close

टेकपानाको समाचारपछि यातायात कार्यालय कलङ्कीले हटायो ‘लाइसेन्स सर्च टुल’

टेकपाना टेकपाना

साउन १२, २०८३ १६:२४

टेकपानाको समाचारपछि यातायात कार्यालय कलङ्कीले हटायो ‘लाइसेन्स सर्च टुल’

काठमाडौं । यातायात व्यवस्था कार्यालय कलङ्कीले वितरणका लागि तयार भएका लाइसेन्स सर्च गर्ने टुल हटाएको छ । मङ्गलबार दिउँसो एक सूचना जारी गर्दै कार्यालयले ‘सर्च टुल’ अस्थायी रूपमा हटाएको जानकारी दिएको हो ।

कार्यालयले सूचनामा व्यक्तिगत गोपनीयता हनन् गरेको स्वीकारेको छ । “विभागबाट छापिएर कार्यलयमा प्राप्त भएका र वितरण गर्न तयार लाइसेन्स खोज्न मिल्ने सुविधा हालको लागि व्यक्तिगत गोपनियता सुरक्षाका कारण बन्द गरिएको छ,” कार्यालयले भनेको छ, “सर्च टुलमा सुधार गरेपछि फेरी खोज्न मिल्ने बनाउने छौँ ।”

कार्यालयले सञ्चालनमा ल्याएको प्रणाली प्रयोगका हिसाबले सहज भए पनि केही अङ्क टाइप गर्दा असम्बन्धित व्यक्तिको मोबाइल नम्बर र सवारी चालक अनुमतिपत्र देखिने समस्या थियो । विशेषगरी कार्ड लगिसकेका सेवाग्राही बढी प्रभावित थिए । यसबारे टेकपानाले सोमबार मात्र विस्तृत अनुसन्धान रिपोर्ट सार्वजनिक गरेको थियो । त्यस लगतै कार्यालयले आफ्नो सिस्टमबाट उक्त टुल अस्थायी रूपमा हटाएको छ । 

पछिल्लो अध्यावधिक: साउन १२, २०८३ १६:३६