विदेशीलाई नेपाली सफ्टवेयरको स्वाद पस्किने अक्योर

काठमाडौं । नेपालको परिवेशमा आउटसोर्सिङ कति सम्भव छ ? यो लामो समयदेखिकै बहशको विषय हो ।

यसमा सबैका आफ्नै आ–आफ्नै धारणा छन् । आफ्नो सीप सदुपयोग गरेर आम्दानी गरिरहेको भन्दै कोही यसको पक्षमा छन त कोही आउसोर्सिङ गर्ने धेरैजसो कम्पनी करको दायरमा नआएको तर्क गरिरहेका छन् ।

भू-परिवेष्टित हुँदा पछि परेको हाम्रो देशमा प्रविधिले ल्याएको अवसरलाई आत्मसाथ गर्नेभन्दा अर्को विकल्प छैन । अझ कोरोनाभाइरसका कारण सुरु भएको वर्क फ्रम होम त आउटसोर्सिङका लागि सबैभन्दा राम्रो अवसर बनेको छ ।

यही अवसर पछ्याउँदै सन्दीप र समर नेपालबाटै कामगर्ने योजनाका साथ अमेरिकामा रहेको आफ्नै कम्पनी बिक्री गरेर स्वदेश फर्किए । यो अहिलेको ताजा सन्दर्भ नभएर छ वर्ष अघिकै हो ।नेपाल फर्केको केही वर्षपछि उनीहरुले अक्योर स्टाफिङ सफ्टवेयर प्राली सुरु गरेका छन् ।

कम्पनीका सञ्चालक तथा सीईओ सन्दीप आचार्य सन् १९९४ मा कलेज पढ्न अमेरिका गएका थिए । कलेजको पढाई सकिएसँगै उनी अमेरिकामै इन्जिनियरको रुपमा ‘टेम्प वर्कस् सफ्टवेर’ नामक कम्पनीमा काम गर्न थाले ।

सन्दीपले काम गर्न थालेको एक वर्षपछि समर बस्नेत पनि सोही कम्पनीमा आए । इन्जिनियर भएर प्रवेश गरेका सन्दीप पाँच वर्षपछि बाहिरिँदा कम्पनी सञ्चालन प्रमुख थिए । जागिरे यात्रा दुवैका लागि अनुभव बटुल्ने थलो थियो ।

कम्पनीबाट बाहिरिए पछि उनीहरुले सन् २००६ अरु दुई जना अमेरिकी साथीहरुसँगको सहकार्यमा ‘आभियान्टे’ नामक कम्पनी सुरु गरे ।

कर्मचारीसँग बाँया समर र दाँया सन्दीप

नोभेम्बरमा २००६ मा नेपालमा पनि उक्त कम्पनीको शाखा खुल्यो । नेपालमा शाखा खोलेपछि उनीहरुको बसाई ८ महिना अमेरिका र ४ महिना नेपाल हुन थाल्यो ।

अब सधैंभर नेपालमै बसेर सबै काम गर्नुपर्छ भन्ने उनीहरुको चाहना त थियो । तर, परिस्थिति मिलिरहेको थिएन । सानो स्टार्टअप कम्पनीको रुपमा सुरु भएको आभियान्टेमा २०१४ सम्म आइपुग्दा नेपालमा २० र अमेरिकामा सय भन्दाबढी कर्मचारी कार्यरत थिए ।

यो उनीहरुका लागि ठूलो सफलता थियो । स्टार्टअपको रुपमा सुरु गरिएको कम्पनी अमेरिकाको स्टाफिङ सफ्टवेयर उद्योगमा एउटा परिचित नाम बन्न पुग्यो । २०१४ को अन्त्यमा अमेरिकी प्राइभेट भेञ्चरले उक्त कम्पनी खरिद गर्‍यो ।

कम्पनी बिक्री हुनु उनीहरुका लागि नेपाल फर्किने सबैभन्दा उपयुक्त विकल्प बन्यो । ‘हामी त्यही उद्योगमा परिस्कृत सफ्टवेयरको सपना बोकेर नेपाल फर्किएका थियौं,’ सन्दीप सम्झिन्छन् ।

तर त्यसका लागि पाँच वर्ष कुर्नु पर्ने भयो । कम्पनी बिक्रि गर्दा सोही उद्योगमा पाँच वर्षसम्म हातहाल्न नपाइने सर्त सकारेका थिए । नेपाल फर्किएर उनीहरु विभिन्न परियोजनामा सहभागी भए ।

