close

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा ५ जनाको आवेदन, कोको छन् प्रतिस्पर्धामा ?

टेकपाना टेकपाना

असार ४, २०८० १९:२३

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा ५ जनाको आवेदन, कोको छन् प्रतिस्पर्धामा ?

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन पदमा नियुक्तिका लागि पाँच जनाको आवेदन परेको छ । सोमबार एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त पदका लागि दर्ता भएका मध्ये पाँच ओटा आवेदन स्वीकृत भएको जानकारी दिएको हो ।

आवेदन दिनेहरूमा भीमेश्वर नगरपालिका २ दोलखाका उपेन्द्रकुमार प्रधान, काठमाडौं महानगरपालिका ९ का इन्द्रमणि पोखरेल, पटिहानी ४ चितवनका विश्वप्रकाश गौतम, राजापुर ५ बर्दियाका नवराज अधिकारी र देउरी परवाहा २ धनुषाका दीपेन्द्रकुमार मिश्र रहेका छन् ।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदपूर्ति सिफारिस समितिले आवेदकहरू मध्येबाट प्रतिस्पर्धाका आधारमा तीन जनाको नाम शर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ । जसमध्ये एक जनालाई मन्त्रिपरिषद्‌ले प्राधिकरणको बोर्डमा नियुक्त गर्नेछ । 

उक्त पदमा आवेदन दिन १ असारसम्मको म्याद तोकिएको थियो । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका, मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा सात वर्ष काम गरेका व्यक्तिबाट आवेदन माग गरिएको थियो ।

त्यस्तै सरकारी कर्मचारीको हकमा भने व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दशौं तह वा सो भन्दा माथिल्लो पदमा कम्तीमा सात वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असार ४, २०८० १९:२३