युट्युबर आईशो स्पिडमाथि विश्वकपमा नस्लीय दुर्व्यवहार, फिफाले थाल्यो छानबिन
असार २४, २०८३ १६:३४
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले चर्चित अमेरिकी युट्युबर तथा सोसल मिडिया इन्फ्लुएन्सर आईशो स्पिड (ड्यारेन जेसन वाटकिन्स जुनियर) माथि भएको भनिएको नस्लीय दुर्व्यवहारको विषयमा औपचारिक अनुसन्धान सुरु गरेको छ ।
३ जुलाईमा मियामीस्थित हार्ड रक स्टेडियममा भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिना र केप भर्डेबिचको खेलका क्रममा यो घटना भएको हो ।
केप भर्डेको जर्सी लगाएर युट्युमा लाइभस्ट्रिमिङ गरिरहेका स्पीडलाई अर्जेन्टिनी समर्थकहरूको एक समूहले नस्लीय गालीगलौज र अपमानजनक व्यवहार गरेको भिडिओमा देख्न सकिन्छ ।
लाइभस्ट्रिम फुटेजमा देखिए अनुसार, समर्थकहरूले उनलाई ‘बाँदर’को जस्तो हाउभाउ (monkey gesture) देखाउनुका साथै ‘घर फर्क’ र ‘चिडियाखानामा गएर रो’ जस्ता रङ्गभेदी र आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
भिडिओमा स्पीडले ती समर्थकहरूले के भनिरहेका छन् भनी सोधिरहेको र अन्योलमा परेको देखिन्छ ।
यस घटनाको जानकारी पाएलगत्तै फिफाले कदम चाल्दै अनुसन्धान अघि बढाएको छ । फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विश्वकप एकता, विविधता र सम्मानको उत्सव हो । यी आधारभूत मूल्यहरूलाई कमजोर पार्ने कुनै पनि व्यक्ति वा समूह फुटबलमा स्वागतयोग्य छैनन् ।”
FIFA strongly condemns racism, hate and discrimination in all forms. These actions have no place in football, at the FIFA World Cup, or anywhere in society.
— FIFA Media (@fifamedia) July 7, 2026
FIFA was made aware of an incident involving a supporter and #IShowSpeed at Miami Stadium during the Argentina vs Cabo… pic.twitter.com/iUUJ1kRZev
फिफाले फुटबलमा व्याप्त नस्लवाद, घृणा र भेदभावको कडा शब्दमा निन्दा गर्दै यसविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने पुनः स्पष्ट पारेको छ ।
लाखौं फलोअर भएका आईशो स्पिडको यो घटनाले फुटबल मैदानमा हुने रङ्गभेदको मुद्दालाई फेरि विश्वव्यापी बहसको केन्द्रमा ल्याएको छ । अर्जेन्टिनाले ३–२ ले जितेको उक्त खेलको नतिजाभन्दा पनि अहिले यो दुर्व्यवहारले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८३ १७:३५