साथीको कम्पनीसँग मिलेर एडीबीको सहयोगमा काठमाडौं महानगरपालिका लागि ‘मार्स’ सफ्टवेयर बनाए । त्यसका लागि एउटा छुट्टै टिम तयार गरिएको थियो । नेपालीले नै गर्न सक्छन् भनेर उनीहरुले नै तालीम दिएर एउटा टिम तयार पारे ।

अन्ततः दुई वर्षमा परियोजना सफल भयो । अझै तीन वर्ष कुर्न बाँकी थियो । त्यसबीच उनीहरुले डिसहोमका लागि ‘विजनेश इन्टिलिजेन्स रिपोर्ट’ नामक सफ्टवेयर निर्माण गरे ।

जसले डेटा एनालाइज गर्दथ्यो । डेटा हेरेर कुन मानिसले कस्तो च्यानल हेर्छ, कुन च्यानल बढी हेरिन्छ, कुन कुन ग्राहकले रिचार्ज गर्ने सम्भावना छ भन्ने जस्ता सबै जानकारी दिनसक्ने सिस्टम थियो त्यो ।

सन् २०१८ मा सन्दीप र समर दुवै जना मिलेर नेपालमा अक्योर नामक कम्पनी खोले । कम्पनी खोलेपनि पुरानो उद्योगमा प्रवेश गर्ने अझैं एक वर्ष बाँकी थियो । त्यस बीचमा उनीहरु आफ्नो ड्रिम टिम बनाएर सिस्टम निर्माणमा जुटे ।

सपना थियो, सफ्टवेयरको नेपाली स्वाद विदेशीलाई चखाउनु । त्यसैले उनीहरुले नेपालीहरुकै टिम तयार पारेर स्टाफिङका लागि परिष्कृत प्रविधिका साथ सफ्टवेयर निर्माण गरे ।

जुन सफ्टवेयरले स्टाफिङ कम्पनी (यदि कसैलाई कर्मचारी चाहियो भने कर्मचारी पठाउने) लाई व्यवस्थापन गर्नु हो । जस्तो, कुनै एउटा कम्पनीलाई हरेक हप्ता तीन सयजना कर्मचारी आवश्यक छन् भने उसले उसले स्टाफिङ कम्पनीलाई भन्छ ।

स्टाफिङ कम्पनीले हजारौं कर्मचारी त्यस्ता कम्पनीलाई पठाएका हुन्छन् । यस्तोमा ठूलो संख्यामा रहेका कर्मचारी व्यवस्थापन म्यानुअल रुपमा गर्नु असम्भव जस्तै हुन्छ । त्यस्ता स्टाफिङ कम्पनीलाई आवश्यक सफ्टवेयर उनीहरुले बनाएका छन् ।

सफ्टवेयरले कर्मचारी आवश्यक परे उनीहरुको बायोडाटा संकलन गर्ने, उनीहरुको ज्ञान र अनुभवका आधारमा छुट्याउने देखि आवश्यक कानूनी प्रक्रिया अनलाइनबाटै सम्पन्न गर्न समेत मद्दत गर्ने सन्दीप बताउँछन् ।

उनी भन्छन, ‘हाम्रो सिस्टमले स्टाफिङ कम्पनीलाई हरेक हप्ता मान्छे कहाँ पठाइएको छ, कसले कति घण्टा काम गर्‍यो, कुन कर्मचारीको कति पारिश्रमिक भयो, सबै हिसाब गरी कर काटेर पैसा दिने र कम्पनीहरुमा बिल पठाउनसम्मको काम गर्छ ।’

अर्को ‘अनबोर्डिङ’, अर्थात, कानूनी प्रक्रियामा पनि उनीहरुको सफ्टवेयरले सघाउने काम गर्दै आएको छ । अमेरिकामा कसैलाई कर्मचारीको रुपमा नियुक्त गर्नुपर्‍यो भने सुरुमा उसको कानूनी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । त्यसका लागि अनलाइन डकुमेन्ट तयार पार्ने काम पनि यही सिस्टमले गर्न सक्छ ।

यो सफ्टवेयरको प्रयोग लकडाउनको समयमा सबैभन्दा उपयोगी सावित भइरहेको अनुभव उनीहरुको छ । ‘सीआरएस हाम्रो अर्को फिचर हो,’ सन्दीप भन्छन्, ‘जसको अर्थ कस्टमर रिसोर्स म्यानेजमेन्ट हो ।’

