close

एनआईटीसीको स्वामित्व सूचना प्रविधि विभागमा सार्न ढिलाइ

टेकपाना टेकपाना

साउन १०, २०८० १४:१३

एनआईटीसीको स्वामित्व सूचना प्रविधि विभागमा सार्न ढिलाइ

काठमाडौं । सरकारी डेटा सेन्टरसहित राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले गर्दै सञ्चालन गर्दै आएका काम सूचना प्रविधि विभाग मातहत ल्याउन अझै समय लाग्ने भएको छ ।

यसअघि साउन १ देखि केन्द्रका कार्यजिम्मेवारी विभागमा सार्ने भनिएपनि सांगठनिक संरचना तथा व्यवस्थापनको खाका तयार नुहँदा ढिलाइ हुने भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जनशक्ति व्यवस्थापनका लागि ओएमएनको काम भइरहेको र नयाँ संरचनासहित सञ्चालनमा दुईदेखि तीन महिनासम्म समय लाग्नसक्ने बताए ।

''हामीले हाइब्रिड मोडेलमा जाने भनेका छौं । सरकारी नियन्त्रणमा रहनेगरी निजामती र बाहिरबाट आवश्यक विज्ञ जनशक्ति समेटेर सांगठनिक संरचना बन्नेछ,'' उनले भने, ''कति जना रहने, कुन-कुन विभाग राख्ने भन्ने कुरामा अध्ययन टोलीले काम गरिरहेको छ । सबै काम सकिन हुन दुई-तीन महिना लाग्ला ।''

नयाँ संरचना कार्यान्वयनमा नआउँदासम्म एनआईटीसीको विद्यमान जनशक्तिबाटै काम गराइने उनले उल्लेख गरे ।

मन्त्रालयले सूचना प्रविधि विभागमातहत छुट्टै टिम तयार पारेर एनआईटीसीले गरिरहेका कामलाई निरन्तरता दिन लागेको हो । यसअन्तर्गत एनआईटीसीले जिम्मा लिएको सरकारको एकीकृत डेटा सेन्टर (जीआईडीसी), सरकारी सर्भर होस्ट, वेबसाइट डोमेन तथा ईमेल सेवा, सरकारी नेटवर्क व्यवस्थापन, नागरिक एप, सूचना प्रविधि सम्बन्धी तालिम लगायतका काम नयाँ संरचनामार्फत सञ्चालन हुनेछन् ।

सम्बन्धित समाचार: डिजिटल नेपालको उल्टो यात्राः सूचना प्रविधि केन्द्र खारेज गरी डेटा सेन्टर निरीह विभागको जिम्मा

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १४:२१