close

प्रविधि र अनुसन्धानलाई कोरोनाको चुनौती

टेकपाना टेकपाना

चैत २६, २०७६ ११:५१

प्रविधि र अनुसन्धानलाई कोरोनाको चुनौती

९ फेब्रुअरीको राति २ बजेको कतार एअरको फ्लाइटबाट स्पेनको भ्यालेन्सियामा उच्च अध्ययनका लागि उड्दै गर्दा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको बोर्डिङ् समयमा आएको आमाको फोन बिर्सेको छैन – “बाबु चीनबाट के हो, भारइरस आको छ रे… राम्रोसँग ख्याल गर्नु हैऽऽ !”

आमा-बुबा र श्रीमतीको त्यो चिन्ताजनक विदाईमा म भने ढुक्क थिएँ, किन भने म चीन हैन युरोप जाँदै थिएँ । मलाई पुरा आत्मविश्वास थियो, ‘युरोपको अति विकसित र राम्रो श्वास्थ्यसेवा उपलब्ध हुने मुलुकमा म अध्ययनको लागि जाँदै छु, त्यसैले यो कोरोना-सोरोना आउँदैन ।’

मैले पूर्व तयारी पनि गरेको थिएँ, मास्क र हातमा लगाउने ग्लोव संगै लिएर आएको थिएँ । तर मभन्दा पनि एनसीआईटी कलेजका प्रिन्सिपल, साथी निरञ्जन खकुरेलले त एक दर्जनै मेडिकल मास्क ल्याउनु भएको रहेछ। दुवैजना कतार अनि फ्रान्सको ट्रान्जिट हुँदै भ्यालेन्सिया झर्‍यौँ ।

त्यति बेलासम्म युरोपमा अलिअलि मात्र कोरोनाको बारेमा गफगाफ चल्दै थियो। विस्तारै इटालीमा कोरोना बढेको र बार्सिलोनामा फेब्रुअरी २४ देखि २७ सम्म हुने भनिएको मोबाइल वर्ल्ड कङ्ग्रेसको सम्मेलन कोरोनाकै कारणले स्थगित भएको समाचारले केही बेचैनी त्यही बेलादेखि बढेको हो।

केही समयपछि लगत्तै बार्सिलोनाको होटेलमा एकजना कोरोना बिरामी भेटियो भन्ने समाचार आयो । यही दौरानमा रियल मड्रिड र बार्सिलोनाको विश्वस्तरिय क्लब फुटबल सञ्चालन हुनुका साथै भ्यालन्सिया क्लबको खेल एटलान्टामा हुनुले लाखौं दर्शकहरुको ओहोर दोहोर भयो ।

त्यही कारण नै आज स्पेनमा कोरोना फैलनुको मुख्य कारण मानिदैछ। खैर, यो हुनुमा अन्य थुप्रै कारणहरु हुन होलान् । चीनको वुहानबाट सुरु भएको कोरोना जनवरीदेखि अप्रिल सम्म आइपुग्दा एसियालाई लगभग बाइपास गरेर युरोप र अमेरिका जम्प गरेको देखिन्छ।

यो अवस्थाले कता कता कोरोनाले बन्द समाजभन्दा खुल्ला समाजलाई मन पराएको होकी भन्ने लाग्छ। यसको सर्ने प्रकृया हेर्दा जसले हात मिलाउँछ, अँगालो हाल्छ, म्वाँई खान्छ, गाला रगड्छ अनि जो एकदमै समीपमा आउँछ,  त्यसैलाई पक्का कोरोना लाग्यो भन्ने जाने हुन्छ ।

त्यसैले सोसियल डिस्टेन्स (सामाजिक दुरी) को कुरा आएको हो। कोरोनालाई पूर्वीयभन्दा पश्चिमी संस्कृति मन परेको हुन सक्छ । खुल्ला समाजलाई कोरोनाले खुबै मन पराएकोले होला, यसको इन्ट्री (प्रवेश) युरोप र आमेरिकामा धमाकेदार तवरले भएको देखिन्छ।

