close

अझै खस्कियो नेपालको मोबाइल इन्टरनेट स्पिड, फिक्स्डमा भने सुधार

टेकपाना टेकपाना

मंसिर ५, २०७८ १७:३७

अझै खस्कियो नेपालको मोबाइल इन्टरनेट स्पिड, फिक्स्डमा भने सुधार

काठमाडौं । नेपालको फिक्स्ड इन्टरनेट स्पिडमा सुधार देखिँदा मोबाइल इन्टरनेटको स्पिड भने खस्किएको छ । ओक्लाले हालै अक्टोबर महिनाको ‘स्पिड टेस्ट ग्लोबल इन्डेक्स’ सार्वजनिक गरेको छ ।

उक्त इन्डेक्समा नेपाल फिक्स्ड इन्टरनेटतर्फ एक स्थान सुधार गर्दै ९७औं स्थानमा पुगेको छ ।

ओक्लाका अनुसार नेपालमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड २७.५९ एमबीपीएस तथा अपलोड स्पिड २४.२० एमबीपीएस र लेटेन्सी ६ मिलिसेकेन्ड रहेको छ ।

विश्वको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड ५६.०९ एमबीपीएस तथा अपलोड स्पिड २३.५३ एमबीपीएस र लेटेन्सी १० मिलिसेकेन्ड रहेको छ ।

ब्रोडब्याण्डमा १८८.११ एमबीपीएस डाउनलोड तथा १६१.५२ एमबीपीएस अपलोड स्पिडका साथ सिंगापुर विश्वकै पहिलो नम्बरमा छ ।

कुल १८१ देशमध्ये थाइल्याण्ड १७३.४४ र हङकङ १७०.४८ डाउनलोड स्पिडका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

जसमा नेपाल हाल सूचीको ९७औं स्थानमा रहेको छ । यस हिसाबले विश्वको सन्दर्भमा हेर्ने हो भने नेपाल फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको स्पिड राम्रो देखिँदैन ।

तर, सार्क मुलुकहरूमा भने नेपाल मध्यम अवस्थामा रहेको देखिन्छ । सार्क मुलुकमध्ये फिक्स्ड ब्रोडब्याण्डमा भारत सबैभन्दा अघि छ । भारत ७०औं स्थानमा रहँदा बंगलादेश ९४औं स्थानमा छ भने नेपाल ९८औं स्थानमा छ ।

याे सूचीमा श्रीलंका, माल्दिभ्स, पाकिस्तान  र अफगानिस्तान क्रमशः ११८, १३७, १५०, १८१औं स्थानमा छन् । ओक्लाले सार्वजनिक गरेको उक्त प्रतिवेदनको सूचीमा भुटान भने समावेश छैन ।

अर्को छिमेकी चीन फिक्स्ड ब्रोडब्याण्डमा एक स्थान खस्कँदै ८औं स्थानमा रहेको छ । चीनको औषत डाउनलोड स्पिड १२९.४५ एमबीपीएस तथा अपलोड स्पिड ३६.०३ एमबीपीएस र लेटेन्सी ९ मिलिसेकेन्ड रहेको छ ।

फिक्स्ड ब्रोडब्याण्डमा नेपाल एक स्थान सुधार हुँदै ९७औं स्थानमा पुगेको भएता पनि मोबाइल इन्टरनेटतर्फ भने तीन स्थान खस्कँदै १०४औं स्थानमा पुगेको छ ।

मोबाइल डेटामा युनाइटेड अरब इमिरेट्स (यूएई) १३०.१९ एमबीपीएस डाउनलोड तथा २३.९३ एमबीपीएस अपलोड स्पिडका साथ विश्वकै पहिलो नम्बरमा पर्न सफल भएको छ ।

त्यस्तै नर्वे दोस्रो र दक्षिण कोरिया तेस्रो स्थानमा रहेका छन् । मोबाइल इन्टरनेटतर्फ १०४औं स्थानबाट तीन स्थान खस्कँदै १०७औं स्थानमा पुगेको हो ।

प्रतिवेदनअनुसार नेपालमा मोबाइल डेटाको औषत डाउनलोड स्पिड १५.४१ एमबीपीएस तथा अपलोड स्पिड ९.४१ र लेटेन्सी २३ मिलिसेकेन्ड रहेको छ ।

जबकि विश्वको मोबाइल इन्टरनेटको औषत डाउनलोड स्पिड २८.६१ एमबीपीएस तथा अपलोड स्पिड ८.३८ एमबीपीएस र लेटेन्सी २९ मिलिसेकेन्ड रहेको छ ।

मोबाइल इन्टरनेटतर्फ कुल १४१ देश समावेश भएका छन् । जसमा छिमेकी मुलुक चीन ११औं र भारत ११७औं स्थानमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३