सरकारी पोर्टलमा विवरण नराख्दा पनि देखियो नागरिकको राष्ट्रिय परिचयपत्र, गोपनीयतामाथि प्रश्न
साउन ७, २०८३ १३:५
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमा एक नागरिकको ‘राष्ट्रिय परिचयपत्र’ को डिजिटल प्रति सार्वजनिक रूपमै देखिने अवस्थामा रहेको पाइएको छ । यसअघि सरकारले सञ्चालनमा ल्याएको प्रोभिजनल राष्ट्रिय परिचयपत्र डाउनलोड गर्दा जस्तो कार्ड देखिन्थ्यो, सोही प्रकृतिको कार्ड यस पोर्टलमा कुनै पनि विवरण नै नराखी सिधै खुला रूपमा देखिएको हो ।
गुगलमा ‘nid check’ कीवर्ड सर्च गर्दा ‘Apply For National ID, Check Status’ भन्ने वेबपेजको लिङ्क देखा पर्छ । उक्त लिङ्कमा क्लिक गर्नासाथ कुनै विवरण नमागिकनै सिधै ‘Verifying eNID’ (भेरिफाइङ इएनआईडी) भन्ने पेज खुल्छ र त्यहाँ रुपेश पासवान नामक नागरिकको राष्ट्रिय परिचयपत्र देखा पर्छ ।

उक्त कार्डमा पासवानको राष्ट्रिय परिचयपत्र नम्बर स्पष्ट रूपमा देखिन्छ भने अर्को पृष्ठमा क्यूआर कोड र ठेगाना समेत उल्लेख छ । यो पेज जुन दिन खोलिन्छ, सोही दिनको डाउनलोड मिति त्यहाँ स्वतः देखिने गरेको छ । विभागको वेबसाइटमा देखिएको यस प्राविधिक कमजोरीका कारण हाललाई एक व्यक्तिको प्रोभिजनल राष्ट्रिय परिचयपत्र अथेन्टिकेसन बिना नै हेर्न सकिने अवस्था छ ।

यस विषयमा बुझ्न विभागका सूचना अधिकारी निराजन श्रेष्ठ र राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक कमलप्रसाद पाण्डेलाई सम्पर्क गर्ने प्रयास गरिएको थियो । तर, पटक-पटक फोन गर्दा पनि उनीहरूसँग सम्पर्क हुन सकेन । सूचना अधिकारी र निर्देशकलाई ह्वाट्सएपमा समेत मेसेज पठाइएको र कुनै प्रतिक्रिया वा विवरण प्राप्त हुनासाथ यसै समाचारमा थप अपडेट गरिनेछ ।
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ ले राष्ट्रिय परिचयपत्र नम्बरलाई वैयक्तिक सूचनाको रूपमा परिभाषित गरेको छ । उक्त ऐनको दफा २५ को उपदफा (१) मा सरकारी निकायले सङ्कलन गरेको वैयक्तिक सूचनाको संरक्षण सोही निकायले गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, सरकारी कमजोरीका कारण एक नागरिकको संवेदनशील विवरण सार्वजनिक हुन पुगेको छ ।
यस प्रोभिजनल राष्ट्रिय परिचयपत्रमा भएको क्यूआर कोडलाई आधिकारिक रूपमा मान्यता दिन विभागले यसअघि नै सबै सरोकारवाला निकायहरूलाई आग्रह गरिसकेको छ । यसरी अथेन्टिकेसन बिनै नागरिकको संवेदनशील विवरण देखिंदा र त्यसलाई नै सरोकारवाला निकायले मान्यता दिंदा दुरुपयोग हुनसक्ने जोखिम छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८३ १३:५