पूर्वीय समाजमा यस्ता हर्कतहरु कमै मात्रामा हुने गर्छन्। आफ्ना एकदमै नजिकको नातेदार जस्तै भाइ-बहिनी, आमा-बुबा, छोरा-छोरी आदिमा बाहेक भेट हुँदा गरिने यस्तो कार्यलाई पूर्वीय संस्कृतिले सहवासीय गन्धलाई प्रश्रय दिएको ठान्दछ।

त्यसैले हात मिलाउनुको साटो टाढैबाट नमस्कार गर्ने, चम्चा अथवा कांटाको साटो राम्रोसँग हात धोएर खाना खाने, साग-सब्जी, फलफूल लगायतका (भेज) खानालाई बढी ग्राह्यता दिने, स्टोरमा राखिएको बासी खाना, पाउरोटी तथा ब्रेडको साटो ताजा दाल-भात-तरकारी पकाएर खाने जस्ता कृयाकलापहरु छन्, जसले शरीरको ईम्युनिटी पावर (प्रतिरक्षात्मक शक्ति) लाई मजबुत बनाउँछ ।

साथै कोरोना जस्ता भाइरसको आक्रमणबाट बच्न मद्दत गरेको छ भन्ने लाग्दछ । हामी बस्ने अपार्टमेन्ट नजिकैका स्टोरहरुमा बिहान ९ बजे देखि नै ब्रेड लगायतका खानेकुरा किन्नेको निकै लामो लाइन देखिन्छ । हामी चाहिँ कहिले लाइन सकिएला र जाउँला भनेर हेरी पर्खि बसेका हुन्छौं।

करिब ३/४ बजेपछि मात्र हामी सपिङको लागि स्टोरमा जाने गरेका छौं । जतिबेला स्टोरमा सरसामान किन्नेहरु निकै कम हुन्छन र लाईन बस्नु पनि पर्दैन। ब्रेड र कुक्ड आइटम (पकाएर राखेको खाने कुरा) भन्दा पनी स्टोरमा हामी चामल र गेडागुडीका प्याकेट खोज्छौं ।

जसका लागि लाइन बसेर सामान सुरक्षित गर्नु पर्दैन । भ्यालेन्सियामा कोरोनाको बिरामी नभेटिएको भन्ने समाचारहरु आए पनि १२ मार्चदेखि युनिभर्सिटीको ल्याबमा नजाने र सेल्फ क्वारेन्टाइनमै बसेर कोठाबाटै काम गर्ने निर्णय गरी ई-मेलमार्फत हामी दुवैले प्रोफेसरलाई जानकारी गरायौं ।

विदेशमा बसेपछि नेपालको चाँसो बढ्ने रहेछ। हाम्रो आँखा खाली नेपाली समाचारमै पर्थ्यो। १२ मार्चदेखि नै बाहिर निस्कँदा वा स्टोरमा किनमेल गर्न जाँदा मास्क र ग्लोब पनि लगायौं ।

तर अनौठो के पाइयो भने, यहाँका स्थानीयहरु हामीलाई मास्क लगाएको देख्दा अनौठो मानेर हेर्ने र हामीबाट टाढै भाग्ने गर्न थाले। मास्क लगाउनु उनीहरुका लागि अनौठो विषय थियो । मास्क लगाएर हिंड्नेहरु कोरोना लागेका हुन्छन् भन्ने सोचाई उनीहरुमा देखिन्थ्यो ।

हामीलाई सुरुका केही दिन भ्यालेन्सियामा मास्क लगाएर हिंड्न ज्यादै असहज भयो । अनि मैले अस्ट्रेलिया र अमेरिकाका नातेदारहरुलाई सोध्न थालें र आश्चर्य प्रकट गरें। तर अस्ट्रेलिया, अमेरिकाकामा पनि अवस्था त्यस्तै रहेको थाहा पाएँ ।

“मास्क नलगाउने र मास्क लगाउनेदेखि टाढै भाग्ने” समाचार मेरा लागि अनौठो थियो । अमेरिकामा त अझै पनि मास्क लगाइन्न भन्ने सुनिन्छ। हामी सेल्फ क्वारेन्टाइनमा बसेको भोलिपल्ट (मार्च १३ गते) स्पेनिस सरकारले १६ मार्चदेखि लागु हुने गरी लकडाउनको सूचना जारी गर्‍यो।