जसले रिसोर्सलाई व्यवस्थापना गर्न मद्दत गर्छ । कसैले कुनै अनुभवमा आधारित कर्मचारी मागेको खण्डमा त्यस्तो अनुभव भएका कर्मचारी छनौट गर्ने, अनि माग अनुसार कर्मचारी ठाउँमा पुगे वा पुगनन् भनेर ट्रयाकिङ गर्ने काम गर्दछ ।

त्यस्तै साप्ताहिक रुपमा कर्मचारीको टाइम सिटको व्यवस्थापनका लागि छुट्टै टाइम सिट म्यानेजमेन्ट सिस्टम समेत उनीहरुले बनाएका छन् । जसको काम कुनै कर्मचारी समयमा आए/नआएको, कर्मचारी आएको समयको आधारमा कति पैसा दिने भन्ने रिपोर्ट समेत यसले तयार पार्न सक्छ ।

अर्को पे रोल र बिलिङको काम पनि हुन्छ । यसले कर्मचारीलाई भुक्तानी दिने देखि कम्पनीलाई बिल पठाउनेसम्मको काम गर्छ ।

यी सुविधा मध्ये धेरैजसो उनीहरुले यसअघि बिक्री गरेको कम्पनी (जुन आज अमेरिकामै यो उद्योगकै सबैभन्दा ठूलो कम्पनी भएको छ) ले पनि उपलब्ध गराउँदै आएको छ । थप परिस्कृत गर्न उनीहरुले अहिले प्लेटफर्म परिवर्तन गरेका छन् ।

यसको अर्थ आवश्यक पर्दा जस्तोसुकै सेवा थप गर्ने सकिने भएको छ । जसमा एचआर सिस्टम एउटा उदाहरण हुन सक्छ । ‘यसमा सबै नेपाली दिमाग प्रयोग भएको छ,’ सन्दीप भन्छन्, ‘हामीले अ‍मेरिकामा हुँदा प्रयोग गर्दै आएको परिपाटीमा परिवर्तन गरेका छौं ।’

यसअघि अमेरिकामा कम्पनी खोल्दा सय जनामा दश जना नेपाली हुन्थे । अब भने सयमा ९५ नेपाली र ५ जना अमेरिकाबाट काम गर्ने हुन्छन् । अमेरिकामा काम गर्ने कर्मचारी विशेषगरी सेल्स, मार्केटिङ र प्रोजेक्ट म्यानेजर मात्रै हुन्छन् । बाँकी प्राविधिक भने सबै नेपाली ।

पुनहिलमा अक्योर टीम

अक्योरको कार्यालय अमेरिकामा पनि छ । जसलाई समरले सम्हाल्दै आएका छन् । अहिले नेपालमा समर चार महिना बस्छन । आठ महिना सन्दीप ।

नेपालमा काम गर्ने ५० जना कर्मचारी छन् । अमेरिकामा दुई जना । सकेसम्म धेरै नेपाली युवाहरुलाई नै उनीहरुले आफ्नो टिममा प्राथमिकतामा राख्दै आएका छन् ।

यसो गर्दा चुनौती नआएको होइन । सन्दीपको अनुभव छ, ‘ज्ञान र सोच्न सक्ने क्षमताका हिसावले हामीहरु धेरै नै अघि छौं । तर, काम गर्ने शैली भने त्यसअनुसार विकास हुन सकेको छैन । हामी नेपालीहरुको स्वभाव के छ भने, हामी ८० प्रतिशत राम्रो काम गर्छौं र अन्तिमको २० प्रतिशतमा लापरबाही ।’

काम राम्रो भए पनि नतिजामा समस्या देखिने गरेको सन्दीप बताउँछन् । ‘यो हाम्रो संस्कृति नै बन्दै गइरहेको छ,’ उनी भन्छन्, ‘यो कल्चरलाई कसरी परिवर्तन गर्ने भन्ने नै हाम्रा लागि एउटा ठूलो चुनौती भयो । त्यसैले हामीले विद्यार्थीलाई इन्टर्नमा लिएर विस्तारै सिकाएर मात्रै नियुक्त गर्ने परिपाटी बनाएका छौं ।’

यस्तो संस्कृतिले कर्मचारीको मूल्य कम गर्दै लगेको छ । यदि कर्मचारीलाई राम्रो सेवा सुविधा दिने हो, नतिजा पनि राम्रै आउँछ । जसको सुरुवात अक्योरले गरिसकेको छ ।

