close

६५ जिल्लामा पुग्यो निःशुल्क इन्टरनेट, सकियो ९६ प्रतिशत काम

टेकपाना टेकपाना

मंसिर १३, २०७८ १६:२०

६५ जिल्लामा पुग्यो निःशुल्क इन्टरनेट, सकियो ९६ प्रतिशत काम


काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म ६५ जिल्लामा इन्टरनेट पहुँच पुगेको छ ।

दुई वर्षसम्म निःशुल्क रुपमा इन्टरनेट उपलब्ध गराउने गरी प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत विभिन्न परियोजना अघि बढाएको छ । त्यसमध्ये ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजना अन्तर्गत कुल १८ प्याकेज सञ्चालनमा रहेको छ । जसको कुल लागत पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार रहेको छ ।

त्यसमध्ये कात्तिक मसान्तसम्म ६५ जिल्लाहरूमा शतप्रतिशत र बाँकी ५ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ । त्यस्तै एक प्याकेज अन्तर्गत ४ जिल्ला ३० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार स्थानीय निकाय, वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी गरी कुल १५ हजार ९ सय ८२ निकायमा इन्टरनेट जडान गरिने छ । त्यसमध्ये हालसम्म कुल १५ हजार ३ सय ४९ निकायमा इन्टरनेट जडान सम्पन्न भइसकेको छ । त्यस्तै ६ सय ३३ स्थानमा जडानको कार्य बाँकी रहेको छ । यो हुँदा हालसम्म ९६.०४ प्रतिशत काम सम्पन्न भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२