जसअनुसार हाम्रो रिसर्च ल्याब र युनिभर्सिटी पनि १५ दिनका लागि बन्द भयो । लकडाउन सुरु भएको पहिलो हप्ताम्म पनि भ्यालेन्सियाका जनाताले खासै मास्क लगाएर हिंडेको देखिएन। वा भनौं कोरोनाबाट बँच्न हिँडडुल गर्दा आफ्नो सुरक्षा अपनाएको पाइएन ।

जब स्पेनमा अवस्था जटील अनि गम्भीर हुँदै जान थाल्यो, बल्ल आजभोलि भने सबै स्थानीयले मास्क र ग्लोब लगाएको देखिन्छ । १५ दिन सम्म लकडाउन हुँदा पनि बिरामी घट्ने कुनै छाँटकाट देखिएन । स्पेनले हाल लकडाउन अवधि अप्रिल अन्तिमसम्मका लागि थपेको छ ।

सेक्सी कोरोना

बिरामीको संख्या एक लाख नाघिसकेको छ र संख्याको आधारमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । कोरोनाको संक्रमणसँगै संसारका दुई सयभन्दा बढी देशहरुले आफ्ना जनतालाई घरमै बस्न अनुरोध गर्दै लकडाउन गरेका छन् ।

स्पेनिस जनता सरकारलाई अति नै विश्वास गर्छन् र ढुक्क छन् । त्यसैले हालसम्म र यहाँ रहुञ्जेल म पनि ढुक्क छु । आशा छ, नेपालमा पनि सरकारलाई विश्वास गरेर ढुक्क हुने दिनहरु आउनेछन् ।

संसारका जनता घरभित्रै बसेर रमाइलोसँग समय व्यतित गरुन भनेर पोर्न साइटहरुले पोर्न भिडियो खुल्ला गरेका छन् । पोर्नहब डट कमको तथ्याङ्कअनुसार कोरोनाको प्रवेशसँगै युरोपमा पोर्न ट्राफिक ह्वात्तै बढेको छ।

मानिसहरु कोरोनाबाट जोगिन घरभित्रै बस्न सकून भनेरै खुल्ला गरिएका पोर्न साइटको ट्राफिक अहिले उच्चतम विन्दुमा छ । हालसम्म डेढ लाखभन्दा बढी भेरिफाइड पोर्न मोडेलहरुले आफ्नो न्युड भिडियो अनलाइनमा अपलोड गरिसकेका छन्। अब भन्नुहोस् त कोरोनालाई सेक्सी नभनेर के भन्ने ?

एआई र डाटा साइन्समा कोरोनाको चुनौती र अवसर

सन् २००९ मा हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले सार्वजनिक गरेको सोधमा भनिएको थियो, “अबको विश्व भनेको आर्टिफिसियल इन्टेलिजेन्स र डाटा साइन्सको हुनेछ । थुप्रै वैज्ञानिक र अनुसन्धानकर्ताहरु यो क्षेत्रमा सामेल हुनेछन् । सोही अनुरुप एआई र डाटा साइन्स अबको अति सेक्सी जब मार्केट हुनेछ ।”

स्मार्ट सिटी र अटोमेसनसँगै सबै क्षेत्रमा एआई र मेसिन लर्निङको माध्यमबाट उत्पादन बढाउने, मानवलाईभन्दा मेसिन तथा रोबोटको आधुनिक प्रविधीबाट काम गराउने अवस्था सिर्जना भएको छ।

कोरोना विश्वभर फैलिएसँगै यसको स्वभाव, लक्षण लगायत बिभिन्न पाटोको अध्ययन अनुसन्धान भइराखेकै छ । प्रविधि र मेडिकल साइन्समाथि एक प्रकारले कोरोनाले चुनौती थपेको अवस्था छ । अनुन्धानकर्ताहरुको सञ्जालः- रिसर्च गेट डट नेटमा थुप्रै विमर्शहरु भइरहेको पाइन्छ ।

अनुसन्धानकर्ताहरुले रात-दिन नभनेर एआई र बिग डाटा एनालिटिक्सको माध्यमबाट पूर्वानुमान र रोकथामका उपायहरुको परीक्षण गरिरहँदा समेत कुनै उपलब्धि हालसम्म हात पार्न सकेको देखिंदैन ।

