नेपाल सरकारको आधिकारिक वेबपोर्टल १ महिनादेखि बन्द, आधुनिक बनाउन खोज्दा इन्टरनेटबाटै गायब
साउन ११, २०८३ २०:५०
काठमाडौं । नेपाल सरकारको आधिकारिक राष्ट्रिय वेबपोर्टल (nepa.gov.np) बन्द भएको एक महिना बढी भइसकेको छ । गत जुन महिनामा नयाँ र आधुनिक डिजाइनसहित परीक्षणका रूपमा सार्वजनिक गरिएको यो पोर्टल हाल पूर्ण रूपमा अवरुद्ध छ ।
अहिले उक्त वेबसाइट ब्राउज गर्दा ‘दिस साइट क्यान्ट बि रिच्ड’ (This site can’t be reached) भन्ने सूचना मात्र देखा पर्छ । यसअघि २३ असारमा यस पोर्टलको प्रयोगकर्ता इन्टरफेस (यूआई) परिवर्तन भएको विषयमा टेकपानाले समाचार प्रकाशन गरेको थियो । तर, त्यसलगत्तै बन्द भएको पोर्टल हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
डिजिटल माध्यममा उपलब्ध पुराना सामग्रीको अभिलेख राख्ने ‘वेब आर्काइभ’का अनुसार यो वेबसाइट पहिलो पटक सन् २००१ मा सञ्चालनमा आएको थियो ।

त्यस समयमा योमरी इङ्कले तयार पारेको उक्त वेबसाइटमा नेपालको सामान्य जानकारी, सरकारी निकायको सूची, विभिन्न कानुन, निर्वाचनसम्बन्धी विवरण र नागरिकका अधिकारका क्षेत्रमा वकालत गर्ने निकायका लिङ्क अङ्ग्रेजी भाषामा मात्र राखिएका थिए ।
यसो त त्यतिबेला नेपाली युनिकोड प्रयोगमा आएको थिएन । यो स्वरूप सन् २००६ सम्म कायम रह्यो भने त्यसपछिको करिब छ वर्ष यो वेबसाइट इन्टरनेटमा भेटिन छाड्यो । सन् २०१३ मा आएर मात्र यो नेपाली र अङ्ग्रेजी दुवै भाषाको विकल्पसहित नयाँ स्वरूपमा पुनः देखापर्यो, जसमा सिंहदरबारको तस्बिर र नेपालका १४ अञ्चल देखिने नक्सको पोटो समेटिएको थियो । पछि नेपालका राष्ट्रिय चिन्हहरूको फोटो पनि राखियो ।

सामान्य तर आकर्षक मानिएको यो इन्टरफेस सन् २०१७ सम्म कायम रह्यो । सन् २०१७ मा ल्याइएको परिमार्जित संस्करणमा गृहपृष्ठ, सरकार, व्यवसाय र नागरिक जस्ता सीमित तर व्यवस्थित विकल्प मात्र राखिएका थिए ।
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य, शिक्षा, कर र रोजगारीजस्ता विषयलाई छुट्टै खण्डमा राखिएको यस पोर्टलमा सन् २०१८ मा नेपालको नयाँ राजनीतिक नक्सा समावेश गर्नेबाहेक अन्य कुनै ठुलो परिवर्तन गरिएको थिएन ।

हालै ल्याइएको तर अहिले बन्द रहेको नयाँ भर्सनमा भने विगतको तुलनामा निकै फरक र आधुनिक सुविधा समावेश गरिएका थिए । पोर्टलको सबैभन्दा माथिल्लो भागमा नेपालको निसान छाप र त्यसको मुनि ‘सम्पूर्ण नेपाल, एउटै पोर्टल’ भन्ने नारा राखिएको थियो ।
त्यसको ठीक तल यो पोर्टल हाल परीक्षणको चरण (बेटा भर्सन) मा रहेको जानकारी दिइएको थियो । खोज प्रणालीलाई सहज बनाउन यसमा एउटा सर्च बार राखिएको थियो, जसमा ‘जे पनि सोध्नुहोस्, हाम्रो बुद्धिमताले सही सेवा खोजी तपाईंलाई पुर्याउँछ’ भनी लेखिएको थियो ।
अङ्ग्रेजी वाक्यलाई नेपालीमा अनुवाद गर्दा यो भाषा केही अप्राकृतिक सुनिए पनि यसलाई आगामी दिनमा परिमार्जन गर्न सकिने देखिन्थ्यो । उक्त सर्च बारको मुनि ‘नेपाल सीसीएलएमद्वारा सञ्चालित’ भनी लेखिए पनि सीसीएलएमको अर्थ के हो भन्ने कुरा पोर्टलमा कतै खुलाइएको थिएन ।

