close

इन्जिनियरिङमा विद्यार्थी नपाएपछि पुनः प्रवेश परीक्षा गर्दै पूर्वाञ्चल विश्वविद्यालय

टेकपाना टेकपाना

मंसिर २७, २०८० ९:२९

इन्जिनियरिङमा विद्यार्थी नपाएपछि पुनः प्रवेश परीक्षा गर्दै पूर्वाञ्चल विश्वविद्यालय

काठमाडौं । विद्यार्थी अपुग भएपछि पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायले प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम  पुन: खुलाएको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले रिक्त रहेको सिटका लागि फाराम खुलाएको जानकारी दिएको हो । 

‍‍सूचना अनुसार इन्जिनियरिङ संकाय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त कलेजहरूमा सञ्चालित स्नातक तहका सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स कम्प्युनिकेसन एन्ड अटोमेसन, जियोमेटिक, बायोमेडिकल र आर्किटेक्चरमा विद्यार्थी अपुग छ । त्यही रिक्त सिटका लागि विश्वविद्यालयले पुस २१ गते शनिवार प्रवेश परीक्षा गर्न लागेको हो । 

इच्छुक विद्यार्थीले पुस १४ गतेसम्म दुई हजार रुपैयाँ र पुस १६ गतेसम्म बिलम्ब दस्तुर तिरेर प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिनसक्ने छन् । यी विषयमा भर्ना हुन कक्षा ११/१२ फिजिक्स, केमेस्ट्री, म्याथ (कम्प्युटर इन्जिनियरिङका लागि कम्प्युटर) लिई प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड, २.० सीजीपीए वा सो सरहको तहमा ४५ प्रतिशत भन्दा बढी प्राप्त गरी उत्तीर्ण गरेको हुन पर्ने छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले लिएको स्नातक तहको प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीले भने तोकिएको शुल्क तिरी भर्ना हुन सक्ने सूचनामा उल्लेख छ । हाल इन्जिनियरिङ संकायको एउटा आङ्गिक कलेज र १७ ओटा सम्बन्धन प्राप्त कलेज रहेका छन् । 

हेर्नुहोस् सूचना


 

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८० ९:३१