कोरोनाकै कारण निकट भविष्यमा थुप्रै एआई र डाटासाइन्सका अनुसन्धानकर्ताहरु बढ्नेछन् । बिगडाटा एनालिटिक्सको माध्यमबाट अनुसन्धान हुने नै छ। विभिन्न प्याटर्न एनालिसिस् हुने छन्, कन्फ्रेन्समा सहभागीता र सोधपत्रहरु प्रस्तुतिकरण हुने नै छन् ।

जर्नलहरुमा कोभिड-१९ सम्बन्धी लेखहरु प्रकाशन हुने छन् । कोरोना अनुसन्धानकै नामबाट विश्वविद्यालयका थुप्रै अनुसन्धानकर्ताहरुले पीएचडी उपाधी पनि लिने नै छन् ।

तथापि यो कोरोनाले कडाखालको  निमोनिया सम्बन्धी रोग निकाल्ने हुँदा हालसम्म मेडिकल क्षेत्रमा त्यस्तो कुनै ट्याब्लेट वा भ्याक्सिन पत्ता लागेको छैन, जसले निमोनिया फ्याट्टै निको होस् ।

औषधी पत्ता नलागेसम्म कोरोना संसारको लागि ठूलो चुनौती हो । अर्ध जीवित भाइरसको एक अंश यो संसारमा रहेसम्म यसको आक्रमण जारी नै रहनेछ ।

संसारका अति विकसित देशहरुले अन्य देशलाई आफ्नो काबुमा राखेर शक्ति देखाउन अनेक अनुसन्धानहरु गरे, अरबौं लगानी गरेर अणु-परमाणु बमको विकास गरे, चन्द्रमा र मंगल ग्रहहरुमा पुगे, तर आज प्राकृतिक विपत्तिमा कसरी जुध्ने भन्ने तहमा सबै विकसित र अविकसित देशको एउटै धरातल देखिएको छ ।

औषधी पत्ता नलागेसम्म कोरोना संसारको लागि ठूलो चुनौती हो। अर्ध जीवित भाइरसको एक अंश यो संसारमा रहेसम्म यसको आक्रमण जारी नै रहनेछ।

अहिले कोरोनालाई जित्यौं भनेर भन्न सक्ने अवस्था रहँदैन । कुनै पनि बेला यसको पुनरागमन हुन सक्नेछ । तर हाललाई उपाय भनेको अन्यसँग संसर्गमा नआउनु नै हो । मास्क र ग्लोबको सही प्रयोग गर्ने अनि सोसियल डिस्टेन्समा रहनु मात्रै हालका लागि यसको औषधी हो ।

स्पेनमा विगत करिब एक महिनादेखि सबै जनता आफ्नै घरमा नजर बन्दमा बस्दा पनि नयाँ बिरामीको संख्यामा खासै गिरावट नआउँदा त लाग्छ, यो लकडाउनले पनि काम गर्ला जस्तो छैन ।

यो अवस्था धेरै समय रहेमा सिस्टम नै क्य्राश त हुन्न ? त्यसैले अब उच्च सुरक्षात्मक (प्रोटेक्सन) किसिमले सामान्य दैनिकीमा आउने बेला पो हुन्छ निम्तिन्छ कि ? यस तर्फ पनि संसारले सोच्नुपर्ने देखिन्छ।

नेपालमा भएको धुँवा-धुलोले प्रायः महिनाको एक पटक रुघा-खोकी लाग्नु त समान्य नै हो । जसले गर्दा नेपालीहरुमा कोरोनासँग लड्ने क्षमता अलि बढी नै छ कि !  विकासशील देशमा रोड, पानीका पाइप विच्छ्याउने क्रम धेरै वर्षदेखि जारी छ ।

जसले गर्दा नेपालको हावामा धुँवा-धुलो बढी नै छ । युरोपियन तथा अमेरिकनहरु उच्च सभ्यतामा भए पनि कम सामाजिक भए जस्तो लाग्छ। ठीक उल्टो नेपालीहरु भने पिछडिएको सभ्यता, तर उच्च सामाजिक हुन् ।

राम्रा-नराम्रा सबै खबरहरु प्रत्येक नेपाली माझ पुगेकै हुन्छन् । फेसबुक र ट्वीटर चलाउने देशहरुमा सायद नेपाल पहिलो दर्जामै पर्छ । ग्लोबल स्टाटकाउन्टरको तथ्याङ्क अनुसार नेपालमा लगभग ९४ प्रतिशतको फेसबुकमा एक्सेस दिखिन्छ।

