close

अब टेलिग्राममा पनि स्टोरी राख्न सकिने

टेकपाना टेकपाना

असार १३, २०८० ९:१२

अब टेलिग्राममा पनि स्टोरी राख्न सकिने

काठमाडौं । अब मेसेजिङ एप टेलिग्राममा पनि स्टोरी राख्न पाइने भएको छ । सामाजिक सञ्जालका अधिकांश प्लेटफर्महरूमा २४ घण्टासम्म रहने 'स्टोरी' राख्न मिल्ने फिचर उपलब्ध छ । ​फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य प्लेटफर्ममा यो फिचर उपलब्ध छ ।  

सन् २०१३ मा स्न्यापच्याटले सुरु गरेको यो फिचरलाई मेटाले फेसबुक र मेसेन्जरमार्फत विस्तार गरेको थियो । इन्स्टाग्राम, ह्वाट्सएप हुँदै गुगलको युट्युब र टिकटकमा पनि पुगेको यो फिचर अब टेलिग्रामले पनि उपलब्ध गराउने भएको हो ।

बाहिरिएको जानकारी अनुसार अर्को महिनाबाट यो फिचर उपलब्ध हुनेछ । कम्पनीका अनुसार टेलिग्राममा राखिने स्टोरीमा फरक - फरक सामग्रीमा कसले देख्न सक्ने वा कसले देख्न नसक्ने छुट्टाउन सकिनेछ । 

फेसुबकमा वा इन्स्टाग्राममा राखिने स्टोरी फिचरमा एउटा स्टोरीमा अडियन्सको सेटिङ जुन राखियो अर्कोमा पनि सोही लागू हुने नियम हुनेछ । तर टेलिग्राममा भने एउटामा फरक अडियन्स र अर्कोमा अर्को अडियन्स छनोट गर्न सकिनेछ । 

यसरी राखिने स्टोरीमा क्याप्सन पनि राख्न सकिने बताइएको छ । साथै सो स्टोरी कति समयको लागि राख्ने भनेर पनि आफैले छनोट गर्न सकिनेछ ।

यसमा ६ घण्टा, १२ घण्टा, २४ घण्टा र ४८ घण्टासम्म स्टोरी राख्न सकिनेछ । सो स्टोरी आफ्नो प्रोफाइलमा स्थायी रुपमा राख्न मिल्ने व्यवस्था पनि रहेको छ । हाल यो फिचर परीक्षणको क्रममा रहेको छ । 

पछिल्लो अध्यावधिक: असार १३, २०८० ९:१२