सर्च बारको तलपट्टि राहदानी, राष्ट्रिय परिचयपत्र, प्यान वा कर, जग्गाको अभिलेख, भिसा र लोक सेवा आयोग जस्ता महत्त्वपूर्ण विकल्प राखिएका थिए, जसमा थिच्दा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले तयार पारेको संक्षिप्त विवरण र सम्बन्धित सरकारी वेबसाइटको लिङ्क खुल्ने व्यवस्था गरिएको थियो । त्यसको ठीक तल मेरो कित्ता, भिसा तथा अध्यागमन, सवारी तथा अनुमतिपत्र, कम्पनी दर्ता र नागरिक एप जस्ता बढी प्रयोग हुने सेवाहरू समेटिएका थिए ।
पोर्टलको बीच भागमा नेपालका प्रधानमन्त्रीको सन्देश नेपालीमा अनुवाद गरेर राखिएको थियो, जसमा पोर्टललाई नागरिकको आफ्नै सम्पत्ति र सिंहदरबारलाई हत्केलामै पुर्याउने माध्यमका रूपमा प्रस्तुत गरिएको थियो । पोर्टलको फुटरमा विभिन्न मन्त्रालयको वर्गीकरण र शासन, सुरक्षा, अर्थ, सामाजिक विकास र पूर्वाधार जस्ता क्षेत्रगत लिङ्कहरू उपलब्ध थिए ।
हाल यस पोर्टलमा खोजिएका कुराको सही नतिजा निकाल्न र विभिन्न क्षेत्रका बारेमा संक्षिप्त जानकारी प्रदान गर्नका लागि एआई प्रयोग गरिएको थियो । नयाँ पोर्टल परम्परागत सरकारी वेबसाइट भन्दा फरक र आधुनिक देखिए पनि यसमा केही प्राविधिक र युजर एक्सपिरियन्स सम्बन्धी कमजोरी रहेका थिए ।
वेबसाइट खोल्नासाथ देखिने फ्लिकर जस्तो एनिमेसनले आँखालाई असहज बनाउने खालको थियो भने होमपेजको माथिल्लो भागमा सूर्यको इमोजीसहित देखाइएको तापक्रम सूचक पनि केही भद्दा देखिन्थ्यो । त्यस्तै, सूचना प्रवाह हुने बारमा अक्षर एकमाथि अर्को खप्टिएका थिए भने नेपाली भाषाका सन्दर्भमा फरक-फरक फन्टहरूको प्रयोग गरिएको थियो ।
हाल यो वेबसाइट बन्द भए पनि कारणबारे आधिकारिक रूपमा कुनै जानकारी उपलब्ध गराइएको छैन । यस पोर्टलको व्यवस्थापन र सञ्चालन कुन निकायले गरिरहेको हो भन्ने विषयमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग, प्रधानमन्त्री सचिवालय लगायतले समेत स्पष्ट जवाफ दिन सकेका छैनन् ।
छिमेकी मुलुक भारत र चीनका आधिकारिक राष्ट्रिय वेबपोर्टल विभिन्न स्वदेशी तथा विदेशी भाषामा सक्रिय र व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् । त्यस्तै, दक्षिण एसियाकै बंगलादेश, पाकिस्तान र अफगानिस्तानका राष्ट्रिय पोर्टल पनि नियमित रूपमा सञ्चालनमा रहेको देखिन्छ । यता नेपालको मुख्य डिजिटल प्रवेशद्वार मानिने आधिकारिक पोर्टल भने लामो समयसम्म अवरुद्ध छ ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ २०:५१