लकडाउनमा फस्यो – फेसबुकमा बस्यो

यो भनाई हाल नेपाली समाजमा खुब सुहाउँछ। विकसित देशका नागरिकहरु त अनलाइन मार्फत अफिसको काममै व्यस्त छन् ।

तर नेपालमा अहिले हेर्ने हो भने प्रोफेसर, मेडिकल डाक्टर, इन्जिनियर, कलाकार, व्यापारीदेखि सबै मानिस फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्चालमा भेट्न पाइन्छ। यति धेरै कोरोना सम्बन्धी सचेतना सामग्री तथा पोस्ट, गीति भिडियो नेपालीको फेसबुक वालमा पर्याप्त छन् ।

जसका कारण सधैं एक्लै बाँझो खेतमा एक हल गोरु लिएर दिनभर हलो जोत्ने हली पनि आज त्यो गाउँको घरमा आफैं नजर बन्दमा बस्न बाध्य छ ।

‘घर बाहिर निस्क्यो भने त कोरोनाले खान्छ ।’ ‘फलानोलाई कोरोना लागेको छ, बाहिर निस्क्यो भने चारै दिशाबाट कोरोनाले आक्रमण गर्नेछ ।’ यसलाई त फेसबुकको कमाल नै भन्नु पर्ला । जसले गर्दा नेपालीहरु संयमित भएका छन् र नेपाल आज कोरोनाबाट सुरक्षित नै देखिएको छ।

तर “….आशंका गरिएको छ….” भन्दै ब्रेकिङ न्युज बनाउने र त्यसको फेसबुक-ट्वीटर स्क्यान्डलले भने हामीलाई बेला बेलामा चिन्तित पारिरहन्छ ।

स्पेन-इटालीमा लाखौं मान्छेलाई कोरोना लागि सक्यो । तथापि यहाँ पुष्टि भएका समाचार तथा खबरहरु मात्र पत्रिकामा, अनलाइनमा आउँछन् । कोरोनाको अवस्था के छ, भन्ने कुरा अस्पतालका रिपोर्टिङ्बाट मात्र थाहा हुन्छ ।

यहाँका रोडहरु सुनसान छन् । मानिसहरु घरभित्र ढुक्कले अनलाइनबाट आफ्नो काम गरिरहेका छन् । तर कतिपय यहाँका फेक न्युजहरु नेपाली अनलाइन मिडिया र नेपालीका फेसबुक वालमा पोस्ट भएको देख्दा हाम्रो अवस्थाका विषयमा घर-परिवारमा निकै चिन्ता बढ्ने गरेको छ।

स्पेनिस जनता सरकारलाई अति नै विश्वास गर्छन् र ढुक्क छन् । त्यसैले हालसम्म र यहाँ रहुञ्जेल म पनि ढुक्क छु । आशा छ, नेपालमा पनि सरकारलाई विश्वास गरेर ढुक्क हुने दिनहरु आउनेछन् ।

नेपालको हकमा त कोरोना सेक्सी मात्र हैन, भ्रष्टाचारी पनि भएको छ । कोरोनाको नाममा राज्यबाटै जे जस्ता अनैतिक कमाउ धन्दा भएका छन्, त्यो पक्कै पनि निन्दनीय छ।

जे होस्, नेपालमा यो भ्रष्टाचारी कोरोना नियन्त्रणमै छ र भगवान पशुपतिनाथसँग यसैगरी नियन्त्रणमै रहीरहोस् भन्ने प्रार्थना गर्दछु।

यो लेख लेखकको विशुद्ध व्यक्तिगत धारणामा आधारित छ । कुनै समुदाय विशेषलाई आँच पुर्‍याउने मनसाय अनुरुप नलेखिएको अनुरोध छ । लेखक हाल स्पेन स्थित युनिभर्सिटाट पोलिटेक्निका डि भ्यालेन्सियामा विद्यावारिधी अध्ययनरत छन् । उनी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका उप-प्राध्यापक समेत हुन् ।

वेबसाइटः www.baburd.com.np

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१