close

सोलुखम्बुको खुन्दे र खुमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट

टेकपाना टेकपाना

जेठ १५, २०८० १०:४२

सोलुखम्बुको खुन्दे र खुमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट

काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको संयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटवर्क सोलुखम्बुको खुन्दे र खुमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० औं वार्षिकोत्सवको अवसरमा दुई गाउँमा फाइबर इन्टरनेट पुर्‍याइएको हो ।  
 
आइतबार सोलुखम्बुमा एक कार्यक्रम गर्दै उक्त परियोजनाको औपचारिक सुरुवात गरिएको छ । उक्त कार्यक्रममा सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी, न्युजिल्यान्ड पूर्व प्रधानमन्त्री हेलेन कर्लक, इन्टरनरेट सोसाइटीका क्षेत्रीय निर्देशक नाबेद उलहक, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी लगाएको उपस्थिति रहेको थियो ।  

खुन्दे र खुमजुङ गाउँमा भएको यसअघिको वायरलेस प्रविधिलाई फाइबरमा अपग्रेड गरिएको हो । एक विज्ञप्ति जारी गर्दै फाइबर विस्तार भएसँगै खुन्दे र खमजुङका बासिन्दा तथा सगरमाथा आरोहण गर्न आउने आरोहीले अब उच्च गतिको गुणस्तरीय इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।  
 
फाइबर पुगेपछि अब खुमजुङ माध्यमिक विद्यालय, खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निःशुल्क जडान हुने उनले बताएका छन् । पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछिको चरणमा  घरहरूमा फाइबर इन्टरनेट जडान गरिने योजना रहेको उनले बताए । घरहरूमा जोडिने इन्टरनेट सस्तो शुल्कमा उपलब्ध गराउने पनि उनले बताए । 
 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १०:४२