फाइभके रेकर्डिङ र ओपन गेट फिचरसहित सोनीको ‘एफएक्स फाइभ’ क्यामेरा, बडीको मूल्य साढे ७ लाख
साउन ७, २०८३ १०:३०
काठमाडौं । सोनीले आफ्नो कम्प्याक्ट सिनेमा क्यामेरा सिरिज अन्तर्गत नयाँ क्यामेरा ‘एफएक्स-५’ (FX5) सार्वजनिक गरेको छ । सन् २०२१ मा बजारमा आएको मोडेल एफएक्स-३ (FX3) पछि सोनीले शक्तिशाली र प्रोफेसनल फिचरहरूसहित नयाँ मोडेल ल्याएको हो ।
एफएक्स-५ मा १६.६ मेगापिक्सेलको फुल-फ्रेम फुल्ली-स्ट्याक्ड ‘एक्जमोर आर एस’ (Exmor RS) सिमोस सेन्सर प्रयोग गरिएको छ । यसलाई थप प्रभावकारी बनाउन ‘बायोज एक्सआर २’ (BIONZ XR2) प्रोसेसर र एआई प्रोसेसिङ युनिट जडान गरिएको छ ।
यो क्यामेराले हाल फाइभके (5K) ६० एफपीएस र फोरके १२० एफपीएसमा भिडिओ खिच्न सक्छ । भविष्यमा आउने फर्मवेयर अपडेटमार्फत यसलाई फाइभके १२० एफपीएस र फोरके २४० एफपीएससम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ ।
यस क्यामेराको ठुलो विशेषता ‘ओपन गेट’ रेकर्डिङ हो । यसले सेन्सरको पूरै चौडाइ र उचाइ प्रयोग गरी ३:२ रेसियोमा भिडिओ खिच्न अनुमति दिन्छ । यो सुविधा विशेषगरी भर्टिकल (ठाडो) भिडिओ बनाउनेहरूका लागि उपयोगी हुन्छ, किनकि यसमा सेन्सरका सबै पिक्सेलहरू प्रयोग गर्न पाइन्छ ।
साथै, एफएक्स-५ ले बाह्य रेकर्डर बिना नै क्यामेराभित्रै १६-बिटको लिनियर ‘र’ (RAW) भिडियो रेकर्ड गर्न सक्छ। यसका लागि सोनीको व्यावसायिक एक्स-ओसिएन (X-OCN) फर्म्याट प्रयोग गरिएको छ, जसले गुणस्तर नघटाई फाइलको साइज सानो बनाउन मद्दत गर्छ।
सिनेमा लाइन सिरिजमा पहिलो पटक यस क्यामेरामा ‘डुल गेन शुटिङ’ (Dual Gain Shooting) फङ्सन राखिएको छ । यसले कम उज्यालोमा पनि न्वाइज घटाएर उत्कृष्ट डाइनामिक रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।
क्यामेरामा तीनवटा बेस आईएसओ (ISO 800, 4000 र 12800) सुविधाहरू छन्, जसले रातको समयमा शुटिङलाई सहज बनाउने बताइएको छ । यसमा १५ प्लस स्टप्सको डाइनामिक रेन्ज रहेको दाबी गरिएको छ ।
क्यामेरामा एआईमा आधारित ‘ह्युमन पोज एस्टिमेसन’ प्रविधि छ, जसले मानिसको आँखा, टाउको र शरीरको बनोट चिन्न सक्छ । यसले गर्दा विषयवस्तु अँध्यारोमा वा चल्दै गरेको अवस्थामा पनि अटोफोकसले सटिक रूपमा पछ्याउँछ । यसबाहेक, यसमा ३.५ इन्चको ठुलो टचस्क्रिन, तातो हुन नदिन कुलिङ फ्यान र लामो समय टिक्ने नयाँ ‘एनपी-एसए १००’ ब्याट्री राखिएको छ ।
‘टप गन: माभेरिक’ जस्ता चलचित्रका छायांकार क्लाउडियो मिरान्डाले यस क्यामेराको परीक्षण गर्दै यसको गुणस्तर र सानो आकारको प्रशंसा गरेका छन् । त्यस्तै, चर्चित निर्देशक ग्यारेथ एडवर्ड्सले नेपाल, थाइल्याण्ड र कम्बोडियामा आफ्नो प्रोजेक्ट छायांकनका क्रममा यसको प्रयोग गर्दै एफएक्स-५ लाई ‘गुय्रिला फिल्ममेकिङ’का लागि उत्कृष्ट क्यामेरा भनेका छन् ।
सोनी एफएक्स-५ को बडीको मात्र मूल्य चार हजार ९०० अमेरिकी डलर (साढे सात लाख नेपाली रुपैयाँ हारहारी) तोकिएको छ । एक्सएलआर ह्यान्डलसहितको सेट खरिद गर्दा यसको मूल्य पाँच हजार ५०० डलर पर्नेछ । यो क्यामेरा आगामी अगस्टको मध्यदेखि विश्व बजारमा बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८३ १०:४१
