नागढुङ्गादेखि एयरपोर्टसम्म दुईवटा र चक्रपथ (रिङरोड) मा चारवटा विद्युतीय बस सञ्चालन हुनेछन् । चक्रपथमा चल्ने चार बसमध्ये दुईवटा कोटेश्वर-गौशाला-कलङ्की र दुईवटा कोटेश्वर-सातदोबाटो-कलङ्की (क्लक्वाइज र एन्टी-क्लक्वाइज) रुटमा चल्नेछन् ।
विद्युतीय बस सञ्चालनका लागि लाग्ने खर्चको प्रस्ताव साझाले सरकारसमक्ष पठाइसकेको छ । सीईओ अर्यालले सञ्चालन खर्चबारे जानकारी दिँदै भने, “एउटा विद्युतीय बसको दैनिक सञ्चालन खर्च करिब १० देखि १२ हजार रुपैयाँसम्म पर्छ । आठवटा बसका लागि वार्षिक झन्डै ३ करोड रुपैयाँ न्यूनतम खर्च आवश्यक पर्ने देखिन्छ । यो बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ, बजेट आउनासाथ बस गुड्छन् ।”
महिलासँगै पुरुष चढ्न पाउने कि नपाउने ?
यो सेवा विशेषगरी महिलाको सुरक्षित यात्राका लागि ल्याइएकाले महिलाहरू निःशुल्क चढ्न पाउनेछन् । तर, महिलासँगै आउने पुरुष वा अन्य यात्रीका हकमा के गर्ने भन्ने नीतिगत विषय अझै टुङ्गो नलागेको अर्यालले बताए । उनले भने, “महिलाका लागि मात्रै तोकिएको उक्त बसमा महिलाहरू निःशुल्क चढ्न पाउने कुरा निश्चित छ, तर उनीहरूसँगै पुरुष यात्रीलाई प्रवेश दिने वा नदिने भन्नेबारे केही छलफल र नीतिगत स्पष्टता हुन बाँकी छ ।”
सरकारले सातै प्रदेशमा ब्लु बस सञ्चालन गर्ने र पहिलो १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । सोही योजनाको पहिलो चरणका रूपमा काठमाडौँ उपत्यकामा साझाका विद्युतीय बसमार्फत यो सेवा सुरु गर्न लागिएको हो ।
पछिल्लो अध्यावधिक: असार १९, २०८३ १२:५६