सन्दीपले नेपालमा काम गर्दा देखेको अर्को चुनौती हो, जवाफदेहीताको अभाव । दिएको काम तोकिएको समयमा नसक्ने प्रवृत्ति पनि नेपालीहरुको संस्कृति बन्दै गइरहेको उनको बुझाई छ । यसलाई पनि परिवर्तन गर्न आवश्यक रहेको उनी बताउँछन् ।

यसको लागि उत्प्रेरणाभन्दा अर्को विकल्प उनले देखेका छैनन् । ‘कार्यालमा सबैलाई सफल हुन रहर हुन्छ । सफल हुन लागि आवश्यक कुराहरु र वर्किङ कल्चर पनि हामीले सिकाउँदै आएका छौं’ सन्दीप भन्छन्, ‘हामी नेपाली युवाहरु कामकै लागि देश बाहिर जान नपरोस् भन्ने चाहन्छौं । यसको अर्थ उनीहरुलाई जबरजस्ती रुपमा राक्ने भन्ने चाहिँ होइन ।’

आफ्नो कुरा प्रस्ट्याउँदै उनी अगाडि भन्छन्, ‘उनीहरुलाई यहीँ राम्रो अवसर सिर्जना गर्ने हो । सन्दीपले देखेको तेस्रो समस्या शिक्षा हो । नेपाली आईटी कलेजबाट निस्किँदा विद्यार्थी परिपक्व भएर निस्किन सक्दैन ।

तर विदेशमा एउटा इन्जिनियर विद्यार्थीलाई समाजशात्र, मनोविज्ञान, इतिहासदेखी सबै विषय पढाइन्छ । जसले गर्दा विद्यार्थी कलेबाट निस्किदा इन्जिनियरिङमार्फत समाजमा देखिएका समस्याको सामाधान गर्न सकोस् ।

तर, यहाँ विद्यार्थीलाई समस्या के हो भन्ने थाहा नै नहुने सन्दीपको बुझाई छ । ‘डटनेट, जाभा आउनु दोस्रो कुरा हो,’ उनी भन्छन्, ‘समस्या समाधान गर्न सक्ने क्षमता नै बजारमा बिक्ने चिज हो भन्ने कुरा कलेजले विद्यार्थीलाई सिकाउन जरुरी छ । नेपालमा त्यस्तो अभ्यास नै छैन ।’

तर पनि सन्दीप र समर आशावादी छन् । आखिर उनीहरु पनि नेपाली विद्यार्थी नै हुन् । नेपालमै पढेर विदेश गएका थिए । जसरी उनीहरुले आफ्नो क्षमता पहिचान गरे, त्यसैगरी अन्य नेपाली विद्यार्थीहरुले गर्न नसक्ने भन्ने कुरा पक्कै पनि हुँदैन ।

अक्योरको सेवा सुरु भएको धेरै भएको छैन । यति छोटो समयमा अक्योरका प्रयोगकर्ता आठ सयको हाराहारीमा पुगिसकेका छन् । सातामा ३० हजार कर्मचारीको तलव यही सिस्टम भएर जान थालेको छ ।

अमेरिकामा आयोजित सफ्टवेयर मेलामा समर र सन्दीप

यो आफूहरुको सुरुवात मात्र भएको सन्दीप बताउँछन् । उनी भन्छन, ‘अहिले हामीसँग अमेरिकाको इम्प्लोयर्स सोलुसन ग्रुप, असेन्स स्टाफिङ लगायतका ३५ वटा कम्पनी जोडिएका छन् । आगामी दिनमा क्यानडा, युरोप र ल्याटीन अमेरिकी देशमा समेत सेवा विस्तार गर्ने योजना छ ।’

नेपालको परिवेशमा सायद भोलिका दिनमा यसको प्रयोग होला । तर, अहिले यो सफ्टवेयर त्यति सान्दर्भिक नदेखिएको उनी बताउँछन् । भन्छन्, ‘सफ्टवेरमा लगानी गरेर त्यसबाट नाफा कमाउने स्तरमा कर्मचारीको सेवा दिने कम्पनी अहिले नेपालमा छैनन् । सय–दुई सय स्टाफ दिने कम्पनीका लागि यो सफ्टवेयर प्रयोग गर्नुभन्दा त्यसै व्यवस्थापन गर्दा सस्तो पर्न जान्छ ।’

नेपालबाट आउटसोर्सिङ कति सम्भव ?

नेपालका लागि यो सबैभन्दा राम्रो अवसर भएको सन्दीप बताउछन् । ‘हरेक कुरामा हामीले आउटसोर्स गर्न सक्छौं । ठाउँ मिल्नुपर्‍यो । ठाउँ खोज्न सक्नु पर्‍यो । आफ्नो कामले प्रभावित पार्न सक्नु पर्‍यो । आफुलाई बिकाउन सक्नु पर्‍यो ।’

कोरोनका कारण कर्मचारी कार्यालयमै चाहिन्छ भन्ने मनसायबाट कम्पनीहरु पछि हटेका छन् । यो आउटसोर्सिङ व्यवसायका लागि राम्रो हो । अन्य देशमा रिमोटबाट हुने काम सबै नेपालीहरुका लागि समेत अवसर बन्न सक्छन् ।

सन्दीप भन्छन्, ‘त्यसका लागि आफूले गरेको काम राम्रो छ भनेर कसरी प्रमाणीत गर्ने भन्ने हो । यतिबेला सरकारका साथै निजी क्षेत्रले हाम्रो क्षमताको बजारिकरण गर्न आवश्यक छ ।’

सस्तो नभएर गुणस्तरीय सेवामा नेपाली आउटसोर्स कम्पनीहरुले काम गर्न आवश्यक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘सस्तो दिने नाममा सेवा गुणस्तर राम्रो हुन सकेन भने त्यसको कुनै अर्थ हुँदैन । हामीले सस्तोमा राम्रो विकल्प दिन सक्ने हो भने यहाँ धेरै अवसर छ ।’

नेपालमा धेरै जसो आउटसोर्सीङको काम तेस्रो र चौथो स्तरमा भइरहेको सन्दीपको बुझाई छ । यसको अर्थ अमेरिकन कम्पनीले एउटा कम्पनीलाई आउटसोर्स गर्छ अनी उक्त कम्पनीले अर्को कम्पनीलाई । अनी बल्ल नेपालको कम्पनीमा आइपुग्छ ।

यसो हुँदा अमेरिकामा प्रतिघण्टा ५० डलर पाउन सकिने काम नेपाल आइपुग्दा ५ डलर मात्र बच्छ । नेपाली आउटसोर्सिङ कम्पनीले गरेको काम नै विदेशी कम्पनीले पाएका छन् भने त्यसमा अलि बढी मेहनत गरेर ५ डलरको ठाउँमा ५० डलर नै आम्दानी गर्नेतर्फ नेपाली कम्पनीहरु लाग्नुपर्ने सन्दीपको सुझाव छ ।

‘नेपालको पूँजी सानो छ,’ उनी भन्छन्, ‘यसैलाई मात्र बजार ठान्ने हो भने अवसर थोरै हुन सक्छन् । त्यसैले कलेजले आउटसोर्सलाई समेत लक्षित गरेर पढाउनु पर्छ । सरकार, निजी क्षेत्र मिलेर नेपाल आउटसोर्सको लागि राम्रो छ भनेर बजारिकरण गर्न सक्नुपर्छ ।’

यदि त्यसो भएमा सरकारले खनिज खोज्न लगानी गरिराख्नु नपर्ने र नेपाली युवाकै दिमागी क्षमताले देशलाई समृद्ध बनाउन सक्ने सन्दीप बताउँछन् । यदि यस्तो हुने हो भने लुकेर आउटसोर्सिङको काम गर्ने परिपाटीको पनि अन्त्य हुनेछ ।

कर तिर्न कसैलाई रहर हुँदैन । सरकाले उनीहरुलाई तिराउन सक्ने खालको सिस्टम बनाउन सक्नुपर्ने सन्दीपको भनाई छ । ‘कर तिर्दा के सुविधा दिने भन्ने कुरा तय हुनुपर्छ । उनीहरुले गरेको कामको बजारिकरण सरकारले गरिदिने हो भने कर तिर्नबाट कही पनि पछि हट्दैन,’ उनी भन्छन् ।

नेपाल सफ्टवेयरको देश भनेर चिनियोस् । अनी नेपालको सफ्टवेयर भनेर सर्टिफिकेट लिँदा बजारमा सबैले विश्वास गर्ने वातावरण होस् । यति भयो भने कसले सरकालाई कर तिर्दैनन ? त्यसैले अबका दिनमा सरकाले पनि यो विषयलाई गम्भीरतापूर्वक सोच्न जरुरी ठान्छन् सन्दीप ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team